दमास्कसको चर्चमा आत्मघाती बम विस्फोट, २२ को मृत्यु, ६३ घाइते

दमास्कस – सिरियाको राजधानी दमास्कसमा रहेको ग्रीक अर्थोडक्स चर्चमा भएको आत्मघाती बम आक्रमणमा कम्तीमा २२ जनाको ज्यान गएको छ भने ६३ जना घाइते भएका छन्। आइतबार साँझको प्रार्थनाको क्रममा ड्वेइला क्षेत्रमा रहेको “चर्च अफ द प्रोफेट एलियास” मा एक जना सशस्त्र आक्रमणकारीले गोलाबारी गर्दै विस्फोट गराएको सिरियाको गृह मन्त्रालयले जानकारी दिएको छ। गृह मन्त्रालयका अनुसार आक्रमणकारी इस्लामिक स्टेट (आईएस) समूहसँग आबद्ध रहेको प्रारम्भिक अनुसन्धानबाट पत्ता लागेको छ। तर हालसम्म आईएसले आक्रमणको जिम्मा लिएको छैन।

प्रत्यक्षदर्शी लरेन्स माआमारीका अनुसार एक व्यक्तिले बन्दुकसहित चर्चमा प्रवेश गरेपछि अन्धाधुन्ध गोली चलाएको थियो। मानिसहरूले उसलाई रोक्ने प्रयास गर्दा उसले आफूले लगाएको विस्फोटक ज्याकेट विस्फोट गराएको बताइएको छ। घटनास्थलका तस्वीर र भिडियोमा चर्चको भित्तामा रगतका छिटा, सिसाका टुक्राहरू छरिएका दृश्य, र अल्टर पूर्णरूपमा क्षतिग्रस्त देखिन्छ। विस्फोटपछि सुरक्षाकर्मीहरू घटनास्थलमा खटिइ सुरक्षालाई कडा बनाइएको छ। सिरियामा १३ वर्ष लामो गृहयुद्ध डिसेम्बरमा इस्लामवादी विद्रोहीहरूले सत्ताच्युत भएपछि अन्त्य भएको घोषणा गरिएको थियो। त्यसयता दमास्कसमा भएको यो पहिलो आत्मघाती आक्रमण हो, जसले पुनः सुरक्षाको अवस्था चुनौतीपूर्ण बन्न सक्ने संकेत दिएको छ।

सिरियाली स्वास्थ्य मन्त्रालयले घाइतेहरूको उपचारका लागि अस्पतालहरूमा आपतकालीन तयारी गरिएको जनाएको छ। घटनाबारे थप अनुसन्धान जारी छ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्