दुईवटा जहाजमा इरानको प्रहार, हर्मुज जलमार्ग पूर्ण रूपमा बन्द

फाइल तस्बिरः हर्मुज जलक्षेत्रमा आक्रमणमा परेको थाइल्यान्डको जहाज ।

काठमाडौँ-  अमेरिकाले इरानमाथि नयाँ चरणको सैन्य आक्रमण सुरु गरेपछि मध्यपूर्वमा तनाव थप चुलिएको छ। इरानले अमेरिकी कारबाहीको प्रतिउत्तरस्वरूप विश्वकै महत्वपूर्ण सामुद्रिक व्यापारिक मार्गमध्ये एक हर्मुज जलमार्गमा रहेका जहाजहरूलाई निशाना बनाएको दाबी गरेको छ।

इरानको इस्लामिक रिभोलुसनरी गार्ड्स कोर्प्स (आईआरजीसी) ले अमेरिकी सेनाले इरानी लक्ष्यहरूमा श्रृंखलाबद्ध आक्रमण सुरु गरेलगत्तै हर्मुज जलमार्गमा रहेका दुईवटा जहाजमाथि प्रहार गरेको जनाएको छ। यद्यपि उक्त घटनाबारे स्वतन्त्र पुष्टि भने हुन सकेको छैन। अमेरिकी सेनाले व्यावसायिक जहाजहरूको आवतजावत यथावत् रहेको दाबी गरेको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानले युद्ध अन्त्यका लागि सम्झौतामा ढिलाइ गरेको आरोप लगाउँदै थप कडा सैन्य कारबाहीको चेतावनी दिएका थिए। त्यसलगत्तै अमेरिकी केन्द्रीय कमान्ड (सेन्टकम) ले इरानको आक्रामक गतिविधिको जवाफस्वरूप आत्मरक्षात्मक आक्रमण गरिएको जनाएको छ।

इरानी सञ्चारमाध्यमहरूले हर्मुज जलमार्ग सबै प्रकारका जहाजका लागि बन्द गरिएको दाबी गरेका छन्। तर अमेरिकी पक्षले जलमार्गमा व्यावसायिक जहाजहरूको आवागमन जारी रहेको जनाएको छ। दुवै पक्षका परस्परविरोधी दाबीबीच क्षेत्रीय सुरक्षा अवस्था थप जटिल बनेको छ। यसबीच पर्सियन खाडी क्षेत्रका केश्म टापु, बन्दर अब्बास र सिरिकलगायतका स्थानमा विस्फोटका आवाज सुनिएको जनाइएको छ। अमेरिकी आक्रमण र इरानी प्रतिक्रियाका कारण क्षेत्रीय सुरक्षा तथा अन्तर्राष्ट्रिय ऊर्जा आपूर्तिमा असर पर्ने चिन्ता बढेको छ।

हर्मुज जलमार्गसम्बन्धी तनाव बढेसँगै अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य पनि उकालो लागेको छ। विश्वव्यापी मापदण्ड मानिने ब्रेन्ट कच्चा तेलको मूल्य एसियाली बजारमा झण्डै २ प्रतिशतले बढ्दै प्रतिव्यारेल ९५ अमेरिकी डलरभन्दा माथि पुगेको छ। यसअघि राष्ट्रपति ट्रम्पले इरानमाथि ‘अझ कडा प्रहार’ गर्ने चेतावनी दिएका थिए भने इरानी नेतृत्वले कुनै पनि दबाब वा धम्कीअगाडि नझुक्ने अडान सार्वजनिक गरेको छ। इरानी राष्ट्रपति मसउद पेजेशकियानले आफ्नो देश राष्ट्रिय हित र सार्वभौमिकताको रक्षा गर्न प्रतिबद्ध रहेको बताएका छन्। अमेरिका र इरानबीचको पछिल्लो सैन्य तनावले मध्यपूर्वको सुरक्षा अवस्था थप संवेदनशील बन्नुका साथै विश्व ऊर्जा बजार, समुद्री व्यापार तथा अन्तर्राष्ट्रिय कूटनीतिमा समेत व्यापक प्रभाव पार्ने विश्लेषण गरिएको छ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रिक्रिया दिनुहोस्