सुदूरपश्चिम विश्वविद्यालयको अस्तित्व संकटमा

मान सिंह धामी
आफ्नो दैनिक कामबाट छुटकारा पाइएपछि फुर्सदको समयमा केही अर्थविहीन शब्दहरूद्वारा फेसबुक लगायतका विद्युतीय प्रसारण गर्दा एकातिर मनमा लागेका जिज्ञासा र खुल्दुलीहरू व्यक्त गर्न पाउँदा मनमा शान्तिको आभास हुन्छ भने, अर्काेतिर कता कता आफूलाई चित्त नबुझेका कुराहरू लेख्दै गर्दा कोरा शब्दरुपी कलमका सारथीलाई विभीषणको उपमा पो पाइने हो कि भन्ने संकोचले मन भारी पनि नभएको भने होइन । तथापि नेपालको संविधान २०७२ को भाग ३ मौलिक हक र कर्तव्य अन्तर्गत धारा १७ को उपधारा २ खण्ड (क) बमोजिम विचार र अभिव्यक्तिको स्वतन्त्रता र धारा १९ को सञ्चारको हक अन्तर्गत उपधारा (१) बमोजिम विद्युतीय प्रकाशन, प्रसारण तथा छापा लगायतका जुनसुकै माध्यमबाट कुनै समाचार, सम्पादकीय, लेख, रचना वा अन्य कुनै पाठ्य, श्रव्य, श्रव्य–दृश्य सामग्रीको प्रकाशन तथा प्रसारण गर्न वा सूचना प्रवाह गर्न वा छाप्न पूर्व प्रतिबन्ध लगाइने छैन भन्ने भावार्थबाट निसंकोच विचार र अभिव्यक्तिको स्वतन्त्रता र तथ्यपरक कुराहरू संप्रेषण गर्दा के नै फरक पर्ला र ? पाठकले विभीषणको उपमा किन देलान र ? जे जसरी बुझ्नु हुन्छ, सोहीअनुसार पृष्ठपोषण पाठक वर्गबाट पाउने पूर्ण भरोसाका साथ विश्वविद्यालय सेरोफेरोमा रहेर आजको लेखलाई विषयवस्तुमा समावेश गर्ने अनुमति चाहन्छु ।

नेपालमा सबैभन्दा पहिले सन् १९१८ मा त्रिचन्द्र कलेजको स्थापना गरिएको हो । त्यस समयसम्म नेपालमा उच्च शिक्षाको व्यवस्था थिएन, तबसम्म नेपालमा त्रिभुवन विश्वविद्यालयको स्थापना भएको थिएन । पहिलो तथा नेपालको पुरानो विश्वविद्यालयको स्थापना पश्चात् नेपालमा तत्कालिन महेन्द्र संस्कृत विश्वविद्यालयको स्थापना गरियो र त्यसको लगत्तै सन् १९९० मा काठमाडौँ विश्वविद्यालयको स्थापना भयो । त्यसपछि क्रमशः पूर्वाञ्चल विश्वविद्यालय र पोखरा विश्वविद्यालयको स्थापना सन् १९९५ र सन् १९९६ मा गरियो । हाल नेपालमा थुप्रै कलेजहरु रहेका छन् जसले विद्यार्थीहरूलाई पठनपाठनको जिम्मेवारी बहन गर्दै आएका छन् । वि. सं. २०१६ सालमा त्रिभुवन विश्वविद्यालयको स्थापनासंगै वर्तमानसम्म देशमा धेरै विश्वविद्यालयहरू स्थापना भएका छन् । नेपालमा रहेका विश्वविद्यालयहरूको सूची :
क्र.स.विश्वविद्यालयको नाम स्थान स्थापना वर्ष
१. त्रिभुवन विश्वविद्यालय कीर्तिपुर वि.सं.२०१६ साल
२. काठमाडौँ विश्वविद्यालय धुलिखेल वि.सं.२०४८ साल
३. पोखरा विश्वविद्यालय लेखनाथ वि.सं.२०५४
४. पूर्वाञ्चल विश्वविद्यालय विराटनगर वि.सं.२०५२
५. नेपाल संस्कृत विश्वविद्यालय त्रिभुवननगर वि.सं २०४३
६. लुम्बिनी विश्वविद्यालय लुम्बिनी वि.सं. २०६०
७. मध्यपश्चिमाञ्चल विश्वविद्यालय वीरेन्द्रनगर वि.सं.२०६८
८. सुदूरपश्चिम विश्वविद्यालय महेन्द्रनगर वि.सं. २०६७
९. नेपाल कृषि तथा वन विश्वविद्यालय भरतपुर वि.सं.२०६८
१०. नेपाल खुला विश्वविद्यालय ललितपुर वि.सं. २०७३
११. राजर्षि जनक विश्वविद्यालय जनकपुर वि.सं. २०७४
१२. गण्डकी विश्वविद्यालय तनहुँ वि.सं. २०७६
१३. मनमोहन प्राविधिक विश्वविद्यालय मोरङ वि.सं. २०७६
१४. मधेश कृषि विश्वविद्यालय सप्तरी वि.सं. २०७८

