अमेरिकाले बाढी प्रभावित नेपालको पुनःस्थापना र पुनर्निर्माणका लागि थप ३१ मिलियन डलर सहयोग गर्ने

काठमाडौँ – संयुक्त राज्य अमेरिकाले बाढीबाट प्रभावित नेपालको पुनःस्थापना तथा पुनर्निर्माणका लागि थप ३१ मिलियन अमेरिकी डलर सहयोग उपलब्ध गराउने भएको छ । न्युयोर्कमा मंगलबार अमेरिकी राजनीतिक मामिलासम्बन्धी उपविदेशमन्त्री एलिसन हुकर र परराष्ट्रमन्त्री शिशिर खनालबीच भएको भेटवार्ताका क्रममा अमेरिकाले उक्त सहयोग घोषणा गरेको हो ।

भेटका क्रममा उपविदेशमन्त्री हुकरले नेपालमा आएको विनाशकारी बाढीबाट प्रभावित सबैप्रति गहिरो समवेदना व्यक्त गरेकी थिइन् । उनले बाढीका कारण हालसम्म सम्पर्कविहीन रहेका करिब ७० जना अमेरिकी नागरिकका परिवारप्रति समेत सहानुभूति व्यक्त गरेकी छन् ।

अमेरिकी विदेश मन्त्रालयका अनुसार हुकरले बाढी प्रभावित क्षेत्रमा स्थायी रूपमा निर्माण गरिने पुलका लागि अमेरिकी संसद्सँग समन्वय गरी थप १० मिलियन अमेरिकी डलर सहयोग उपलब्ध गराउने घोषणा पनि गरेकी छन् । अमेरिकी सहयोगमा निर्माण हुने ती पुलले बाढीबाट क्षतिग्रस्त महत्त्वपूर्ण यातायात पूर्वाधार पुनःस्थापना गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ ।

यसैबीच मंगलबार नै अमेरिकी वाणिज्य मण्डलका प्रमुख अन्तर्राष्ट्रिय मामिला अधिकारी डा. जोसुवा वाकरले पनि परराष्ट्रमन्त्री खनालसँग भेटवार्ता गरेका छन् । भेटमा नेपालमा आर्थिक सहकार्य विस्तार गर्ने तथा नेपाल र अमेरिकाबीचको व्यावसायिक साझेदारीलाई थप सुदृढ बनाउने विषयमा छलफल भएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रिक्रिया दिनुहोस्