नेपालमा मनसुन भित्रिने समय नजिकिँदै

काठमाडौं । नेपालमा मनसुन भित्रिने समय नजिकिँदै गएको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार यस वर्ष मनसुन भित्रन अब केही दिन मात्र बाँकी रहेको छ । अघिल्लो वर्षदेखि मनसुन प्रवेशको औसत समय केही पछि सरेर जुन १३ तारिख आसपास पुगेको छ भने यस वर्ष पनि सोही अवधिमा मनसुन नेपाल प्रवेश गर्ने सम्भावना रहेको मौसमविद्हरूले बताएका छन् । भारतको केरलामा जुन ४ तारिखमै मनसुन प्रवेश गरिसकेको र त्यहाँबाट नेपालको पूर्वी भूभागसम्म आइपुग्न करिब १० दिन लाग्ने भएकाले आगामी एक साताभित्र पूर्वी नेपालबाट मनसुन भित्रिन सक्ने अनुमान गरिएको छ । मौसमविद्का अनुसार प्रारम्भिक चरणमा मनसुन पूर्वका केही क्षेत्रमा सीमित रहनेछ र क्रमशः देशभर फैलिनेछ ।

हरेक वर्ष गर्मी बढेसँगै समुद्रबाट जलवाष्पयुक्त हावा जमिनतर्फ बहने प्रक्रिया नै मनसुन हो । नेपालमा आउने मनसुनी वायु मुख्यतः बंगालको खाडी हुँदै भारतबाट पूर्वी नेपाल प्रवेश गर्छ भने अरब सागरबाट आउने प्रणालीले पनि मध्य तथा पश्चिम नेपालमा वर्षा गराउन सहयोग पुर्‍याउँछ । नेपालमा वार्षिक रूपमा हुने कुल वर्षाको करिब ८० प्रतिशत हिस्सा मनसुनकै समयमा हुने भएकाले कृषि, जलस्रोत, ऊर्जा र जनजीवनका लागि मनसुन अत्यन्त महत्वपूर्ण मानिन्छ ।

यद्यपि यस वर्ष मनसुन सामान्यभन्दा कमजोर हुन सक्ने संकेत देखिएको छ । विश्व मौसम सङ्गठन तथा दक्षिण एसियाली मनसुन फोरमले औसतभन्दा कम वर्षा हुने सम्भावना औँल्याएका छन् । अहिले एल निनो तटस्थ अवस्थामा रहे पनि जुलाई र अगस्ट महिनातिर यसको प्रभाव बढ्न सक्ने अनुमान गरिएको छ । एल निनो सक्रिय भएमा मनसुनी वर्षा कम हुने, खडेरीको जोखिम बढ्ने तथा कृषि उत्पादन प्रभावित हुन सक्ने मौसमविद्हरूको भनाइ छ । कृषि मौसमविद्हरूले मनसुन ढिलो भए वा बीचमा वर्षा रोकिए धानखेतीमा असर पर्ने र अत्यधिक वर्षा भए डुबानको जोखिम बढ्ने भएकाले किसानलाई आवश्यक तयारी गर्न सुझाव दिएका छन् । मनसुनको वास्तविक अवस्था स्पष्ट भएपछि कृषि क्षेत्रका लागि थप रणनीति तय गरिने जनाइएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रिक्रिया दिनुहोस्