काठमाडौं । प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहले मन्त्रिपरिषद् विस्तार गर्दै दुई जना नयाँ मन्त्री नियुक्त गर्नुभएको छ। प्रधानमन्त्री शाहको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले सुधन गुरुङलाई गृहमन्त्री तथा महावीर पुनलाई विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री नियुक्त गर्नुभएको हो।
नवनियुक्त दुवै मन्त्रीले आजै राष्ट्रपति भवन शीतल निवासमा आयोजित विशेष समारोहमा राष्ट्रपति पौडेलसमक्ष पद तथा गोपनीयताको शपथ ग्रहण गर्नुभएको छ। मन्त्रिपरिषद् विस्तारसँगै सरकारले प्रशासनिक, सुरक्षा तथा प्रविधि क्षेत्रका प्राथमिकताका विषयलाई अघि बढाउने संकेत दिएको छ।
गृहमन्त्री नियुक्त हुनुभएका सुधन गुरुङले दोस्रो पटक गृह मन्त्रालयको नेतृत्व सम्हाल्न लाग्नुभएको हो। गोरखा–१ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित गुरुङ यसअघि पनि छोटो अवधिका लागि गृहमन्त्री बन्नुभएको थियो। उहाँ गत चैत १३ गते गृहमन्त्री नियुक्त हुनुभएको भए पनि सम्पत्ति विवरणको स्रोतसम्बन्धी विवाद उत्पन्न भएपछि वैशाख ९ गते पदबाट राजीनामा दिनुभएको थियो।
उक्त विषयमा सम्बन्धित निकायबाट भएको छानबिनपछि गुरुङले सफाइ पाउनुभएको थियो। छानबिनबाट कुनै अनियमितता पुष्टि नभएपछि उहाँ पुनः गृह मन्त्रालयको जिम्मेवारीमा फर्कनुभएको हो। गृह मन्त्रालयको नेतृत्व सम्हाल्दै उहाँले सुशासन, सुरक्षा व्यवस्थापन तथा सेवा प्रवाहलाई प्रभावकारी बनाउने अपेक्षा गरिएको छ।
त्यस्तै, विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री नियुक्त हुनुभएका महावीर पुन म्याग्दीबाट निर्वाचित स्वतन्त्र सांसद हुनुहुन्छ। ग्रामीण क्षेत्रमा सूचना प्रविधिको पहुँच विस्तार, नवप्रवर्तन र अनुसन्धान प्रवर्द्धनका क्षेत्रमा योगदानका कारण परिचित पुन यसअघि तत्कालीन सुशीला कार्की नेतृत्वको सरकारमा शिक्षामन्त्रीको जिम्मेवारी सम्हालिसक्नुभएको छ।
सरकारले नवप्रवर्तन, डिजिटल रूपान्तरण तथा वैज्ञानिक अनुसन्धानलाई प्राथमिकतामा राख्ने रणनीतिअनुसार पुनलाई विज्ञान तथा प्रविधि मन्त्रालयको नेतृत्वमा ल्याएको बताइएको छ। उहाँको नियुक्तिसँगै प्रविधिमैत्री विकास, अनुसन्धान प्रवर्द्धन तथा युवा नवप्रवर्तकहरूको क्षमता अभिवृद्धिमा नयाँ पहल हुने अपेक्षा गरिएको छ।
मन्त्रिपरिषद् विस्तारपछि प्रधानमन्त्री शाह नेतृत्वको सरकारले आफ्नो कार्यसम्पादनलाई थप प्रभावकारी बनाउने तथा विकास र सुशासनका एजेन्डालाई तीव्रता दिने तयारी गरेको बताइएको छ।






