बसभित्र आगो लगाउने चालक दावा लामा नभई अर्कै व्यक्ति रहेको भएको पुष्टि

 

काठमाडौँ । ट्राफिक प्रहरीसँगको विवादपछि सोमबार दिउँसो त्रिपुरेश्वरमा बसभित्र आगो लगाएका व्यक्तिको पहिचानलाई लिएर अन्योल भएपछि प्रहरीले थप अनुसन्धान थालेको छ।

घटनालगत्तै प्रहरीले चालकको साथबाट फेला परेको कागजातका आधारमा उनी काभ्रेको पनौती ठेगाना भएका २३ वर्षीय दावा लामा रहेको जनाएको थियो। ट्राफिक प्रहरीका एसपी नरेशराज सुवेदीका अनुसार उपचारका क्रममा समेत घाइते व्यक्तिले आफ्नो नाम दावा लामा नै बताएका थिए। तर प्रहरीले लाइसेन्समा उल्लेख भएको नम्बरमा सम्पर्क गर्दा सम्बन्धित व्यक्तिले आफू सकुशल रहेको बताएका छन्।

एसपी सुवेदीले अहिले लाइसेन्सकै विषयमा अनुसन्धान गर्नुपर्ने देखिएको बताउँदै घाइते व्यक्तिको वास्तविक पहिचान खुलाउने प्रयास भइरहेको जानकारी दिनुभयो। प्रहरीले सम्पर्क गरेका दावाले आफ्नो लाइसेन्स हराएको बताएका छन्। घाइते व्यक्तिको परिवारसँग गरिएको कुराकानीबाट समेत उनी दावा लामा नभएको खुलेको प्रहरीको भनाइ छ।

त्रिपुरेश्वरमा भएको घटनाको छानबिन गर्न उपत्यका प्रहरी कार्यालय, रानीपोखरीले एसएसपी रमेश बस्नेतको नेतृत्वमा छानबिन समिति गठन गरेको छ। प्रहरीले घटनाको पृष्ठभूमि, चालकको परिचय तथा प्रयोग भएको कागजातलगायतका विषयमा अनुसन्धान गरिरहेको जनाएको छ।

घटनामा गम्भीर घाइते भएका चालकको शरीरको करिब ९० प्रतिशत भाग जलेको प्रहरीले जनाएको छ। बा २ ख ४२७४ नम्बरको बसमा आगजनी भएपछि चालकलाई उद्धार गरी उपचारका लागि पठाइएको थियो। दमकलको सहयोगमा बसमा लागेको आगो नियन्त्रणमा लिइएको थियो।

प्रहरीका अनुसार घाइते चालकको परिचयमा द्विविधा रहेकाले अनुसन्धान पूरा भएपछि मात्रै उनको वास्तविक नाम र परिचयबारे विस्तृत जानकारी सार्वजनिक गरिनेछ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रिक्रिया दिनुहोस्