चितवन, असार ७ – चितवनको राप्ती नगरपालिका–३ स्थित पूर्वपश्चिम राजमार्गमा भएको यात्रुवाहक बस र माइक्रोबसबीचको भीषण दुर्घटनामा परी सात जनाको ज्यान गएको छ भने २० जना घाइते भएका छन्।
धनगढीबाट काकडभिट्टातर्फ जाँदै गरेको यात्रुवाहक बस र विपरीत दिशाबाट आइरहेको माइक्रो एकआपसमा ठोक्किएपछि दुर्घटना भएको चितवनका प्रहरी नायब उपरीक्षक (डीएसपी) रवीन्द्र खनालले जानकारी दिए। दुर्घटनामा परेका घाइतेहरूको भरतपुरस्थित अस्पतालमा उपचार भइरहेको छ।
डीएसपी खनालका अनुसार मृतकहरूको सनाखत भइनसकेको र घाइतेहरूको अवस्थाबारे जानकारी सङ्कलन तथा उपचारको प्रक्रिया चलिरहेको छ। उद्धार कार्य सकिएपछि विस्तृत विवरण आउने जनाइएको छ।
दुर्घटनाको कारणबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।