धनगढी— कैलालीको धनगढी उपमहानगरपालिका–२ स्थित बैयाबेहडीमा एक युवती मृत अवस्थामा फेला परेकी छन्। सोमबार बिहान डेरा गरी बस्ने ३० वर्षीया रेणुका चौधरी आफ्नै कोठाभित्र मृत फेला परेकी हुन्।
जिल्ला प्रहरी कार्यालय कैलालीका सूचना अधिकारी डिएसपी राजकुमार सिंहका अनुसार चौधरीको शव डेरा कोठामा ताल्चा लागेकै अवस्थामा फेला परेको हो। ‘बिहान करिब ७ बजेतिर गन्ध आएको सूचनापछि प्रहरी टोली घटनास्थल पुग्यो,’ सिंहले बताए, ‘ताला फोडेर हेर्दा कोठाभित्र चौधरीको शव फेला पर्यो।’
चौधरी खानेपानी कार्यालयमा मिटर रिडिङको काम गर्ने कर्मचारी थिइन्। उनी कञ्चनपुरको पुनर्वास नगरपालिका–११, अमरवस्तीकी स्थायी बासिन्दा हुन्। जागिरकै सिलसिलामा उनी बैयाबेहडीमा डेरा गरेर बस्दै आएकी थिइन्। प्रहरीको प्रारम्भिक अनुसन्धानमा चौधरीको घाँटी र चिउँडोमा चोट र घाउ देखिएकोले हत्या भएको आशंका गरिएको छ। ‘शव सडिएको अवस्थामा भेटिएको हुँदा घटना कहिले भएको भन्ने यकिन हुन सकेको छैन,’ डिएसपी सिंहले जानकारी दिए।
अनुसन्धानका क्रममा उनीसँग एक जना युवक पनि डेरामा बस्ने गरेको खुलेको छ। हाल प्रहरी उक्त युवकको खोजीमा रहेको छ। साथै, चौधरीले काम गर्ने कार्यालय, घरबेटी तथा छिमेकीहरूसँग पनि सोधपुछ भइरहेको छ। अनुसन्धानमा सहजीकरण गर्न तालिम प्राप्त कुकुरसमेत परिचालन गरिएको छ। प्रहरीले घटनालाई गम्भीर रूपमा लिँदै अनुसन्धान अघि बढाएको जनाएको छ।