१५औँ महाधिवेशनको तयारीमा जुट्न कांग्रेसको विदेशस्थित जनसम्पर्क समितिलाई निर्देशन

काठमाडौं – नेपाली कांग्रेसले विदेशस्थित आफ्ना सबै नेपाली जनसम्पर्क समितिहरूलाई १५औँ महाधिवेशनको तयारी तथा क्रियाशील सदस्यता अद्यावधिक कार्यलाई तीव्रता दिन निर्देशन दिएको छ। पार्टीका महामन्त्री तथा सदस्यता व्यवस्थापन केन्द्रीय समितिका संयोजक प्रदीप पौडेलले जारी गरेको परिपत्रमार्फत जनसम्पर्क समितिहरूलाई सदस्यता नवीकरण, नयाँ क्रियाशील सदस्यता वितरण तथा लेभी रकम बुझाउने लगायतका कार्य समयमै सम्पन्न गर्न आग्रह गरिएको हो।

परिपत्रअनुसार अधिवेशन गर्न बाँकी रहेका जनसम्पर्क समितिहरूले नवीकरण तथा नयाँ क्रियाशील सदस्यताको विवरण आगामी असार १० गतेभित्र केन्द्रीय अनलाइन प्रणालीमा प्रविष्ट गरिसक्नुपर्नेछ। यस्तै, अधिवेशन सम्पन्न गरिसकेका समितिहरूलाई साउन मसान्तसम्म विवरण अद्यावधिक गर्ने समयसीमा दिइएको छ। कांग्रेसले १५औँ महाधिवेशनका लागि विदेशस्थित जनसम्पर्क समितिहरूको प्रतिनिधित्व सम्बन्धी नयाँ व्यवस्था लागू गरेको जनाएको छ। पार्टी विधान तथा नियमावलीअनुसार क्रियाशील सदस्य सङ्ख्याका आधारमा महाधिवेशन प्रतिनिधि र महासमिति सदस्यको सङ्ख्या निर्धारण गरिनेछ।

यसका साथै, जनसम्पर्क समितिका सदस्यहरूमध्येबाट महाधिवेशनमा पर्यवेक्षकका रूपमा सहभागी गराउने व्यवस्था पनि गरिने भएको छ। पर्यवेक्षकको सङ्ख्या सम्बन्धित समितिको सदस्य सङ्ख्याका आधारमा केन्द्रीय कार्यसमितिले निर्धारण गर्ने जनाइएको छ। परिपत्रमा क्रियाशील सदस्यता शुल्क तथा जनसम्पर्क समितिका पदाधिकारी र सदस्यहरूको लेभी रकम अनिवार्य रूपमा पार्टीको केन्द्रीय खातामा जम्मा गर्नुपर्ने उल्लेख गरिएको छ। केन्द्रीय अनलाइन प्रणालीमा प्रविष्ट गरिएको सदस्य सङ्ख्याअनुसारको शुल्क बुझाउनुपर्ने व्यवस्था गरिएको छ।

त्यस्तै, केन्द्रीय सदस्यता व्यवस्थापन समितिबाट नामावली स्वीकृत भएपछि मात्रै जनसम्पर्क समितिले बैठक बसी अधिवेशनको मिति तय गर्नुपर्ने र स्वीकृतिका लागि उक्त मिति केन्द्रीय कार्यालयमा पठाउनुपर्ने वैधानिक व्यवस्था पालना गर्न पनि कांग्रेसले निर्देशन दिएको छ। पार्टीले १५औँ महाधिवेशनलाई व्यवस्थित, प्रतिनिधिमूलक र समयमै सम्पन्न गर्ने उद्देश्यले विदेशस्थित संगठनहरूलाई आवश्यक तयारीमा जुट्न आग्रह गरेको जनाएको छ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रिक्रिया दिनुहोस्