नेकपा केन्द्रीय कार्य संयोजन समितिको बैठकमा आठ एजेन्डामा छलफल

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)को केन्द्रीय कार्य संयोजन समितिको पाँचौँ बैठक मंगलबार पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा जारी छ। पार्टी संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’को संयोजकत्वमा जारी बैठकको सञ्चालन सहसंयोजक माधवकुमार नेपालले गरिरहेका छन्। बैठकमा समसामयिक राजनीतिक परिस्थिति, पार्टीको आगामी कार्यदिशा तथा संगठन निर्माणका विषयमा छलफल भइरहेको पार्टी प्रवक्ता प्रकाश ज्वालाले जानकारी दिए। उनका अनुसार बैठकमा छलफलका लागि आठ वटा मुख्य एजेन्डा तय गरिएको छ।

बैठकको सुरुवातमा देश र जनताको हितका लागि जीवन उत्सर्ग गर्ने सहिदहरूप्रति श्रद्धाञ्जली अर्पण गरिएको थियो। त्यसपछि संयोजक प्रचण्ड र सहसंयोजक नेपालले वर्तमान राष्ट्रिय परिस्थिति तथा पार्टीको आगामी दायित्वका विषयमा मन्तव्य दिएका थिए। बैठकमा पार्टीको आगामी महाधिवेशन तथा विभिन्न तहका अधिवेशनको तयारी र कार्ययोजनाबारे छलफल हुने छ। त्यस्तै सचिवालय र कार्यसमिति बैठकको नियमितता, भएका निर्णयको कार्यान्वयन तथा पार्टीका आन्तरिक संरचनालाई थप गतिशील बनाउने विषय पनि एजेन्डामा राखिएको छ।

पार्टी तथा जनवर्गीय संगठनको संयोजन प्रक्रियालाई पूर्णता दिने र सदस्यता नवीकरणको कामलाई तीव्रता दिने विषयमा समेत बैठकमा छलफल हुने प्रवक्ता ज्वालाले बताए। त्यसैगरी पार्टी संगठनलाई थप सुदृढ र जनमुखी बनाउन विशेष संगठन सुदृढीकरण अभियान सञ्चालन गर्ने विषय पनि बैठकको एजेन्डामा छ। विभिन्न समूह तथा व्यक्तिलाई पार्टीमा समाहित गर्ने विषयमा पनि बैठकले छलफल गरी आवश्यक निर्णय गर्ने जनाइएको छ।बैठकको विविध एजेन्डाअन्तर्गत हालैको भोटेकोशी बाढीबाट प्रभावित नागरिकको पुनर्स्थापना तथा पुनर्निर्माण अभियानलाई तीव्र बनाउने विषयमा समेत छलफल हुने छ।

यससँगै बैठकले पार्टीको आगामी राजनीतिक तथा सांगठनिक गतिविधिका सम्बन्धमा आवश्यक निर्णय गर्ने अपेक्षा गरिएको छ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रिक्रिया दिनुहोस्