काठमाडौं – अन्तर्राष्ट्रिय परमाणु ऊर्जा एजेन्सी (IAEA) ले इरानका तीन प्रमुख परमाणु स्थापनामाथि भएका आक्रमणपछि त्यस वरपरको क्षेत्रमा किरणस्तर (रेडिएशन) नबढेको पुष्टि गरेको छ।
IAEA ले आफ्नो एक्स (पूर्व ट्विटर) खातामार्फत जानकारी दिँदै भनेको छ, “इरानका तीनवटा परमाणु स्थापनाहरू, जसमध्ये फ़ोर्दो पनि पर्दछ आक्रमण भएपछि एजेन्सीले त्यहाँको अवस्था अनुगमन गरिरहेको छ। हालसम्म ती स्थान वरपर रेडिएशनको कुनै उल्लेख्य वृद्धि देखिएको छैन।” अन्तर्राष्ट्रिय परमाणु ऊर्जा एजेन्सी थप जानकारी प्राप्त हुँदै जाँदा इरानको अवस्था बारे निरन्तर जानकारी दिने पनि जनाएको छ।
यसअघि, इरानको परमाणु ऊर्जा संगठन (AEOI) ले अमेरिकाले इरानका तीनवटा परमाणु स्थापनामाथि गरेको आक्रमणको कडा भर्त्सना गरेको थियो। AEOI ले अन्तर्राष्ट्रिय समुदायसँग अपील गर्दै भनेको छ, “अमेरिकाले गरेको यो हमला अन्तर्राष्ट्रिय कानुनको उल्लंघन हो। सम्पूर्ण अन्तर्राष्ट्रिय समुदायले यसको निन्दा गर्नुपर्छ र इरानको सार्वभौमिकताको संरक्षणमा साथ दिनुपर्छ।”
युद्धको जोखिम बढ्दै गइरहेका बेला इरानका संवेदनशील परमाणु ठिकाना निशानामा पर्नु र त्यसको प्रतिकृयामा अन्तर्राष्ट्रिय संस्था तथा इरानको प्रतिक्रिया विश्वभर चासोको विषय बनेको छ।