इसराइल–ईरानबीच सैन्य तनाव उत्कर्षमा: दुवै देशका आक्रमण, बेन गुरियन एयरपोर्टदेखि सैन्य मुख्यालयसम्म निशाना

Getty Images

काठमाडौं – इजरायली डिफेन्स फोर्स (IDF) ले पश्चिमी इरानमा रहेका कैयौँ ‘सैन्य ठिकाना’हरूमा आक्रमण गरेको पुष्टि गरेको छ। शनिबार बिहान IDF ले आफ्नो एक्स (पूर्व ट्विटर) खातामार्फत जानकारी दिँदै आक्रमणको सुरुआत भएको उल्लेख गरेको हो।

IDF ले भनेको छ, “IDF ले पश्चिमी इरानमा रहेका सैन्य ठिकानाहरूमा हमला सुरु गरेको छ। आज बिहान इसराइलमाथि प्रहारका लागि तयार अवस्थामा राखिएका मिसाइल लञ्चरहरूलाई पनि लक्षित गरिएको छ।”

साथै, इजरायली सेनाले इरानी सैनिकहरूमाथि समेत आक्रमण गरेको जनाएको छ। IDF ले थप जानकारी दिंदै, “केही समयअघि इसराइलतर्फ दागिएका मिसाइलहरूलाई तुरुन्त निष्क्रिय पारिएको छ,” भनिएको छ। यसैबीच, इरानको सरकारी सञ्चारमाध्यमले पनि इजराइलविरुद्ध प्रतिकार गरेको दाबी गरेको छ। सरकारी टेलिभिजनका अनुसार, इरानले बेन गुरियन अन्तर्राष्ट्रिय विमानस्थलसहित इजराइलका विभिन्न स्थानमा मिसाइल प्रहार गरेको जनाएको छ।

इरानले आक्रमण गरेको भनिएका अन्य स्थानहरूमा इजरायली सेनालाई सहयोग गर्ने केन्द्र, कमाण्ड तथा नियन्त्रण कार्यालय (Command and Control Office), साथै एक जैविक अनुसन्धान केन्द्र (Biological Research Center) समेत रहेका छन्।

इरानी सरकारी सञ्चारमाध्यमका अनुसार, इस्लामिक रिभोल्युशनरी गार्ड कोर (IRGC) ले लामो दूरीका मिसाइलमार्फत इजराइलमा हमला गरिएको पुष्टि गरेको छ। क्षेत्रीय तनाव उच्च बनेको अवस्थामा दुवै पक्षले आक्रामक धार अपनाएको देखिएको छ।

युद्ध फैलिन सक्ने जोखिम र मध्यपूर्वको समग्र सुरक्षामा थप चुनौतीको संकेतका रूपमा यो घटनालाई हेरिएको छ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्