प्रधानमन्त्रीको अभिव्यक्तिमा विवाद कायम, प्रतिनिधिसभा बैठक फेरि स्थगित

काठमाडौं – प्रधानमन्त्री बालेन्द्र शाहले सीमा विवादबारे दिएको अभिव्यक्तिलाई लिएर जारी राजनीतिक विवादका कारण प्रतिनिधिसभाको बैठक आज पनि कार्यसूचीमा प्रवेश नगरी स्थगित भएको छ। विपक्षी दलहरूले प्रधानमन्त्रीले संसद्मा दिएको अभिव्यक्तिप्रति माफी माग्नुपर्ने अडान नछोडेपछि बैठक भोलि बिहान ११ बजे बस्ने गरी स्थगित गरिएको हो।

बैठकको सुरुमै प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सचेतक निश्कल राईले शहीदहरूको सम्मानमा पाँच मिनेट मौनधारण गर्न प्रस्ताव गर्नुभएको थियो। सामान्यतया संसद्मा एक मिनेट मौनधारण गर्ने प्रचलन रहे पनि प्रतिपक्षी सांसदहरूको अगुवाइमा पाँच मिनेट मौनधारण गरिएको थियो।

यसप्रति सभामुख डोलप्रसाद अर्यालले असन्तुष्टि जनाउँदै संसद्को मर्यादा र प्रक्रियाको सम्मान हुनुपर्ने बताउनुभयो। उहाँले प्रतिपक्षी बेन्चबाट भएको उक्त व्यवहारलाई संसद्को गरिमाविपरीत रहेको टिप्पणी गर्दै यस विषयमा आफ्नो गम्भीर ध्यानाकर्षण भएको उल्लेख गर्नुभयो।

प्रधानमन्त्री शाहले गत जेठ १७ गते प्रतिनिधिसभामा सम्बोधन गर्ने क्रममा नेपालले पनि भारतको केही भूभाग अतिक्रमण गरेको आशयको अभिव्यक्ति दिनुभएको थियो। उक्त अभिव्यक्तिलाई लिएर विपक्षी दलहरूले निरन्तर आपत्ति जनाउँदै आएका छन् र संसद्को अभिलेखबाट हटाउन माग गरिरहेका छन्।

यसैबीच, श्रम संस्कृति पार्टीका अध्यक्ष तथा सांसद हर्क साम्पाङले प्रधानमन्त्रीको अभिव्यक्तिविरुद्ध संसद्मा सङ्कल्प प्रस्ताव दर्ता गर्नुभएको छ। उहाँले प्रधानमन्त्रीको भनाइ राष्ट्रिय हितविपरीत रहेको जिकिर गर्दै संसद्ले यस विषयमा स्पष्ट निर्णय गर्नुपर्ने धारणा राख्नुभएको छ।

कांग्रेस सचेतक राईले पनि प्रधानमन्त्रीको अभिव्यक्ति तथ्यहीन, राष्ट्रहितविपरीत र संवेदनशील कूटनीतिक विषयसँग सम्बन्धित भएकाले संसद्को अभिलेखबाट हटाउनुपर्ने माग दोहोर्‍याउनुभयो।

प्रधानमन्त्रीको अभिव्यक्तिलाई लिएर सत्ता पक्ष र विपक्षबीच सहमति जुट्न नसक्दा प्रतिनिधिसभाको नियमित कामकारबाही प्रभावित हुँदै आएको छ। संसद्को गतिरोध अन्त्यका लागि दलहरूबीच संवाद जारी रहे पनि अहिलेसम्म कुनै ठोस सहमति हुन सकेको छैन।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रिक्रिया दिनुहोस्