विश्वकप २०२६ आजदेखि: इतिहासकै सबैभन्दा ठूलो फुटबल महाकुम्भको शुभारम्भ

काठमाडौं- विश्व फुटबलको सबैभन्दा प्रतिष्ठित प्रतियोगिता फिफा विश्वकप २०२६ आजदेखि उत्तर अमेरिकामा सुरु हुँदैछ। मेक्सिको, अमेरिका र क्यानडाको संयुक्त आयोजनामा हुन लागेको २३औँ संस्करणको विश्वकप उद्घाटन खेलमा मेक्सिकोले दक्षिण अफ्रिकासँग प्रतिस्पर्धा गर्दै प्रतियोगिताको औपचारिक सुरुवात गर्नेछ। यसपटकको विश्वकप धेरै दृष्टिले ऐतिहासिक र विशेष मानिएको छ। पहिलो पटक तीन राष्ट्रले संयुक्त रूपमा आयोजना गर्न लागेको विश्वकपमा कीर्तिमानी ४८ राष्ट्र सहभागी हुँदैछन्। यसअघि ३२ टोली सहभागी हुने विश्वकपमा अब ४८ टोलीले प्रतिस्पर्धा गर्नेछन्। प्रतियोगिताभर १०४ खेल खेलिनेछन्, जुन विश्वकप इतिहासकै सबैभन्दा बढी हो।

विश्वकपका खेलहरू अमेरिका, मेक्सिको र क्यानडाका १६ विभिन्न शहरमा सञ्चालन हुनेछन्। ३९ दिनसम्म चल्ने प्रतियोगितामा युरोपबाट १६, अफ्रिकाबाट १०, एसियाबाट ९, उत्तर तथा दक्षिण अमेरिकाबाट ६-६ र ओसियाबाट १ टोली सहभागी छन्। यस संस्करणमा उज्वेकिस्तान, जोर्डन, केप भर्डे र कुराकाओले पहिलो पटक विश्वकप खेल्दै नयाँ इतिहास रचेका छन्। विश्वकपमा सहभागी खेलाडीहरूको संख्या पनि बढेर १ हजार २४८ पुगेको छ। पोर्चुगलका क्रिस्टियानो रोनाल्डो र अर्जेन्टिनाका लियोनल मेसी कीर्तिमानी छैटौँ पटक विश्वकप खेल्दै छन् भने नयाँ पुस्ताका स्टारहरू लामिन यामाल, एर्लिङ हालान्ड र केलियन एमबाप्पेमाथि पनि समर्थकहरूको विशेष नजर रहनेछ।

साविक विजेता अर्जेन्टिना उपाधि रक्षा गर्ने लक्ष्यमा छ भने फ्रान्स, स्पेन, ब्राजिल, इंग्ल्यान्ड, पोर्चुगल र नेदरल्यान्ड्सलाई पनि प्रमुख दाबेदारका रूपमा हेरिएको छ। विश्व फुटबलका अर्बौँ समर्थकको ध्यान केन्द्रित भएको यस प्रतियोगिताले नयाँ कीर्तिमान, नयाँ नायक र नयाँ इतिहास जन्माउने अपेक्षा गरिएको छ।

फिफाले यसपटक विश्वकपका लागि कीर्तिमानी ६५५ मिलियन अमेरिकी डलर पुरस्कार राशि निर्धारण गरेको छ। विजेता टोलीले ट्रफीसहित ५० मिलियन अमेरिकी डलर प्राप्त गर्नेछ। विश्व फुटबलको महाउत्सव मानिने फिफा विश्वकप २०२६ ले आजबाट विश्वभरका करोडौँ समर्थकलाई एकै सूत्रमा बाँध्दै फुटबलको नयाँ अध्याय सुरु गर्नेछ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रिक्रिया दिनुहोस्