सुदूरपश्चिम रोयल्सले एनपीएल २०२५ का लागि रिटेन र रिलिज खेलाडीको सूची सार्वजनिक

काठमाडौं, असार ७ – नेपाल प्रिमियर लिग (एनपीएल) २०२५ को तयारीमा जुटेको सुदूरपश्चिम रोयल्सले शनिबार आफ्नो टिमका रिटेन तथा रिलिज गरिएका खेलाडीहरूको सूची आधिकारिक रूपमा सार्वजनिक गरेको छ। टिम व्यवस्थापनले लामो रणनीतिक योजनाअनुसार टोलीको ढाँचा मजबुत बनाउन र भविष्यका चुनौतीहरू सामना गर्न यो निर्णय लिएको जनाएको छ।

साविक उपविजेता सुदूरपश्चिम रोयल्सले ६ खेलाडी रिटेन र ६ खेलाडी रिलिज गरेको हो। राष्ट्रिय टिमका उपकप्तान दिपेन्द्र सिंह ऐरीलाई पुनः मार्की खेलाडीका रूपमा कायम राखिएको छ। ऐरीको अनुभव, कप्तानी क्षमता र निरन्तर प्रदर्शनलाई टिमको मेरूदण्डका रूपमा हेरिएको छ।

रिटेन खेलाडीमा ऐरीसँगै विनोद भण्डारी, आरिफ शेख, अविनाश बोहरा, ईशान पाण्डे र नरेन साउद रहेका छन्। अघिल्लो सिजनमा यी स्वदेशी खेलाडीहरूले उत्कृष्ट प्रदर्शन गर्दै टिमलाई फाइनलसम्म पुर्‍याउन महत्त्वपूर्ण भूमिका खेलेका थिए।

त्यसैगरी अर्जुन कुमाल, नरेश बुढाथोकी, खडक बहादुर बोहरा, भोजराज भट्ट, अमित श्रेष्ठ र वसन्त खत्रीलाई रिलिज गरिएको छ। टिम व्यवस्थापनका अनुसार यो निर्णय दीर्घकालीन योजना, युवा खेलाडीको विकास र टिम संरचनामा सन्तुलन कायम गर्नका लागि गरिएको हो।

सुदूरपश्चिम रोयल्सले रिलिज गरिएका सबै खेलाडीहरूप्रति आभार प्रकट गर्दै उनीहरूको भविष्य सफल र उज्ज्वल रहोस् भन्ने शुभकामना व्यक्त गरेको छ।

टोलीले चाँडै हुने खेलाडी ड्राफ्ट तथा ट्रायलमार्फत् नयाँ प्रतिभावान खेलाडीहरू भित्र्याउने र आगामी सिजनमा अझ प्रतिस्पर्धात्मक टिम निर्माण गर्ने प्रतिबद्धता व्यक्त गरेको छ। सुदूरपश्चिम क्षेत्रको प्रतिनिधित्व गर्दै आएको फ्रेन्चाइज टोलीको यो तयारी एनपीएल २०२५ मा उत्कृष्ट प्रदर्शन गर्ने दिशातर्फको महत्त्वपूर्ण कदमका रूपमा हेरिएको छ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्