दरबार हत्याकाण्डको फाइल खोल्ने निर्णय, गृहमन्त्री सुधन गुरुङको पहिलो कदम

तस्बिरः रत्न श्रेष्ठ/रासस

काठमाडौं – नवनियुक्त गृहमन्त्री सुधन गुरुङले पदभार ग्रहणसँगै २०५८ सालको चर्चित नारायणहिटी दरबार हत्याकाण्डको फाइल पुनः खोल्ने निर्णय गर्नुभएको छ। मंगलबार गृह मन्त्रालयमा पदभार ग्रहण गर्दै उहाँले दरबार हत्याकाण्डसम्बन्धी यसअघि तयार भएका अनुसन्धान प्रतिवेदनहरूको अध्ययन गरी थप छानबिन प्रक्रिया अघि बढाइने घोषणा गर्नुभएको हो।

वि.सं. २०५८ जेठ १९ गते तत्कालीन राजा वीरेन्द्र, रानी ऐश्वर्यसहित राजपरिवारका अधिकांश सदस्यको ज्यान गएको दरबार हत्याकाण्ड नेपाली इतिहासकै सबैभन्दा रहस्यमय र चर्चित घटनामध्ये एक मानिन्छ। दुई दशकभन्दा बढी समय बितिसक्दा पनि घटनाबारे विभिन्न प्रश्न र आशंकाहरू उठिरहेकाले सरकारले थप अनुसन्धानको बाटो रोजेको हो।

पदभार ग्रहणपछि सञ्चारकर्मीसँग कुरा गर्दै गृहमन्त्री गुरुङले भन्नुभयो, “वि.सं. २०५८ जेठ १९ गते भएको नारायणहिटी राजदरबार हत्याकाण्डका सम्बन्धमा यसअघि भएका अनुसन्धान प्रतिवेदन अध्ययन गरी थप छानबिनको प्रक्रिया अगाडि बढाउने निर्णय गरिएको छ।” गृहमन्त्री गुरुङले दरबार हत्याकाण्ड मात्र नभई विभिन्न कारणले रोकिएका वा अनुसन्धानको चरणमा रहेका महत्त्वपूर्ण फाइलहरू पनि खोल्ने संकेत दिनुभएको छ। उहाँले छानबिनमा रहेका हरेक फाइललाई निष्पक्ष रूपमा अगाडि बढाइने बताउँदै सत्यतथ्य बाहिर ल्याउन सरकार प्रतिबद्ध रहेको धारणा राख्नुभयो।

त्यसैगरी, पछिल्लो समय चर्चामा रहेको ‘जेनजी आन्दोलन’ सँग सम्बन्धित फौजदारी मुद्दाहरू फिर्ता लिन सकिने वा नसकिने विषयमा अध्ययन गर्ने निर्णय पनि गृह मन्त्रालयले गरेको छ। यसका लागि कानुनी तथा प्रशासनिक पक्षहरूको समीक्षा गरिने जनाइएको छ। गृहमन्त्री गुरुङको यो निर्णयलाई गृह मन्त्रालयको नेतृत्व सम्हालेलगत्तै गरिएको महत्त्वपूर्ण र साहसिक कदमका रूपमा हेरिएको छ। विशेषगरी दरबार हत्याकाण्डबारे नयाँ अनुसन्धान प्रक्रिया सुरु हुने संकेतले राजनीतिक वृत्त, इतिहासकार तथा सर्वसाधारणमा व्यापक चासो उत्पन्न गरेको छ।

यद्यपि, थप छानबिनको स्वरूप, अधिकार क्षेत्र र अनुसन्धानको कार्यविधिबारे गृह मन्त्रालयले विस्तृत योजना सार्वजनिक गरिसकेको छैन। अब सरकारले गठन गर्ने संयन्त्र र अनुसन्धानको प्रक्रियाले यस निर्णयलाई कति प्रभावकारी बनाउँछ भन्ने विषयमा सबैको ध्यान केन्द्रित भएको छ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रिक्रिया दिनुहोस्