दोरम्बा शैलुङ गाउँपालिकाको विभिन्न पक्षहरुको विश्लेषण

यान प्रसाद ढुङ्गेल, शिक्षक
श्री कालिका मा.वि.
दोरम्बा–६,रामेछाप

नेपालको संघिय राजधानीमा रहेको दोरम्बा शैलुङ गाउँपालिका वागमती प्रदेश रामेछाप जिल्लामा अवस्थित ८ वटा स्थानीय तहहरु मध्ये एक महत्वपूर्ण ऐतिहासिक गाउँपालिका हो। यसको कार्यालय दोरम्बा ३ थामचौरमा रहेको छ ।दोरम्बा गाउँपालिकाको उत्तरमा दोलखा, दक्षिणमा सिन्धुली, पश्चिममा काभ्रेपलान्चोक, पूर्वमा ओखलढुंगा र सोलुखुम्वु जिल्ला रहेका छन् । रामेछाप जिल्ला २७ डिग्री २८’ उत्तरी अक्षांश देखि २७डिग्री ५०’ उत्तरी र ८५डिग्री ५०’ पूर्वि देशान्तर देखि ८६डिग्री ३५’ पूर्वतिर अवस्थित छ । यस गाउँपालिका समुद्री सतहदेखि ७१५ मिटर देखि ३१३८ मिटर सम्मको उचाइमा अवस्थित छ । यसको भौगोलिक अवस्था २७ डिग्रि २८ मिनेट ४१ सेकेन्ड देखि २७ डिग्रि ३६ मिनेट ५२ सेकेन्ड उत्तरी अक्षांश र ८५ डिग्रि ४९ मिनेट २७ सेकेन्ड देखि ८६ डिग्रि १ मिनेट ३० सेकेन्ड पूर्वि देशान्तरमा अवस्थित छ । दोरम्बा गाउँपालिका डडुवा, दोरम्वा, टोकरपुर, गौश्वरा, गुन्साल, लखनपुर रिष्ठे र थापागाउँ गरी ७ वटा वडाहरु रहेका छन् । यस गाउँपालिकामा सुन्दर पर्यटकीय स्थलहरु शैलुङ, अग्लेश्वरी, सानो शैलुङ, कण्ठेश्वरी मन्दिर, छायाँश्वरी मन्दिर, ब्रम्हाविष्णु मन्दिर, कामधेनु मन्दिर, गुराँसे देवी मन्दिर, टासी छोयलिङ गुम्वा, प्राणेश्वर गुम्वा लगायत थुप्रै ऐतिहासिक स्थलहरु र सुन्दरताहरु रहेका छन् । यस गाउँपालिकामा विभिन्न जातजातिहरु तमाङ, नेवार, मगर,शेर्पा, दलित, व्राम्हण, क्षेत्री लगायतका विभिन्न जातजातिका मानिसहरु वसोवास गर्छन् । यहाँ चौरीखोला, घट्टेखोला, राउतेखोला, लेदे खोला धोवी खोला आदि पानीका स्रोतहरु रहेका छन् । जुन खोलाहरु वर्षातमा उर्लेर आउने र हिउँदमा सुक्ने गरेका छन् । यस पालिकाको धेरेजसो भुभाग हरियाली रहेको छ । महाभारतको अग्लो टाकुरा शैलुङको नामवाट यस पालिकाको नाम दोरम्बा शैलुङ गाउँपालिका राखिएको हो । यहाँ कृषि उत्पादनहरु खाद्यवाली अन्तर्गत धान,मकै,कोदो गहु,फापर आदि फल्दछन्। नगदेवाली अन्तर्गत आलु, तोरी, फापर, सुन्तला, जुनार, किवि, आभाकाडो, कागती, अलैची, अदुवा, वेसार आदि उपजहरु फल्दछन् । यहाँका जंगलहरुमा विभिन्न वनस्पतिहरु साल, सल्ला, सिमल, पयूँ, जामुना, चिलाउने, उतिस, ओखर, गुरास, बाँस, निगाला, धुपी, लगायतका वनस्पतिहरु पाइनुका साथै जडिवुटिहरु घोडताब्रे, रिट्ठा, चिउरी, निम, पाँचऔले, जटामसी आदि जडिवुटिहरु पाइन्छन् । जंगलमा वाघ, स्याल, ब्वासो, वानर, खरायो, हरिण, मृग, कालिज, चितुवा, आदि जंगली जनावरहरु पाइन्छन् ।

