फुटबल विश्वकप लक्षित बेटिङ एपबाट सतर्क रहन चेतावनी

काठमाडौं – नेपाल प्रहरीले विश्वकप फुटबल प्रतियोगिता चलिरहँदा अनलाइन माध्यमबाट सञ्चालन हुने बेटिङ तथा जुवाजन्य एप प्रयोग नगर्न सर्वसाधारणलाई आग्रह गरेको छ। यस्ता गतिविधि नेपालमा गैरकानूनी रहेको स्मरण गराउँदै प्रहरीले आर्थिक तथा साइबर अपराधको जोखिमबाट बच्न सचेत रहन अनुरोध गरेको हो।

प्रहरीले सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेको भिडियो सन्देशमा पछिल्लो समय फुटबललगायत विभिन्न खेलकुद प्रतियोगितालाई लक्षित गर्दै अनलाइन बेटिङ एप तथा वेबसाइटहरूको प्रचार–प्रसार बढ्दै गएको जनाएको छ। सामाजिक सञ्जाल र विभिन्न डिजिटल माध्यममार्फत सहज आम्दानी हुने प्रलोभन देखाएर सर्वसाधारणलाई बेटिङमा आकर्षित गर्ने प्रयास भइरहेको भन्दै प्रहरीले विशेष सतर्कता अपनाउन आग्रह गरेको छ।

नेपाल प्रहरीका अनुसार अनलाइन बेटिङमा संलग्न हुँदा आर्थिक क्षति बेहोर्नुपर्ने, व्यक्तिगत विवरण चोरी हुने, बैंकिङ तथा डिजिटल वालेट दुरुपयोग हुने जोखिम उच्च रहने गर्दछ। यस्ता प्लेटफर्म प्रयोग गर्दा प्रयोगकर्ताहरू विभिन्न प्रकारका साइबर ठगीको शिकार बन्न सक्ने भएकाले सचेत रहन आवश्यक रहेको प्रहरीले जनाएको छ।

प्रहरीले विश्वकप फुटबलका खेलहरूको स्वस्थ रूपमा मनोरञ्जन लिन आग्रह गर्दै गैरकानूनी बेटिङ तथा जुवाजन्य गतिविधिबाट टाढा रहन सबैलाई अपिल गरेको छ। साथै, अनलाइन बेटिङको प्रचार–प्रसार वा सञ्चालन भइरहेको जानकारी प्राप्त भएमा नजिकको प्रहरी कार्यालय वा सम्बन्धित निकायमा जानकारी गराउन पनि अनुरोध गरेको छ।

खेलकुदलाई मनोरञ्जन, स्वस्थ प्रतिस्पर्धा र सामाजिक सद्भावको माध्यमका रूपमा लिनुपर्ने उल्लेख गर्दै प्रहरीले अवैध बेटिङ संस्कृतिले समाजमा नकारात्मक प्रभाव पार्न सक्ने भएकाले यसको नियन्त्रणका लागि सबै पक्षको सहयोग आवश्यक रहेको जनाएको छ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रिक्रिया दिनुहोस्