काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष तथा प्रतिनिधिसभा सदस्य हर्क साम्पाङले भारतीय सशस्त्र सीमा बल (एसएसबी) ले पश्चिम नवलपरासीको सुस्ता गाउँपालिका–५ स्थित थारु टोल क्षेत्रमा नेपाली नागरिकमाथि गरेको भनिएको हप्कीदप्कीप्रति सरकारको ध्यानाकर्षण गराउनुभएको छ।
प्रतिनिधिसभाको आजको बैठकमा बोल्दै सांसद साम्पाङले सामाजिक सञ्जालमा सार्वजनिक भएको भिडियोमा एसएसबीका सुरक्षाकर्मीहरूले नेपाली नागरिकलाई दुर्व्यवहार गरेको देखिएको उल्लेख गर्दै यस विषयमा सरकारको स्पष्ट धारणा माग गर्नुभयो। उहाँले रक्षामन्त्रीले संसद्मा उपस्थित भएर तत्काल जवाफ दिनुपर्ने आवश्यकता औँल्याउनुभयो।
साम्पाङले सीमाक्षेत्रमा नेपाली सेनाले अनुगमन तथा अवलोकन गर्न नपाउने कुनै सन्धि वा सम्झौता भएको भए त्यससम्बन्धी विवरण संसद्लाई उपलब्ध गराउन सरकारसँग माग गर्नुभयो। “नेपाल सरकारको रक्षामन्त्री को हुनुहुन्छ ? सुस्तामा एसएसबी आएर नेपाली दाजुभाइलाई हप्कीदप्की गरिरहेका भिडियो सार्वजनिक भएका छन्। प्रधानमन्त्री संसद्मा आउनुहुन्न, सभामुखले रुलिङ गरेर रक्षामन्त्रीलाई ल्याउनुपर्यो,” उहाँले भन्नुभयो।
उहाँले सीमाको रक्षा र राष्ट्रिय स्वाभिमानको विषयमा सरकार गम्भीर नभएको आरोप लगाउँदै नेपाली नागरिकले आफ्नै भूमिको संरक्षणका लागि एक्लै संघर्ष गर्नुपर्ने अवस्था सिर्जना हुनु दुःखद भएको बताउनुभयो। सीमा क्षेत्रमा देखिएका यस्ता घटनाबारे सरकारले तत्काल छानबिन गरी आवश्यक कूटनीतिक तथा प्रशासनिक पहल गर्नुपर्ने उहाँको माग छ।
सुस्ता क्षेत्र नेपाल–भारत सीमासम्बन्धी संवेदनशील क्षेत्रका रूपमा चिनिन्छ, जहाँ बेला–बेलामा सीमा सुरक्षा र भूमि अतिक्रमणसम्बन्धी विवाद उठ्ने गरेका छन्।