सुदूरपश्चिम विश्वविद्यालय 

सुदूरपश्चिम विश्वविद्यालयको स्थापना वि. सं. २०६७ (अगस्त २०१०) मा भएको हो । स्थापनाकालदेखि हाल सम्म यस विश्वविद्यालयले शैक्षिक क्षेत्रमा उल्लेख्य कार्यहरू गर्दै आइरहेको कुरालाई भने नकार्न सकिँदैन । कृषि, वनविज्ञान, ईन्जिनियरिङ्ग, मानविकी, व्यवस्थापन, शिक्षा, विज्ञान संकायहरू निर्विवाद सञ्चालन भइरहेका छन् । राज्यका मध्यम तथा निम्नवर्गीय जनताको शिक्षामा सहज पहुँचले गर्दा म लगायत म जस्तै सबै सबै गदगद छौं । यस्ता कार्यहरूको लागि म स्थापना कालका उपकुलपति प्रा. डा. जयराज अवस्थी, रजिस्ट्रार प्रा. डा. हेमराज पन्त ज्यू लाई ह्रदयदेखि नै नमन गर्न चाहन्छु । विश्वविद्यालयको विजारोपण देखि पाठ्यक्रम निर्माण, विश्वविद्यालयको रुपरेखा तयार गर्नमा निर्विवाद नेतृत्वको धेरै प्रशंसा गरेमा पाठक वर्गको म प्रतिको दृष्टिकोण फरक पनि हुन सक्छ ।

हाल विश्वविद्यालयका विभिन्न तह र तप्कामा रहेका पदाधिकारी ज्यू हरूलाई पनि नमन गर्न चाहन्छु । यसरी मैले लेख्दै गर्दा विश्वविद्यालयसंग सरोकारवालाहरूले पक्कै पनि यो लेखलाई अक्षरशः पढ्नु नै हुनेछ भन्नेमा विश्वस्त छु ।
सुदूरपश्चिम विश्वविद्यालयको आंगिक क्याम्पसहरू बैतडीको जगन्नाथ बहुमुखी क्याम्पस, पाटन बहुमुखी क्याम्पस र मेलौलीस्थित मणिलेक बहुमुखी क्याम्पस, डोटीको उच्चाकोटस्थित सीताराम बहुमुखी क्याम्पस र जोरायलस्थित घण्टेश्वर सेती महाकाली बहुमुखी क्याम्पस, बाजुराको नौबिसेस्थित बडीमालिका क्याम्पस र मार्तडीस्थित बाजुरा क्याम्पस तथा डडेल्धुराको जोगबुढामा रहेको त्रिवेणी बहुमुखी क्याम्पस रहेका छन् । यस्तै, कैलाली बहुमुखी क्याम्पस धनगढी, टीकापुर बहुमुखी क्याम्पस, अत्तरियाको दुर्गा लक्ष्मी बहुमुखी क्याम्पस, बझाङको जयपृथ्वी क्याम्पस, दार्चुलाको गोकुलेश्वर बहुमुखी क्याम्पस र खलंगास्थित दार्चुला बहुमुखी क्याम्पस तथा अछामको जनता बहुमुखी क्याम्पस सुदूरपश्चिम विश्वविद्यालयका आंगिक क्याम्पसका रुपमा रहेका छन् । विश्वविद्यालयको स्तरोन्नती तथा शैक्षिक गुणस्तर सुधारमा यो देशका सबै नागरिक समाज, राजनीतिक दल, समाजसेवी, बुद्धिजिबी, उद्योगी, व्यापारी, कृषक सबैको बराबरी जिम्मेवारी हुन्छ । मेरो पनि यसै विश्वविद्यालयसित माना जोडिएको हुँदा कुनै व्यक्ति विशेषलाई इंगित नगरी विश्वविद्यालयको ऐन, नियम, विनियम संग भने केही दिन यता मेरो बिमति रहदै आएको छ । “सुन्दैन यदि सुन्नेले बोल्नेले मात्र गर्नु के, नाङ्गाको देशमा गई धोबी पाउँछ काम के“ भने जस्तै विश्वविद्यालयका केही कमजोर पक्षहरूको समालोचनात्मक विश्लेषण गर्नु पनि सान्दर्भिक ठानेको छु ।

