अछामकाे रामाराेशन (एक चिनारी)

मान सिंह धामी
अछाम जिल्लाको रामारोशन गाउँपालिका अवस्थित याे अति नै सुन्दर रमणीय पर्यटकीय स्थल हो । बाह्र वण्ड, अठार खण्डका नामले चिनिने यो क्षेत्रमा बाह्रवटा तालहरू र अठारवटा ठुलाठुला चउरहरू रहेकाछन् । प्राकृतिक रुपले सुन्दर हराभरा विभिन्न प्रजातिका वनस्पति तथा लालीगुराँस लगायतका फूलहरू, ताल तथा ठुलाठुला चउरहरूले भरीभराउ रामाराेशन क्षेत्र पर्यटकीय दृष्टीकोणले पनि अत्यन्तै रमणीय स्थलकाे रुपमा रहेकाे स्वर्गकाे एक टुक्रा समान छ भन्दा अतिशयाेक्ति नहाेला ।
दार्चुला जिल्लाकाे राष्ट्रकै साता‌ैं धाम शैल्य शिखर धुरा (पर्वत), उकु महल, शंकरपुर पस्तीकाे सुन्दर रमणीय स्थलहरू, सिप्टी गाउँ, हिकिला गाउँ तथा खप्तड, अछामकाे रामाराेशन क्षेत्र स्वर्गभन्दा कम छैनन् भन्दा पाठकले अलि बढाई चढाई गरेकाे आराेप पाे लगाउने हुन कि ? तर हाम्राे देशकाे धर्ती माताकाे जति वयान गर्दा पनि पूर्णतादिने शब्दहरूकाे अभाव लेखकले महसुस गरेकाे छ । यो ठाउँमा बाह्र प्रकारका राष्ट्रिय फूल लालीगुराँस र नेपालको राष्ट्रिय चरा डाँफे पाइन्छ । बाह्रवटा तालहरूमा सबैभन्दा ठुलो ताल जिगाले ताल हो । जुन बाटुले ताल भन्दा अली माथी रहेकाे छ । यहाँको सानो तालमा ताउने ताल हो । यो ताल हाल पुरिने अवस्थामा रहेकाे प्रत्यक्षदर्शीहरू वताउँछन् । जिगाले ताल भन्दा माथिपनि धेरै तालहरु रहेकाछन । यो ताल भन्दा केहि परपट्टी ठुलाठुला चउर (पाटन) हरू रहेकाछन । जून अठार खण्डका नामले प्रख्यात छन । यस्ता चउरहरु मध्येमा किनेमिने चउर सबैभन्दा ठुलो चउर हो । जसको बीच भएर कैलाश खोला बग्दछ । यो अछामकै सबैभन्दा ठुलो चउर हो । यसको केहि माथी पट्टी रोशन चउर रहेकाेछ ।
अछाम जिल्लामा अवस्थित रामाराेशनकाे चित्रण गर्दैगर्दा उक्त क्षेत्रकाे संक्षिप्त चिानारी सहित थाेरै भाैगाेलिक अवस्थिति पनि याे लेखमा समावेशगर्नु सान्दर्भिक हाेला जस्ताे लागेर मैले विभिन्न पुस्तकहरूकाे अध्ययन, गुगल, युट्युव अादिबाट साभार गरेर यसमा समावेश गर्न गइरहेकाे छु ।
रामाराेशन क्षेत्र समुद्र सतहदेखि २०५० देखि ३७९२ मिटर उचाईमा फैलिएको ऐतिहासिक, प्राकृतिक सौन्दर्यता, आध्यात्मिक र जैविक विविधताले भरिपूर्ण सुन्दर बगैचा हो । कैलाश खोलाको मुहान रहेको रामारोशनमा प्रसस्तै गुफा र झरनाहरू पनि छन् । साथै विभिन्न जंगली जनावर र पंक्षीहरूको बास्थानसमेत रहेको यस क्षेत्रमा थुप्रै मैदानहरू छन्, ती मध्ये मुख्य किनिमिनी, रामे र रोशन हुन् ।
रामाराेशनकाे चिनारी पढेर पाठकहरूलाई रामाराेशन नाम कसरी रहन गएछ ? भन्ने काैतुहलता मेटाउन विभिन्न किम्वदन्ती, लाेकश्रुति, उक्त क्षेत्रकाे बारेमा जानकारी राख्ने जानकारहरूका अनुसार रामाराेशन नाम रहनुकाे रहस्याेद्घाटन पनि गर्न चाहन्छु । विभिन्न धार्मिक, पर्यटकीय स्थलहरूकाे नाम रहनुकाे कुनै अाधिकारीक प्राचीन लिखित दस्तावेजहरू त सायद भेटिदैनन् पनि हाेला । यस्ता गाउँहरूकाे नाम किम्वदन्ती, भक्तिगाथा, लाेकश्रुतिलाई नै अाधार मानेर यस्ताे नाम रहेकाे हाे वा हुन सक्छ भनेर लेखिने गरेकाे छ ।
महादेव र पार्वतीको वासस्थानका रूपले चिनिने यो क्षेत्रमा प्राचीन समयमा रमा र रोशन नाम भएका आमा र छोरा बस्थे । उनीहरू यही बसेर गाई,बाख्रा पाल्ने गर्थे । एक दिन रमा र रोशन दुवै गोरु बाध्ने छानाबाट बेलुका अध्यारो भइसकेको बेला घर फर्कि रहेका थिए । बाटोमा एउटा ठुलो राक्षस कराई राखेको थियो । जून अतिनै भयानक र हिंस्रक थियो र भेट्यो भने मान्छे मारेर खान्थ्यो र मानिसहरूलाई सधैजसो दुःखदिई राखथ्यो । सो राक्षसको आवाज सुनेर डरले काप्न थाले र छिटोछिटो उनीहरू माथी शिव र पार्वती बस्ने ठाउँ गए र राक्षस पछाडि उनीहरूलाई पच्छायाउदै थियो ।उनीहरूले शिव पार्वतीको धेरै ठूलो पुकार गर्दै गुहार गुहार मागे र शिव पार्वती प्रसन्न भै प्रकट हुनु भयो । रमा, रोशनलाई किन मलाई पुकारेको मनुष्य भनेर सोध्नु भयो । महादेवलाइ देखेर रमा र रोशन खुसी भए र हाम्रो ज्यान खतरामा परेकाे कुरा खुलासा गरे । एउटा राक्षसले हामीलाई पच्छायाउदै छ ।हजुरले हामीलाई बचाई दिनु पर्यो भनेर बिन्तीभाव गरे । बिन्ती सुनेर महादेव प्रसन्न भै सो राक्षसलाई समाती ठुलो फलामको डोरीले ठुलो चउरमा बाधि दिनुभयो र त्यसचौरमा पानीभरी दिनु भयो । जसले गर्दा त्यो राक्षस हलचल गर्न पाएन र रमा र रोशनले सदाकालागि सो राक्षसबाट मुक्ति पाए र कालान्तरमा सो ठाऊँ रमारोशन भनेर चिनिन थाल्यो । रामाराेशन सम्बन्धी अर्काे किम्वदन्ती अनुसार रामे र राेशन आमा छाेरा नभएर दाजुभाइ थिए भन्ने कहावत पनि छ ।
क्रमश : …
मान सिंह धामी
उप-प्रध्यापक
कैलाली बहुमुखी क्याम्पस, धनगढी
स्थायी ठेगाना :-
मालिकार्जुन गाउँपालिका हुनैना -४
गाेठ्युडी (भाैनबाटा), दार्चुला

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्