काठमाडौं । नेपालको धितोपत्र बजारमा कृत्रिम कारोबारमार्फत मूल्य चलखेल गरेको आरोपमा दीपक भट्ट, सुलभ अग्रवाल, शेखर गोल्छालगायत व्यक्तिविरुद्ध एकै दिन तीन फरक अदालतमा मुद्दा दायर गरिएको छ।
जिल्ला अदालत काठमाडौं, उच्च अदालत पाटन र विशेष अदालतमा बुधबार छुट्टाछुट्टै मुद्दा दायर गरिएको हो। जिल्ला अदालत काठमाडौंमा बीमा ऐन, २०७९ अन्तर्गत आर्थिक हिनामिनाको अभियोगमा गोल्छा, भट्ट, अग्रवालसहित ४२ जनाविरुद्ध मुद्दा दर्ता गरिएको छ। त्यस्तै धितोपत्र सम्बन्धी ऐन, २०६३ अन्तर्गतको कसुरमा ८१ जनाविरुद्ध अर्को मुद्दा पनि दायर गरिएको छ।सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले दीपक भट्ट र सुलभ अग्रवालविरुद्ध विशेष अदालतमा सम्पत्ति शुद्धीकरण सम्बन्धी मुद्दा दायर गरेको छ। यस्तै उच्च अदालत पाटनमा दीपक भट्ट, साहिल अग्रवाल, सुलभ अग्रवाल र शंकरलाल अग्रवालविरुद्ध बैंकिङ कसुरसम्बन्धी मुद्दा दर्ता गरिएको छ।
अनुसन्धान निकायका अनुसार प्रतिवादीहरूले संगठित रूपमा धितोपत्र बजारमा कृत्रिम कारोबार गरी सेयर मूल्यमा अस्वाभाविक उतारचढाव ल्याउने तथा लगानीकर्तालाई प्रभावित पार्ने गतिविधि गरेको आरोप छ।हाल प्रतिवादीमध्ये दीपक भट्ट र सुलभ अग्रवाल सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको हिरासतमा रहेका छन्। साहिल अग्रवाल फरार छन् भने शंकरलाल अग्रवाल अनुसन्धानका क्रममा पक्राउ परेपछि हाजिरी जमानीमा रिहा भएका थिए। शेखर गोल्छा भने सर्वोच्च अदालतको आदेशपछि बन्दी प्रत्यक्षीकरण रिटमार्फत रिहा भएका छन्।
धितोपत्र बजारमा भएको भनिएको संगठित चलखेल, बैंकिङ कसुर तथा सम्पत्ति शुद्धीकरणसम्बन्धी आरोपसँग जोडिएको यो प्रकरण पछिल्लो समय नेपालको वित्तीय क्षेत्रकै चर्चित मुद्दाका रूपमा हेरिएको छ।






