काठमाडौँ – युवा तथा विद्यार्थीहरूको हित, सशक्तीकरण र नीति निर्माण प्रक्रियामा उनीहरूको आवाजलाई स्थापित गर्ने उद्देश्यले स्थापित Civics नामक संस्थाले माइतीघर मण्डलामा सडक नाटक प्रस्तुत गरेको छ। Seed Economy, Brain Drain (प्रतिभा पलायन) र Inclusion (समावेशीकरण) विषयवस्तुमा आधारित उक्त नाटकले युवा तथा विद्यार्थीका समसामयिक समस्या र चुनौतीलाई सशक्त रूपमा उठाएको थियो।

नाटक अवलोकनका लागि विद्यार्थी, युवा तथा सर्वसाधारणको उल्लेखनीय उपस्थिति रहेको थियो। प्रस्तुत नाटकमार्फत युवाहरूले देशमै सिपमूलक रोजगारीको अवसर सिर्जना गर्न सरकारको ध्यानाकर्षण गराएका छन्। उनीहरूले अध्ययनसँगै काम गर्ने अवसर र उचित पारिश्रमिकको व्यवस्था हुन सकेमा युवा तथा विद्यार्थीहरू विदेश पलायन हुने क्रम उल्लेखनीय रूपमा घटाउन सकिने धारणा व्यक्त गरेका छन्।
नाटकमा उच्च शिक्षा हासिल गरिरहेका विद्यार्थीहरूले आर्थिक अभावका कारण अध्ययन र जीवनयापनमा भोग्नुपरेका कठिनाइ, अवसरको खोजीमा विदेशिन बाध्य भएका युवाहरूको अवस्था तथा त्यसले मुलुकको मानव पूँजीमा पारेको प्रभावलाई जीवन्त रूपमा प्रस्तुत गरिएको थियो। साथै, समावेशी विकास, समान अवसर र युवामैत्री आर्थिक नीतिको आवश्यकतामाथि पनि जोड दिइएको थियो।

आयोजक संस्थाका प्रतिनिधिहरूमध्ये एक प्रतिनिधि प्रख्यात दाहालका अनुसार सरकारले हालै सार्वजनिक गरेको नीति तथा कार्यक्रम तथा बजेट वक्तव्यमा विद्यार्थी तथा युवालाई लक्षित रोजगारमुखी कार्यक्रम र अध्ययनसँगै काम गर्न सक्ने संरचनागत व्यवस्थाको विषय पर्याप्त रूपमा समेटिएको छैन। यही विषयलाई रचनात्मक ढङ्गले उठान गर्दै सम्बन्धित निकायको ध्यानाकर्षण गराउन सडक नाटक आयोजना गरिएको हो।
उनीहरूले विद्यार्थीहरूलाई दिनको केही घण्टा अध्ययनसँगै काम गर्ने अवसर, सीप विकास कार्यक्रम, इन्टर्नसिप तथा श्रमको सम्मान सुनिश्चित गर्न सके देशभित्रै रोजगारीका अवसर विस्तार हुने र प्रतिभा पलायन नियन्त्रणमा सहयोग पुग्ने विश्वास व्यक्त गरेका छन्। सहभागी विद्यार्थीहरूले पनि युवा पुस्ताको आवाज नीति निर्माण तहसम्म पुर्याउन यस्ता रचनात्मक अभियान प्रभावकारी हुने बताएका छन्। उनीहरूले युवाका आवश्यकता र अपेक्षालाई सम्बोधन गर्ने गरी आगामी नीति तथा कार्यक्रम तथा बजेटमा ठोस व्यवस्था गर्न सरकारसँग माग गरेका छन्।
युवाको भविष्य, मुलुकको आर्थिक समृद्धि र समावेशी विकाससँग जोडिएका विषयलाई कलात्मक माध्यमबाट प्रस्तुत गरिएको उक्त सडक नाटकले उपस्थित दर्शकलाई गम्भीर रूपमा सोच्न बाध्य बनाएको थियो। आयोजकका अनुसार आगामी दिनमा पनि युवासम्बन्धी विभिन्न विषयमा यस्तै जनचेतनामूलक कार्यक्रम सञ्चालन गरिनेछ।