विश्वविद्यालयमा समायोजन पूर्व उल्लिखित क्याम्पसहरू सामुदायिक क्याम्पसका रुपमा थिए । क्याम्पसको आफ्नै नीति नियम र विधान थियो । क्याम्पस सञ्चालक समिति थियो । शिक्षक कर्मचारीका सेवासुविधा, पदोन्नति निश्चित प्रक्रिया पूरा गरेर उपलब्ध गराइन्थ्यो । तर अहिले समायोजनको नाममा विश्वविद्यालयले सबैको आँखामा छारो हाल्ने काम गरेको छ । टाँठाबाँठाहरुलाई विभिन्न पदको लोभमा झगडाको औषधी मुखमा पानी भने जस्तै नबोल्ने बनाइ सकेको छ । हाम्रा साथीहरूको पदोन्नति रोकिएको छ । कोहि पनि विद्वान मित्रहरु बोल्न, लेख्न हिच्किचाउँछन । तर मैले भने कसैको प्यारो हुनु छैन । मेरो बिवेकले भ्याएसम्म बिचारधारा शून्य सहिलाई सही र गलतलाई गलत भन्ने हेक्का भने राख्दछु । लोकतान्त्रिक गणतन्त्रमा पनि केन्द्रीकृत व्यवस्थालाई टेकेर विश्वविद्यालय अघि बढिरहेको छ । शिक्षक कर्मचारीहरुको न कार्यसम्पादन मूल्याङ्कन छ, न जागिरको सुनिश्चितता छ । नीतिनिर्मातहरूको ध्यान केन्द्रीय विश्वविद्यालयमा मात्र देखिन्छ । पाठ्यक्रम निर्माण, प्रश्नपत्र निर्माण, उत्तरपुस्तिका परीक्षण, समपरीक्षण लगायतका कार्यहरूमा कुनै किसिमको समन्वय सहकार्य भएको देखिदैन । विश्वविद्यालयले अरुको अस्तित्वलाई पनि स्वीकार्ने परिपाटीको थालनी होस । मुखैमा आएको प्राध्यापक सङ्घको निर्वाचनलाई विभिन्न वहानामा स्थगित गरिएको छ । यथाशक्य समायोजन प्रक्रियालाई टुङ्ग्याइयोस, प्राध्यापक संघको निर्वाचन सम्पन्न गरियोस । यी मेरा विचारका वाणहरुले सम्बन्धित पक्षको घैंटोमा घाम लागोस ।

सुदूरपश्चिम विश्वविद्यालयको बारेमा चर्चा गर्दा आफू नीति निर्माण तहमा भएको भए वा विश्वविद्यालयको उच्च पदस्थ कर्मचारी भएको भए सायद लेख्ने हिम्मत गर्दैन थिए होला म पनि । अझ राजनीतिक संगठनको विश्वविद्यालय भित्रको ठुलै नेता भए पनि कलमलाई अगाडि बढाउँदा हात नै काँपेर अक्षर नै अस्पष्ट हुने थिए वा कलम अगाडि बढ्दैनथ्यो होला । किनकि माथिबाट नेताहरूको दबाव आउँथ्यो होला । उच्च पदस्थ कर्मचारी भए उपकुलपतिको दबाव आउँथ्यो । भन्न जति सजिलो छ गर्न उत्तिनै कठिन छ भन्ने बुझ्दाबुझ्दै पनि यो विश्वविद्यालयसंग मेरो पनि नजिकको साइनो गाँसिएकोहुँदा यो लेख मार्फत पाठक समक्ष आफ्ना गुनासा, जिज्ञासा, तथा असन्तुष्टिहरू पेशगर्न विवस छु । किनकि मनका कुरा व्यक्त गर्न पाए मन हलुका हुन्छ ।

