काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले सामाजिक सञ्जाल फेसबुकमा साझा गरेको अपी हिमाल बेस क्याम्पको भिडियो क्लिप यतिबेला व्यापक चर्चामा छ। अपी हिमालको काखमा युवाहरू क्रिकेट खेलिरहेको दृश्य समेटिएको भिडियोमा प्रधानमन्त्री शाहले आफ्नै र्यापसमेत समावेश गरेपछि उक्त भिडियो सामाजिक सञ्जालमा भाइरल बनेको हो। प्रधानमन्त्रीको पोस्टसँगै सुदूरपश्चिमको प्रमुख पर्यटकीय गन्तव्य अपी हिमालको चर्चा देशभर चुलिएको छ। अपिहिमाल गाउँपालिकाका अध्यक्ष भगतसिंह ठेकरे बोहराले प्रधानमन्त्री शाहले भिडियो सार्वजनिक गरेर क्षेत्रको पर्यटन प्रवर्द्धनमा महत्वपूर्ण योगदान पुर्याएको भन्दै आभार व्यक्त गर्नुभएको छ।
अध्यक्ष बोहराले प्रधानमन्त्री शाहलाई अपी हिमाल भ्रमणका लागि औपचारिक निमन्त्रणासमेत दिनुभएको छ। “प्रधानमन्त्रीज्यूले अपी हिमालको प्रचार–प्रसार गरेर ठूलो गुन लगाउनुभएको छ। हामी अपीवासी उहाँलाई यहाँ स्वागत गर्न आतुर छौं,” उहाँले बताउनुभयो। दार्चुलाको अपिहिमाल गाउँपालिकामा अवस्थित ७ हजार १३२ मिटर अग्लो अपी हिमाल नेपालको पश्चिमोत्तर क्षेत्रको महत्वपूर्ण प्राकृतिक सम्पदा मानिन्छ। यद्यपि हिमालमा नियमित आरोहण नभए पनि करिब ४ हजार मिटर उचाइमा रहेको अपी हिमाल बेस क्याम्प पर्यटकका लागि आकर्षक गन्तव्य बनेको छ।
गाउँपालिका अध्यक्ष बोहराका अनुसार अपी हिमाल बेस क्याम्पमा वार्षिक पाँच हजारभन्दा बढी पर्यटक पुग्ने गरेका छन्। हाल दैनिक २० देखि २५ जनासम्म पर्यटक आउने गरेका छन्, जसमा अधिकांश आन्तरिक पर्यटक रहेका छन् भने विदेशी पर्यटकको संख्या न्यून छ। धनगढी, बुटवल, पोखरा, काठमाडौं तथा पूर्वी नेपालका विभिन्न जिल्लाबाट पर्यटकहरू अपी क्षेत्रको भ्रमणमा पुग्ने गरेका छन्। हरियाली पाटन, घना वनजंगल, स्वच्छ खोला–झरना, मनोरम हिमशृंखला तथा पदयात्राका क्रममा भेटिने स्थानीय संस्कृति, रहनसहन र भाषिक विविधता यस क्षेत्रका प्रमुख आकर्षण हुन्।
प्रधानमन्त्री शाहको पोस्टपछि अपी हिमालको पर्यटन सम्भावना र प्राकृतिक सौन्दर्यबारे देशव्यापी चासो बढेको स्थानीय सरोकारवालाहरूको विश्वास छ। यसले आगामी दिनमा सुदूरपश्चिमको पर्यटन प्रवर्द्धनमा थप टेवा पुग्ने अपेक्षा गरिएको छ। उक्त भिडियो क्लिप फोटो ग्राफर तथा भिडियो ग्राफर हिमालय भट्टले कैद गरेका थिए ।





