रास्वपा सांसद खतिवडाको भावुक सम्बोधन: ‘न्याय खोज्दै संसद्सम्म आइपुगेकी हुँ’

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सांसद रचना खतिवडा खत्रीले आफू प्रतिनिधि सभामा आउनुको कारण राजनीतिक पद वा रहर नभई न्यायको खोजी भएको बताएकी छन्। प्रतिनिधि सभाको मंगलबारको बैठकमा विशेष समयमा बोल्दै सांसद खतिवडाले आफ्नो संसद् यात्रा पीडा, न्यायको खोजी र आगामी पुस्ताको सुरक्षासँग जोडिएको बताइन्। भावुक हुँदै उनले भनिन्, ‘मेरो काखमा हुर्केको बच्चाको ज्यान लिने शासकको तातो गोली र उसको बगेको रगतले न्याय खोज्दै म यहाँसम्म आइपुगेकी हुँ।’

रास्वपाका संस्थापकहरू तथा पार्टीसँग जोडिनुको मुख्य कारण पनि न्यायको खोजी नै भएको उनले बताइन्। देशमा ठूलो राजनीतिक परिवर्तन भए पनि शासन सञ्चालनका क्रममा जनतालाई दुःख दिने र बाटो बिराउने प्रवृत्ति कायमै रहेको उनको भनाइ थियो। सरकारले बाटो बिराए संसद्मा रहेका सबैले खबरदारी गर्नुपर्नेमा उनले जोड दिइन्। ‘यदि सरकारले बाटो बिराउँछ भने संसद्को यो रोस्टममा रहेका हरेकले खबरदारी गर्नुपर्छ,’ उनले भनिन्।

आफ्नो पीडा र संसद् यात्रालाई लिएर गरिएका टिप्पणीप्रति पनि खतिवडाले आपत्ति जनाइन्। छोराको मृत्युको विषयलाई लिएर राजनीतिक लाभ वा पदसँग जोडेर टिप्पणी गरिँदा आफू थप पीडित भएको उनले बताइन्। ‘कसैले मेरो छोराको लासमाथि राजनीति गरेर पद साटेको भन्दै टिप्पणी गर्दा म स्तब्ध छु,’ उनले भनिन्, ‘मेरो छातीको घाउमाथि कसैले प्रहार नगरोस्।’

आफ्नो छोरा र आफूले भोगेको पीडा अब अन्य परिवारले भोग्न नपरोस् भन्ने आफ्नो चाहना रहेको उनले बताइन्। ‘मेरो छोरा र म त शहीद भयौँ, कम्तीमा अब मेरा छोराजस्ता अरू छोराहरूले मर्न नपरोस्,’ उनले भनिन्। खतिवडाले सरकारसँग आफ्नो छोराको मृत्युको न्यायका लागि पहल गर्न आग्रह गर्दै आगामी दिनमा कुनै पनि आमाले आफ्ना सन्तान गुमाउनुपर्ने अवस्था नआउने सुनिश्चितता गर्न राज्यको ध्यानाकर्षण गराइन्। उनले आफ्नो छोराको बलिदान खेर जान नदिन र यस्ता घटना दोहोरिन नदिन राज्यले घटनाको जिम्मेवारी लिँदै आवश्यक कदम चाल्नुपर्नेमा जोड दिइन्।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रिक्रिया दिनुहोस्