दल त्याग गरेका एमालेका ८ वडाध्यक्ष पदमुक्त

 

काठमाडौं । निर्वाचन आयोगले नेकपा (एमाले) बाट निर्वाचित ८ जना वडाध्यक्षको पद रिक्त भएको घोषणा गरेको छ। स्थानीय तह निर्वाचन २०७९ मा एमालेको तर्फबाट निर्वाचित भएका उनीहरूले दल त्याग गरी अन्य राजनीतिक दलमा प्रवेश गरेपछि आयोगले पद रिक्त भएको निर्णय गरेको हो।

एमाले केन्द्रीय सचिवालयले सम्बन्धित जनप्रतिनिधिहरूले दल त्याग गरेको निर्णयसहित आयोगलाई जानकारी गराएको थियो। सोही आधारमा राजनीतिक दलसम्बन्धी ऐन, २०७३ को दफा ३२ (१) तथा नियमावली, २०७४ को नियम २२ बमोजिम आयोगले उनीहरूको पद रिक्त भएको घोषणा गरेको जनाएको छ।

आयोगका अनुसार कोशी, बागमती र लुम्बिनी प्रदेशका विभिन्न स्थानीय तहका वडाध्यक्षहरू पदमुक्त भएका छन्।

पदमुक्त हुनेहरूमा ओखलढुङ्गाको मोलुङ गाउँपालिका–१ का कमलबहादुर बानियाँ, मोलुङ गाउँपालिका–६ का कमल तामाङ तथा चम्पादेवी गाउँपालिका–७ का सुरेशकुमार थापा रहेका छन्।

यस्तै, पाल्पाको माथागढी गाउँपालिका–१ का राजकुमार पन्थी, ललितपुरको बागमती गाउँपालिका–७ का होमप्रसाद बजगाई तथा मोरङको लेटाङ नगरपालिका–४ का रामकुमार श्रेष्ठको पद पनि रिक्त भएको आयोगले जनाएको छ।

मोरङकै रंगेली नगरपालिका–१ का महेशकुमार खनाल र दाङको घोराही उपमहानगरपालिका–४ का मधुसूदन शर्मा पनि पदमुक्त भएका छन्।

दल त्याग गरी अन्य दलमा प्रवेश गरेपछि कानुनी व्यवस्थाअनुसार उनीहरूको पद स्वतः रिक्त भएको आयोगले स्पष्ट पारेको छ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रिक्रिया दिनुहोस्