काठमाडौं – नेकपा (एमाले)का नेता कृष्णगोपाल श्रेष्ठले पार्टी अध्यक्ष केपी शर्मा ओलीको पक्षमा आफूले यसअघि दिएको चर्चित अभिव्यक्ति अब सान्दर्भिक नरहेको बताएका छन्। मंगलबार एमाले केन्द्रीय कमिटी बैठकस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै श्रेष्ठले २०८२ साल भदौ २२ गतेसम्म आफ्नो पुरानो अभिव्यक्ति सान्दर्भिक रहेको भए पनि भदौ २३ गतेपछि त्यसको औचित्य समाप्त भएको बताए। श्रेष्ठले व्यक्तिगत रूपमा ओलीप्रतिको आफ्नो सम्मान भने कायमै रहेको स्पष्ट पारे। उनले भने, ‘व्यक्तिगत रूपमा अध्यक्षलाई म सम्मान गर्छु, त्यो सम्मान यथावत छ।’
उनका अनुसार विगतमा संसद् विघटन र पुनःस्थापनाको राजनीतिक परिस्थितिका बीच पार्टीभित्रै ओलीले मार्गप्रशस्त गर्नुपर्ने र अन्यथा हटाइने भन्ने अभिव्यक्ति आएपछि आफूले ओलीको बचाउ गर्दै उनलाई फुटबलका महान् खेलाडी पेलेसँग तुलना गरेका थिए। ‘केपी ओली इज केपी ओली, केपी ओली फुटबलको पेले हो’ भन्ने उनको त्यही अभिव्यक्ति त्यसबेला चर्चित बनेको थियो। श्रेष्ठले उक्त अभिव्यक्ति अब आफूले नै खारेज गरिसकेको बताए। उनका अनुसार यसबारे अध्यक्ष ओलीकै उपस्थितिमा पार्टी बैठकमा समेत आफूले स्पष्ट पारिसकेको बताएका छन्।
एमालेको ११औँ महाधिवेशनको प्रसंग उल्लेख गर्दै श्रेष्ठले ओलीसँग आफ्नो राजनीतिक प्रतिस्पर्धा र मतभेदसमेत रहेको बताए। ‘एमालेको ११औँ महाधिवेशनमा मलाई हराउन ओलीजीले मेहनत गर्नुभएको हो, मैले पनि उहाँलाई भोट नदिएकै हो,’ उनले भने। श्रेष्ठले बदलिएको राजनीतिक परिस्थितिअनुसार एमाले र पार्टी नेतृत्वले ‘ग्राउन्ड रियालिटी’ बुझेर आफूलाई सुधार गर्नुपर्नेमा जोड दिए। ‘हामी सच्चिएनौँ भने हामीलाई सकिनबाट कसैले रोक्दैन,’ उनले भने, ‘लोकप्रिय र बलियो एमाले बनाउन कसले के त्याग गर्नुपर्छ, त्यसमा महसुस गर्नुपर्छ।’
पार्टी अध्यक्ष ओलीकै प्रतिवेदनमा ‘रियलाइजेसन’ अर्थात् आत्मबोधको विषय उठाइएको उल्लेख गर्दै श्रेष्ठले त्यसलाई व्यवहारमा पनि देखाउनुपर्ने बताए। यसअघि ओलीको पक्षमा सार्वजनिक रूपमा कडा अभिव्यक्ति दिँदै आएका श्रेष्ठले अहिले पार्टी नेतृत्व र आफ्नो राजनीतिक भूमिकाका विषयमा फरक धारणा सार्वजनिक गरेपछि उनको भनाइ एमालेभित्रको बदलिँदो राजनीतिक समीकरणको प्रसंगमा समेत चर्चामा आएको छ।



