कैलाली — कैलालीको गौरीगंगा नगरपालिका–७ कैलाशपुरमा १६ दिनकी सुत्केरी १९ वर्षीया तुलसी नाथको हत्या अभियोगमा उनका देवर २० वर्षीय नवीन नाथ पक्राउ परेका छन्।
शुक्रबार बिहान तुलसी मृत अवस्थामा फेला परेकी थिइन्। उनले १६ दिनअघि मात्रै छोरालाई जन्म दिएकी थिइन्। प्रारम्भिक अनुसन्धानमा उनी प्राकृतिक कारणले मरेकी हुन् भन्ने आशंका गरिए पनि प्रहरीले घटनालाई शंकास्पद मानेर गहिरो अनुसन्धान अघि बढाएको थियो। इलाका प्रहरी कार्यालय मालाखेतीका प्रमुख डीएसपी रणबहादुर चन्दका अनुसार हिरासतमा रहेका नवीनले आफ्नै भाउजूको हत्या गरेको स्वीकार गरेका छन्। प्रहरी अनुसन्धानअनुसार जेठ २० गते घटनाको राति नवीनले श्रीमती र बहिनी सुतिसकेको मौका छोपी सुटुक्क भाउजूको कोठामा गएर हत्या गरेका थिए। तुलसीको हत्या गरेपछि उनले उनका कानमा रहेका आठ वटा सुनका मुन्द्रा र गलाको पोते झिकेका थिए। नवीनले चक्कुको सहायताले मुन्द्रा निकालेको र त्यसपछि शवलाई घरदेखि करिब ८ सय मिटर टाढा पुर्याएर फालेको प्रहरीले जनाएको छ।
सुरुमा घटनालाई सर्पदंश वा नालामा लडेर मृत्यु भएको जस्तो देखाउने प्रयास गरिएको थियो। तुलसीको शरीरमा बाह्य चोट नदेखिएपछि स्थानीयमा पनि शंका नजागोस् भनेर नवीनले प्रहरी अनुसन्धानमा समेत सक्रिय सहभागी बन्ने अभिनय गरेका थिए। तर, तुलसीका गहना हराएको विवरण पाएपछि प्रहरीले गम्भीर शंका गर्दै अनुसन्धानको दायरा साँघुर्याएको थियो। नवीनलाई प्रहरीले निगरानीमा राखेर बुझ्दै जाँदा उनको व्यवहार, बेचैनी र अन्य क्रियाकलापबाट संलग्नता देखिएको डीएसपी चन्दले बताए।
अन्ततः बुबा अछामबाट फर्किएपछि नवीनले लुकाएका गहना रहेको स्थान आफैंले देखाए। ती गहना ढुंगाले च्यापेर लुकाइएको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ। प्रहरीसँगको बयानमा नवीनले भारतबाट फर्किएपछि बेरोजगार बनेको र भाउजूसँग पैसा माग्दा वचन दिएकी थिइन् भन्ने कुराले आफू अपमानित भएको महसुस गर्दै बदला लिन हत्या गरेको बताएका छन्। तुलसीका श्रीमान्, नवीनका दाजु, रोजगारीका लागि भारतमा छन्। हाल घटनासम्बन्धी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।