काठमाडौं – नेपाल सरकार, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले सार्वजनिक खरिद पुनरावलोकन समितिमा रिक्त रहेका अध्यक्ष तथा सदस्य पदका लागि दरखास्त आह्वान गरेको छ। कार्यालयले सार्वजनिक सूचना जारी गर्दै समितिको एक अध्यक्ष र दुई सदस्य पदमा नियुक्तिका लागि योग्य नेपाली नागरिकबाट आवेदन माग गरेको हो। सार्वजनिक खरिद ऐन, २०६३ को दफा ४८ बमोजिम पदपूर्ति गर्न लागिएको जनाइएको छ।
सूचनाअनुसार इच्छुक उम्मेदवारले सूचना प्रकाशित भएको मितिले सात दिनभित्र काठमाडौंको केशरमहलस्थित सार्वजनिक खरिद अनुगमन कार्यालयमा आवेदन पेश गर्नुपर्नेछ। उम्मेदवारले सार्वजनिक खरिद ऐनमा तोकिएको योग्यता तथा अनुभव हासिल गरेको हुनुपर्नेछ। साथै कुनै विदेशी मुलुकको नागरिकता, स्थायी वा अस्थायी आवासीय अनुमति नलिएको तथा प्रचलित कानुनअनुसार अयोग्य घोषित नभएको व्यक्ति हुनुपर्ने व्यवस्था गरिएको छ।
कार्यालयले प्राप्त आवेदनमध्येबाट योग्य उम्मेदवारको संक्षिप्त सूची तयार गरी प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमार्फत मन्त्रिपरिषद्मा पेश गर्नेछ। सोही सूचीका आधारमा मन्त्रिपरिषद्ले अध्यक्ष तथा सदस्य नियुक्त गर्ने प्रक्रिया अघि बढाइने जनाइएको छ। सार्वजनिक खरिदसम्बन्धी विवाद तथा पुनरावलोकनका विषयमा महत्वपूर्ण भूमिका खेल्ने समितिमा नयाँ नेतृत्व चयन प्रक्रिया सुरु भएसँगै सम्बन्धित क्षेत्रका अनुभवी तथा योग्य व्यक्तिहरूलाई आवेदन दिन आह्वान गरिएको छ।







