काठमाडौं, २२ असार । एग्रो थाई फुड्स प्रा. लि.द्वारा उत्पादित इनर्जी ड्रिंक्स ब्रान्ड एक्स्ट्रिम इनर्जी ड्रिंक्स नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको तेस्रो संस्करणका लागि सहभागी आठ फ्रेन्चाइज टोलीमध्ये छ टोलीको टाइटल स्पोन्सर बनेको छ।
कम्पनीका अनुसार नेपालमा आयोजना हुने खेलकुद प्रतियोगिताको इतिहासमा निजी क्षेत्रबाट भएको यो सम्भवतः सबैभन्दा ठूलो प्रायोजनमध्ये एक हो। कम्पनीले व्यावसायिक गतिविधिसँगै सामाजिक उत्तरदायित्वअन्तर्गत नेपाली खेलकुदको विकास, राष्ट्रिय पहिचान प्रवर्द्धन तथा खेलमार्फत सम्पूर्ण नेपालीलाई भावनात्मक रूपमा एकताबद्ध गर्ने उद्देश्यले उक्त लगानी गरेको जनाएको छ।
टाइटल स्पोन्सरसिप सम्झौता हुने टोलीहरूमा काठमाडौं गोर्खाज, चितवन राइनोज, जनकपुर बोल्ट्स, कर्णाली याक्स, पोखरा एभेन्जर्स र लुम्बिनी लायन्स रहेका छन्।
सम्झौताअनुसार एक्स्ट्रिम इनर्जी ड्रिंक्स सम्बन्धित टोलीहरूको तीन वर्षसम्म प्रमुख प्रायोजक रहनेछ। टोलीहरूको प्लेइङ जर्सीको अगाडिको प्रमुख स्थानमा कम्पनीको लोगो रहनेछ। यस सहकार्यले नेपाली क्रिकेटको व्यावसायिक विकास र लोकप्रियता विस्तारमा महत्वपूर्ण योगदान पुग्ने कम्पनीको विश्वास छ।
एक्स्ट्रिम इनर्जी ड्रिंक्सले यसअघि नेपाली महिला राष्ट्रिय क्रिकेट टोलीको प्रमुख प्रायोजन गरिसकेको छ। साथै क्रिकेट, फुटबल, भलिबल, म्याराथनलगायत विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलकुद प्रतियोगितामा पनि प्रायोजकका रूपमा सहभागिता जनाउँदै आएको छ।
दसैँपछि आयोजना हुने एनपीएलको तेस्रो संस्करणको सफलताको कामना गर्दै कम्पनीले आगामी दिनमा विभिन्न खेलकुद प्रतियोगिता, खेलाडीहरूको पेशागत तथा व्यावसायिक क्षमता अभिवृद्धि तथा खेल संस्कृतिको विकासमा निरन्तर लगानी गर्ने प्रतिबद्धता जनाएको छ। साथै प्रतियोगितामा सहभागी सम्पूर्ण टोली, खेलाडी तथा सम्बन्धित सबैलाई शुभकामना व्यक्त गरेको छ।