आर्थिक विकासको सम्भावना
संघिय राजधानी काठमाडैदेखि लगभग १०० कि.मि. को दुरीमा रहेको यस गाउँपालिकामा आर्थिक विकासका थुप्रै सम्भावनाहरु रहेका छन् ।
पर्यटन क्षेत्रको विकास यस गाउँपालिकामा भएका सुन्दर ठाउँहरुमा भएको सुन्दरताको पहिचान गरी ती ठाउँहरुको विश्वभरी प्रचारप्रसार गरेर आएका आगन्तुकहरु घुम्नको लागि आवश्यक मनोरञ्जन केन्द्रहरुको स्थापना गरेर त्यहाँ वसोवास गर्ने मानिसहरुलाई पर्यटकको सेवासुविधा गर्न चाहिने आवश्यक तालिम सञ्चालन गरी पर्यटन क्षेत्रको विकास गर्न सकेमा त्यहाँका धेरै मानिसहरुले होटल, रेष्टुरेन्ट, गेष्ट हाउस, टुरिष्ट गाइड, पोटर आदि जस्ता रोजगारी प्राप्त गरी त्यस क्षेत्रको आर्थिक विकास गर्न सकिन्छ ।

उचित हावापानी अनुसारको कृषि उत्पादन

यस गाउँपालिकाको अधिकांश भूभाग उच्च पहाडी क्षेत्रमा पर्दछ । हावापानी अनुसार यहाँ फलफूल खेती प्रशस्त मात्रामा हुने सम्भावना छ । उच्च पहाडी क्षेत्रहरु गौश्वारा, पासेवन, सानो सैलुङ, खारपानी, गुराँसे आसपास, दोरम्वा प्राथमिक अस्पताल आसपासको भूभाग र डडुवा आदि क्षेत्रहरुमा स्याउ र चिया खेतीको प्रशस्त सम्भावना रहेको छ । त्यसैगरी ति क्षेत्रहरुमा अर्गानिक आलु खेती पनि गरिन्छ । त्यस्तै पुँडिघ्याङ, थापागाउँ, डोब्ला, जागु, कामागाउँ क्षेत्रहरुमा प्रशस्त सुन्तला र कागतीको सम्भावना रहेको छ भने अन्य क्षेत्रहरुमा किवि आभोकाडो स्टेवरी आदि जस्ता फलफुलहरुको प्रशस्त सम्भावना रहेको छ । यी सवै क्षेत्रहरुमा कृषि उत्पादन ब्यावसायिक ढंगमा गरी यस गाउँपालिकामा भएको खोल्सा, चिस्यान भएका क्षेत्रहरुमा अलैची र किसानहरुलाई नगदेवाली अदुवा, वेसार,लसुन जस्ता वालीहरु व्यावसायिक रुपमा लगाउन उत्प्रेरित गरेर स्थानीय सरकारले किसानहरुलाई आवश्यक पर्ने कृषि तालिम, मल, विउ, किटनाशक औषधी समयमै उपलब्ध गराएर ब्यावसायिक कृषि गर्न सकेमा यसवाट पनि धेरैमात्रामा रोजगारी सृजना गर्न सकिन्छ । यस क्षेत्रका विभिन्न ठाउँहरुमा बाख्रापालन, भैसीपालन, वंगुरपालन, चौरीपालन, कुखुरापालन आदि भैरहेका छन यस्ता ब्यावसायिक कृषकहरुको उचित तरिकाले संरक्षण गर्न सके संघिय सरकारवाट नै संविधानमा व्यावसायिक कृषकहरुको लागि कृषि पेन्सनको उपयुक्त नीति वनाएर हाम्रो स्थानीय सरकारले त्यसलाई कार्यान्वयन गरी काम गरेमा यहाँ प्रशस्त मात्रामा रोजगारी सृजना भई यस क्षेत्रको मानिसको जीवनस्तर सुधार हुनुकोसाथै यस क्षेत्रको समग्र विकास हुन सक्छ ।

विकासका पूर्वाधारको विकास
यस क्षेत्रको विकासको लागि आवश्यक पर्ने विकासका पूर्वाधारहरु सडक, खानेपानी, विजुली, स्वास्थ्य, शिक्षा, सिंचाई ,सञ्चार आदि क्षेत्रहरुको उपयुक्त तरिकाले दिगो विकासको अवधारणाअनुसार विकास गर्नुपर्दछ । आर्थिक विकासको मेरुदण्ड सडक हो, सवैभन्दा पहिला यस क्षेत्रलाई संघिय राजधानी काठमांडौ र जिल्ला सदरमुकाम मन्थलीसँग पक्की सडकले जोड्नु पर्दछ । विकासको नाममा एउटै वाटोलाई सधैभरी बनाइराख्ने नभई दिगो विकासको अवधारणा अनुसार दिर्घकालिन योजना बनाएर स्थानीय तह भएको ठाउँसम्म यातायातको साधनको प्रयोग गरेर सजिलैसँग प्रत्येक वडाहरु आइपुग्ने व्यवस्थित वाटो वनाउनुपर्दछ । विकासको काम गर्दा हाम्रो जस्तो विकासको गतिमा अगाडी बढेको देशले मेशिनको प्रयोग नगरी स्थानी श्रमको प्रयोग गरेर विकासको कामहरु अगाडि बढाउनु पर्दछ । जसले गर्दा आफ्नै ठाउँमा रोजगारीको अवसर सिर्जना भई गरिवी निवारण हुनुको साथै आम्दानीमा वृद्दि भई मानिसको जीवनस्तरमा सुधार हुन्छ । त्यस्तैगरी प्रत्येक वडामा सुविधायुक्त हस्पताल निर्माण गर्नुको साथै व्यावसायिक शिक्षा प्रदान गर्नुपर्दछ ।युवा पलायन रोक्नको लागि युवा स्वरोजगार कार्यक्रमलाई प्राथमिकता दिनुपर्दछ । आफ्नो क्षेत्रमा भएका खनिज पदार्थहरुको उत्खनन गरी रोजगारीको अवसर सिर्जना गर्नु पर्दछ ।यसरी विकासका सम्पूर्ण पूर्वाधार हरुको व्यवस्थित विकास गरी आर्थिक विकास गर्न सकिन्छ ।

