रविले बोलाएको सर्वदलीय बैठकमा श्रम संस्कृति पार्टी अनुपस्थित, हर्क साम्पाङले भने– ‘भ्याएनौं’

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले आह्वान गर्नुभएको सर्वदलीय बैठकमा श्रम संस्कृति पार्टी सहभागी नभएको छ। रास्वपाका सभापति लामिछानेले समसामयिक राजनीतिक विषयमा छलफल गर्न आइतबार बिहान सिंहदरबारस्थित संसद् सचिवालयको सार्वजनिक लेखा समितिको हलमा सर्वदलीय बैठक बोलाउनुभएको थियो। बैठकमा प्रतिनिधिसभा र राष्ट्रियसभामा प्रतिनिधित्व गर्ने राजनीतिक दलका अध्यक्ष तथा सभापतिसहित दुई–दुई जना प्रतिनिधिलाई आमन्त्रण गरिएको थियो। तर श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले आफ्नो पार्टी बैठकमा सहभागी नभएको जानकारी दिनुभएको छ। उहाँले अर्को कार्यक्रम रहेकाले बैठकमा उपस्थित हुन नसकिएको बताउनुभएको हो।

अध्यक्ष साम्पाङले सञ्चारकर्मीसँग कुरा गर्दै भन्नुभयो, “सर्वदलीय बैठकमा हामी गएनौँ। अर्कै कार्यक्रम भएकाले भ्याएनौँ।” भारत भ्रमण सम्पन्न गरी स्वदेश फर्किएपछि सभापति लामिछानेले विभिन्न राजनीतिक दलका शीर्ष नेताहरूसँग संवाद र छलफलको पहलस्वरूप उक्त बैठक आयोजना गर्नुभएको हो। बैठकमा समसामयिक राजनीतिक अवस्था, संसद्को भूमिका तथा राष्ट्रिय महत्वका विषयमा छलफल हुने अपेक्षा गरिएको थियो।

यद्यपि, श्रम संस्कृति पार्टीका तर्फबाट कुनै प्रतिनिधि बैठकमा उपस्थित नभएको जनाइएको छ। अन्य प्रमुख राजनीतिक दलका प्रतिनिधिहरू भने बैठकमा सहभागी भएका थिए।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रिक्रिया दिनुहोस्