मध्यविन्दु – पूर्वपश्चिम राजमार्गअन्तर्गत बुटवल–नारायणगढ सडकखण्डको नवलपरासी (बर्दघाट सुस्ता पूर्व) को दुम्कीवास क्षेत्रमा पर्ने वैकल्पिक मार्गसमेत पूर्ण रूपमा अवरुद्ध बनेपछि यातायात सम्पर्क पूर्ण रूपमा ठप्प भएको छ।
विनयी त्रिवेणी गाउँपालिका–१ स्थित दुम्कीवासमा रहेको पुल भाँचिएपछि सवारी आवागमन अस्थायी डाइभर्सनमार्फत सञ्चालन हुँदै आएको थियो। तर निरन्तर वर्षाका कारण उक्त डाइभर्सन पनि बगाएपछि साना तथा मध्यम सवारीसाधनलाई वैकल्पिक भित्री मार्ग— होङ्सी गेट, सर्दी र ज्यामिरे राजमार्गमार्फत संचालन गरिँदै आएको थियो।
तर सोमबार बिहानदेखि विनयी त्रिवेणी–३ स्थित खरङ्गे खोलामा पानीको बहाव अत्यधिक बढेपछि सो वैकल्पिक मार्गसमेत पूर्ण रूपमा अवरुद्ध बनेको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक यादव ढकालले जानकारी दिए।
‘वर्षासँगै खोलानाला र नदीमा पानीको बहाव बढेको छ, डाइभर्सनहरू भरपर्दो नभएपछि यातायात अवरुद्ध हुन पुगेको हो,’ ढकालले भने।
हाल दाउन्ने–दुम्कीवास खण्डमा कुनै पनि प्रकारको सवारी आवागमन सम्भव नभएको प्रहरीले जनाएको छ। सवारी ठप्प हुँदा यात्रुहरू बाटोमै अलपत्र परेका छन् भने आवश्यक उपभोग्य सामग्री ढुवानीमा समेत अवरोध भएको छ।
सडक सञ्चालनमा ल्याउन प्रयास भइरहेको भए पनि निरन्तरको वर्षाका कारण तत्काल सुधारको सम्भावना नदेखिएको र स्थानीय तथा सुरक्षा निकाय परिचालित गरी समस्या समाधानमा पहल भइरहेको प्रहरी स्रोतले जनाएको छ।