मैले आफ्नो मनमा लागेका कुराहरू लेख्दैगर्दा व्यक्ति लक्षित अभिव्यक्ति प्रस्तुत गर्दा पाठकहरूको म प्रतिको प्रत्यक्षीकरण नकारात्मक पनि हुन सक्छ । तर संस्थाको नीतिनियम, विधान, संस्कार, परिपाटीको बारेमा आफ्नै कमीकमजोरी अध्ययनको कमीले गर्दा बकबक गरिरहेको छु । सन्दर्भ:– विश्वविद्यालय सभा – मिति :– २०७९/१२/२६ गते सुदूरपश्चिम विश्वविद्यालयमा प्रधानमन्त्रीको अध्यक्षतामा विश्वविद्यालय पदाधिकारीहरूको सिनेट बसेर बिविध खालका निर्णयहरू गरिए होलान् । ती निर्णयहरूको बारेमा विश्वविद्यालयका उच्च पदस्थ अधिकारी, विश्वविद्यालयका विभिन्न फन्टका नेताहुँ भन्नेहरूलाई बाहेक अरुलाई थाहाहुने कुरा पनि भएन । आफू त्यो क्षेत्राधिकार भित्र परिएन । मेरो जानकारीमा आएका केही कुराहरू मध्ये यसपटकको सिनेटले केही सामुदायिक क्याम्पसहरूलाई आंगिक क्याम्पस बनाउने निर्णय गरेछ । आंगिक क्याम्पसहुन सफल ती क्याम्पसहरू:– पुरचौडी बहुमुखी क्याम्पस बैतडी, बझाङ्ग दीप बहुमुखी क्याम्पस बझाङ्ग, सुनकुडा बहुमुखी क्याम्पस बझाङ्ग, भिमदत्त बहुमुखी क्याम्पस डडेल्धुरा र कृष्ण बैजनाथ बहुमुखी क्याम्पस कञ्चनपुर रहेका छन् ।

आंगिक क्याम्पसको सूचिमा पर्न सफल सम्पूर्ण क्याम्पस परिवारलाई बधाई छ । अहिले सम्म आंगिक क्याम्पसको सूचिमा परेका क्याम्पसहरूको समायोजन प्रक्रिया नै नटुङ्याएर विश्वविद्यालयले यो के नौटङ्की गरेको त ? के विश्वविद्यालय हाँक्ने महाशयहरू देशका महामहिम नै हुन त ? उपकुलपतिको कार्यकाल सकिनै लाग्दा आफ्नो जिल्लाका दुईवटा क्याम्पस, रजिस्ट्रारको गृह जिल्लाको एक क्याम्पस, पद पोष्ट दिने नेताको जिल्लामा एक क्याम्पस र विश्वविद्यालय नै भएको जिल्लामा एक क्याम्पस गरि जम्मा पाँचवटा क्याम्पसहरूलाई आंगिक क्याम्पस बनाउने निर्णय गरिनु के समय सान्दर्भिक र उचित छ त ? यो भन्दा अगाडि आंगिक क्याम्पस बनाइएका क्याम्पसहरूको समायोजन प्रक्रिया कहिले टुङ्गिने हो कुन्नी ! सेवा आयोग र डीनज्यूहरूको जिल्लाका सामुदायिक क्याम्पसहरू कहिले सुदूरपश्चिम विश्वविद्यालयका आंगिक क्याम्पस हुँदैछन् ? मैले यस्ता अनुत्तरित प्रश्नहरू गरि रहँदा पाठकहरूलाई आश्चर्य लाग्न सक्छ जवाफ किन दिने र कसरी दिने भनेर । तर मैले यींं प्रश्नहरू विश्वविद्यालयसामु राखेको व्यहोरा अनुरोध गरे । भिसी, रजिस्ट्रार र ठुला नेता भएकाहरूको जिल्लामा मात्र सरकारी आंगिक क्याम्पस हुने । बाजुरा, अछाम, दार्चुला, डोटी जस्ता बिकट पहाडी जिल्लामा सामुदायिक क्याम्पस नै थिएनन् कि ? उक्त क्षेत्रका जनतालाई राज्यको सेवासुविधा लिने अधिकार नै छैन कि ? आंगिक क्याम्पस बनाउने अचष्तभचष्ब (पूर्वाधार) के के रहेछन् ? यसको जवाफ विश्वविद्यालयले दिनु पर्दछ । समायोजन प्रक्रियालाई छिटो भन्दा छिटो टुङ्ग्याइयोस । यो मैले लेखेका कुरा सरोकारवाला सबैको साझा सवालका मुद्दा बन्ने कुरामा दुईमत नहोला ।

