शैल्यशिखर-७ स्थित भैरवनाथ आधारभूत विद्यालय दुई वर्षदेखि छानाविहीन, नगरपालिका मौन

दार्चुला – दुई वर्षअघि आएको हावाहुरीले छाना उडाएको शैल्यशिखर नगरपालिका–७ स्थित भैरवनाथ आधारभूत विद्यालयको पठनपाठन अझै प्रभावित भइरहेको छ। समयमै मर्मत हुन नसक्दा विद्यार्थीहरू जोखिमपूर्ण अवस्थामा कार्पेटमै बसेर अध्ययन गर्न बाध्य छन्।

विद्यालयको अनुसार, हावाहुरीबाट छाना उडेको यति समय बितिसक्दासमेत सम्बन्धित निकायबाट आवश्यक बजेट विनियोजन नहुँदा मर्मत सम्भव हुन सकेको छैन। विद्यालयमा डेस्क–बेञ्चको समेत अभाव छ। एक अभिभावकका अनुसार, “विद्यालयमा न त बस्ने बेञ्च छन्, न छाना, न ढोका नै छन्। हाम्रा बालबालिकाले सुरक्षित वातावरणमा कहिले पढ्न पाउँछन् भन्ने अनिश्चित छ।”

विद्यालय सन् २०६८ सालमा स्थापना भएको हो। हाल यहाँ कक्षा ३ सम्म पढाइ हुँदै आएको छ। विद्यार्थीको रेकर्डमा ३४ जना भए पनि हाल २५ जना मात्र नियमित रूपमा उपस्थित हुने गरेका छन्। भवन जिर्ण बन्दै गएकाले बालबालिका त्रासका बीच अध्ययन गर्न बाध्य छन्। स्थानीयको गुनासो छ – विद्यालयको दयनीय अवस्था देख्दासमेत स्थानीय सरकारसहित कसैले गम्भीर चासो देखाएको छैन। “सरकारको नजर जानु त परै जाओस्, स्थानीय तहले पनि भवन निर्माणतर्फ चासो दिएको छैन,” एक स्थानीयले बताए। बालमैत्री वातावरणमा शिक्षाको हक सुनिश्चित गर्न राज्य र स्थानीय तहको सक्रियता अपरिहार्य देखिन्छ। यथाशीघ्र बजेट विनियोजन गरी विद्यालयको संरचना मर्मत गर्नु आवश्यक भएको स्थानीय अभिभावकहरूको माग छ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्