गुणस्तरीय शिक्षाको विकास
गुणस्तरीय शिक्षा आर्थिक विकासको संवाहक हो । हाम्रो देशमा शिक्षा सामुदायिक र नीजि विद्यालयहरुवाट दिइन्छ ।सामुदायिक विद्यालयहरुमा विद्यालय तहदेखि क्याम्पसम्म विभिन्न थरीका शिक्षकहरुको व्यवस्था गरिएको छ । देश विकासको लागि आवश्यक पर्ने जनशक्ति विकास गर्ने शिक्षकहरुलाई राज्य र समाजले हेर्ने दृष्टिकोण फरक पाईन्छ । शिक्षाको गुणस्तर कायम गर्नको लागि शिक्षक विद्यार्थी र अभिभावक वीचमा नङ र मासुको जस्तो सम्वन्ध हुनुपर्दछ । शिक्षकहरुको वीचमा राज्यवाट भएको विभेद एकातिर छ भने समाज र आफ्नै सहपाठीवाट हुने विभेद अर्कोतर्फ छ । जव सम्म यस्तो प्रकारको विभेद अन्त्य गर्न सकिदैन तवसम्म गुणस्तरीय शिक्षा कायम गर्न सकिदैन । नेपालको संविधान २०७२ भाग ३ मौलिक हक अन्तर्गत धारा ३३ मा रोजगारीको हकको ब्यवस्था गरिएको छ ।देशमा सम्पुर्ण क्षेत्रमा भएका रोजगारीमा संलग्न शिक्षक तथा कर्मचारीहरु र अन्य क्षेत्रमा रहेका श्रमिकहरुको रोजगारीको सुनिश्चितता सरकारले गर्नुपर्दछ भने जुन शिक्षक तथा कर्मचारीहरु जुन तहमा कार्यरत छन त्यही तहमा उमेर हदसम्म सरकारी सेवा सुविधा सहितको रोजगारीको सुनिश्चितता गर्नुपर्दछ र स्थायी हुन चाहनेलाई विभिन्न सेवा आयोग मार्फत प्रतिस्पर्धा गरी स्थायी सेवामा प्रवेश गराउनुपर्दछ र वेरोजगार युवा शक्तिलाई नयाँ रोजगारीको अवसर सिर्जना गरिनुपर्दछ । जव एउटा श्रमिक आफ्नो कामप्रति सन्तुष्टि हुन्छ तब मात्र उसले गुणस्तरीय उत्पादन निकाल्न थाल्दछ, त्यसैले प्रत्येक व्यक्तिलाई रोजगारीको सुनिश्चितता गरी वेरोजगार श्रमशक्तिलाई रोजगारीको अवसर सिर्जना गर्नुपर्दछ । शिक्षा क्षेत्रमा भएका विभेद अन्त गरी विभिन्न तहमा कार्यरत शिक्षक तथा कर्मचारीहरुको सेवा सुरक्षाको अनुभुति गराइनु पर्दछ भने अर्कोतर्फ कार्यरत शिक्षक तथा कर्मचारीहरुले जागिरे मानसिकतालाई हटाएर आफ्नो कार्यप्रति कर्तब्य वोध गरी काम गर्नुपर्दछ । यसरी सरकारी निकाय, अभिभावक, विद्यार्थी र शिक्षकहरुको विचमा घनिष्ठ सम्वन्ध कायम गरी गुणस्तरीय शिक्षा प्रदान गर्न सकिन्छ । जसले विश्व वजारमा प्रतिस्पर्धा गर्न सक्ने दक्ष जनशक्ति उत्पादन गरी रोजगारीको अवसर सिर्जना हुन्छ र समग्र क्षेत्रको आर्थिक विकास हुन सक्छ ।

 

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ?

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्