सामाजिक सञ्जालमा यसरी लेख्दैगर्दा मानिस बिवेकशील प्राणी भएकोले विद्वतवर्गबाट हुने कामहरू न्यायसंगत, तर्कसंगत, बहुसंख्यक जनताको पक्षमा हुनु पर्दछ भन्ने मेरो मान्यता हो । विश्वविद्यालयका उपकुलपति, रजिस्ट्रार तथा अन्य सबैले उचित न्याय संगत निर्णयगरेर कार्यान्वयन नगरेमा तथा समायोजन प्रक्रियालाई छिटोभन्दा छिटो नटुङ्ग्याएमा उपकुपति लगायतका पदाधिकारीहरू यो समाजका कलंक ठहरिने छन् । जीवनमा कहिल्यै पनि यी महापुरुषहरूको दाग मेटिने छैन र मरणोपरान्त समेत सुदूरपश्चिमेली जनताको मनमष्तिष्कमा बसि रहनेछन् । हाल आंगिक क्याम्पसको रुपमा सूचिकृत क्याम्पसहरू पनि ओझेलमा पर्नेछन् ।

साथै अन्तर क्याम्पसहरूको शैक्षिक, प्रसासनिक लगायतका कार्यहरूको अनुगमन, निरीक्षण, सुधारको लागि पनि विश्वविद्यालयको ध्यानाकर्षण होस । यो लेख पढ्ने पाठकज्यूहरू मार्फत यीं मेरा जिज्ञासा, गुनासा, असन्तुष्टिका कुराहरू उपकुलपतिज्यू तथा विश्वविद्यालयका उच्च पदस्थ पदाधिकारीसमक्ष पुगोस । “सुन्दैन यदि सुन्नेले बोल्नेले मात्र गर्नु के“ । मैले फेसबुकमा जे सुकै कुरा लेखे पनि यो भनाईको मर्मलाई कसले बुझी दिने ? हुन त आफूले सकारात्मक सोचाई राख्नु पर्दछ, तर कसैलाई लाग्न सक्छ कि बडो लेखक बन्न खोज्ने भनेर ! ईर्ष्या डाह भएमा ईर्ष्षागर्नेको भलो होस । म कसैको कुभलो चिताउदैन पनि । सुदूरपश्चिम विश्वविद्यालय अन्तर्गत समायोजन गरिएका भनिएका क्याम्पसहरूमा विश्वविद्यालयका महामहिमहरूले क्याम्पसको संस्कार, परम्परा, जेष्ठता, कार्यसम्पादन मूल्याङ्कन जस्ता कुराहरूलाई वेवास्ता गरेर आफ्नै नातेदार भाइभारदारहरूलाई क्याम्पसको हालीमुहाली सुम्पनु, क्याम्पसको नाइकेले पनि वृत्ता सम्झेर मनोमानी ढङ्गले रायसल्लाह विना नै आफ्नै नातेदारहरूलाई जिम्मेवारी वहन गरि सकेको व्यक्तिलाई फेरि दोहोर्याउँदै कामहरूको जिम्मादिनु जस्तो अवैज्ञानीक, अप्रजातान्त्रिक, अलोकप्रिय कामहरूको निन्दा गर्दा के नै फरक पर्ला र ! विश्वविद्यालय तिनै नाईकेहरूको मात्र कि सरोकारवाला सबैको ? यदि विश्वविद्यालयलाई सहि दिसामा डोर्याएर सबै नेपाली जनताको हित चाहनु हुन्छ भने प्रजातान्त्रिक प्रक्रियाबाट अगाडि बढ्नु जरुरी छ । हुन त मैले यसरी सामजिक सञ्जालबाट बिरोधका आवाजहरू तथा असन्तुष्टिहरू संप्रेषणगर्दा मेरो कुाराको सुनुवाईको वदलामा स्पष्टीकरण वा अन्य कार्वाहीको भागीहुनु पर्ने हुन सक्छ, किनकि विश्वविद्यालयमा मेरा आफन्त नातेदार कोही पनि छैनन् । तर जे सुकै होस समायोजन प्रक्रिया यथाशक्य चाँडो टुङ्ग्याइयोस । राम्रो काम गरेपछि फेरि पनि कार्यकाल दोहरिन सक्छ । सबै पक्षबाट विश्वविद्यालयको स्तरोन्नतीलागि पनि पहलको अपेक्षा गर्दै अहिलेभने कलमलाई बिट मार्छु । धन्यवाद !!!
मान सिंह धामी
उप–प्राध्यापक
कैलाली बहुमुखी क्याम्पस, धनगढी

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्