काठमाडौं । सुधन गुरुङ पुनः गृहमन्त्री नियुक्त भएका छन्। उनको पद तथा गोपनीयताको शपथ आज दिउँसो ३ बजे राष्ट्रपतिको कार्यालय शीतलनिवासमा हुने तय भएको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जनाएको छ।
व्यवसायी दीपक भट्टसँग व्यापारिक साझेदारी रहेको विषय सार्वजनिक भएपछि गुरुङ विवादमा तानिएका थिए। सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको नियन्त्रणमा रहेका भट्टसँग सम्बन्धित लिबर्टी माइक्रो इन्स्योरेन्स र स्टार माइक्रो इन्स्योरेन्सको शेयर खरिद गरेको विषयमा प्रश्न उठेपछि उनीमाथि राजनीतिक दबाब बढेको थियो।
शेयर खरिदमा प्रयोग भएको रकमको स्रोतबारे प्रश्न उठेपछि गुरुङले सापटी लिएर करिब ५० लाख रुपैयाँ बराबरको शेयर खरिद गरेको दाबी गरेका थिए। विवाद चर्किएपछि उनले वैशाख ९ गते गृहमन्त्री पदबाट राजीनामा दिएका थिए। उनी पहिलो कार्यकालमा २६ दिनमात्र गृहमन्त्री रहेका थिए।
विवादबारे छानबिन गर्न मन्त्रिपरिषद्को वैशाख २८ गतेको बैठकले उच्च अदालतका पूर्वन्यायाधीश अच्युतप्रसाद भण्डारीको अध्यक्षतामा तीन सदस्यीय समिति गठन गरेको थियो। समितिमा महालेखा नियन्त्रक शोभाकान्त पौडेल र सहन्यायाधिवक्ता अच्युतमणि न्यौपाने सदस्य रहेका थिए।
समितिलाई गुरुङसँग सम्बन्धित सार्वजनिक रूपमा उठेका विषयको अध्ययन तथा छानबिन गरी १५ दिनभित्र प्रतिवेदन बुझाउने जिम्मेवारी दिइएको थियो। पछि समय अपुग भएपछि थप पाँच दिन म्याद थपिएको थियो।
छानबिन समितिले अध्ययनपछि गुरुङमाथि लगाइएका आरोप पुष्टि हुन नसकेको निष्कर्ष निकालेको थियो। समितिले उनका शेयर तथा चल-अचल सम्पत्तिको अध्ययन गर्दा गैरकानुनी स्रोतबाट सम्पत्ति आर्जन गरेको प्रमाण नफेला परेको जनाएको छ।
समितिले बुझाएको ४५ पृष्ठ लामो प्रतिवेदनमा गुरुङको सम्पत्तिलाई वैध ठहर गर्दै सम्पत्ति विवरणमा देखिएका केही त्रुटिलाई व्यक्तिगत कमजोरीभन्दा पनि राज्यको अभिलेख तथा प्रणालीगत समस्यासँग जोडेर व्याख्या गरिएको छ।
समितिको प्रतिवेदनपछि सरकारको निर्णयअनुसार गुरुङ पुनः गृहमन्त्रीमा नियुक्त भएका हुन्।







