काठमाडौं – नेपाललाई हराउँदै स्कटल्याण्डले घरेलु मैदानमा जारी त्रिदेशीय टी–२०आई सिरिजको उपाधि जितेको छ । लिग चरण अन्तिम खेलमा नेपाललाई ३४ रनले पराजित गर्दै घरेलु टोली स्कटल्याण्डले उपाधि रक्षा गरेको हो । नेपाल र नेदरल्यान्डससँग समान ४ अंक भएको स्कटल्याण्डले रनरेटमा पछि पार्दै उपाधि जितेको हो ।
स्कटल्याण्डले दिएको १९४ रनको लक्ष्य पछ्याएको नेपाल १८ ओभर ५ बलमा १५९ रनमा समेटियो । नेपालका रुपेश सिंहले सर्वाधिक ४३ रन बनाएपनि जितका लागि पर्याप्त हुन सकेन ।
दीपेन्द्रसिंह ऐरी ३४, कप्तान रोहित पौडेल २७, ओपनर कुशल भुर्तेल ४, आसिफ शेख १४, भीम सार्की १२, रिजन ढकाल ५, सन्दीप लामिछाने ० र आरिफ शेख ४ रनमा आउट भए । बलिङमा स्कटल्याण्डका क्रिस ग्रीव्सले ३ र सफायान सरिफले २ विकेट लिए ।
त्यसअघि नेपालविरुद्ध टस जितेर पहिला ब्याटिङ गरेको स्कटल्याण्डले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर १९३ रन बनाएको थियो ।
स्कटल्याण्डका लागि जर्ज मुन्र्स र ब्रान्डन म्याकमुलेनले तेस्रो विकेटका लागि शतकीय साझेदारी गरे । जर्जले ३९ बलमा ७८ र ब्रान्डनले ३० बलमा ४२ रन बनाए । माइकल लिस्क १७ बलमा २६ र म्याथ्यु क्रस १३ बलमा १७ रनमा अविजित रहे । बलिङमा नेपालका कुशल भुर्तेलले २, सन्दीप लामिछाने, ललित राजवंशी र रुपेश सिंहले एकएक विकेट लिए ।
४ अंक रहेको स्कटल्याण्ड ०.६७२ रनरेटसहित शीर्ष स्थानमा रहदै उपाधि जित्यो । समान ४ अंक रहेको नेपालको रनरेट माइनस ०.२९१ र नेदरल्यान्डसको माइनस ०.३८५ छ। नेपाल र नेदरल्यान्डस क्रमशः दोस्रो र तेस्रो स्थानमा रहे ।