विगतमा दूध नबिकेर समस्या भोगेका पूर्वी क्षेत्रका किसानलाई फेरि यही समस्याले सताउन थालेको छ । ‘मिल्क होलिडे’बाट मुक्त भएको केही समयमै दुग्ध वितरण केन्द्रले विभिन्न वहानामा दूध लिन छाडेपछि किसान चिन्तामा परेका हुन् ।
पछिल्लो एक सातायता दुग्ध वितरण आयोजना विराटनगरले दूध प्रशोधन गर्ने रसायन अभाव भएको भन्दै दूध लिन छाडेको छ । दूध बिक्न छाडेपछि विशेषगरी व्यावसायिकरूपमा गाईपालनमा लागेका किसानलाई समस्या भएको छ । एकातिर किसानले उत्पादन गरेको दूध खेर गइरहेको छ भने अर्कातिर पारिवारिक खर्च टार्न धौधौ भएको छ । दूध बेचेरै परिवार चलाउने किसानलाई अब गुजारा गर्न गाह्रो भएको छ । “दुई वटा गाईको झण्डै पन्ध्र लिटर दूध बेच्थेँ । अहिले दूध नबिक्दा समस्या भएको छ”, सन्दकपुर गाउँपालिकाका किसान बालकृष्ण खनालले भने। खनालको मुख्य आर्थिक स्रोत नै दूध थियो तर दूधै नबिक्दा समेत समस्या हुने उनको भनाइ छ ।
विराटनगर आयोजनाले दैनिक सरदर ३० हजार लिटर दूध खरिद गर्छ । त्यसको ७५ प्रतिशतभन्दा बढी इलामबाट आपूर्ति हुने गरेको छ । आयोजनाले रसायनको अभाव देखाएर दूध खरिद नगर्दा इलामको किसानले मात्रै दैनिक रु १३ लाखभन्दा बढी नोक्सानी व्यहोर्नु परिरहेको जिल्ला दुग्ध उत्पादक सहकारी सङ्घ इलामका अध्यक्ष हेमराज कट्टेल बताउँछन् । पूर्वको धनकुटा, तेह्रथुम, मोरङ, सुनसरीबाट पनि आयोजनाले दूध खरिद गर्दै आएको छ । एक हप्तादेखि आयोजना बन्द गरिएकाले पूर्वका किसानले रु एक करोडभन्दा बढी नोक्सानी खेप्नुपरिरहेको छ । आयोजना कहिलेदेखि सञ्चालनमा आउँछ भन्ने अनिश्चित छ ।
आयोजनाले यसपटक रसायन अभाव देखाएर दूध खरिद नगरे पनि यसअघि पनि विभिन्न वहानामा अघोेषित ‘मिल्क होलिडे’ गर्दै आएको सङ्घका अध्यक्ष कट्टेलले बताए । दूध बिक्री नभएपछि पोखाउनुको विकल्प नरहेको उनले बताए ।
आयोजनाले भने भारतबाट ल्याउनु पर्ने रसायन भन्सारमै अड्किएकाले पाउडर बनाउन नसकिनाले दूध खरिद नगरेको जनाएको छ । आपूर्तिकर्ताले भन्सारमै रसायन अड्किएको भनेर नल्यादिएकाले दूध प्रशोधन गर्न नसकिएको विराटनगर दूग्ध वितरण आयोजनाका सहायक प्रबन्धक महेन्द्र रायले बताउनुभयो ।
-रासस