काठमाडौं । ब्राजिलमा आयोजित २० वर्षमुनिको फुटबल प्रतियोगितामा रेफ्रीले एकै खेलमा ५१ वटा रातो कार्ड देखाएका छन्। यो घटनाले फुटबल इतिहासमै एक खेलमा सबैभन्दा धेरै रातो कार्ड देखाइएको कीर्तिमान कायम गरेको छ।
ब्राजिलको मिनास जेराइस राज्यमा जारी युथ च्याम्पियनसिपअन्तर्गत उबरल्यान्डिया र मामोरेबीचको खेलमा रेफ्रीले मैदानभित्र र बाहिर रहेका ५१ जनालाई रातो कार्ड देखाएका हुन्।
बीबीसीका अनुसार रातो कार्ड पाउनेमा ४३ जना खेलाडी र आठ जना प्रशिक्षक तथा अन्य प्राविधिक टोलीका सदस्य रहेका छन्।
खेलको दोस्रो हाफमा मामोरे ३–१ गोलले अगाडि रहेको अवस्थामा विवाद सुरु भएको थियो। मामोरेका खेलाडी डाभीले विपक्षी टोलीको बेन्चतर्फ फर्केर गिज्याउने तथा जिस्काउने इसारा गरेपछि विवाद चर्किएको थियो।
त्यसपछि उबरल्यान्डियाका गोलकिपिङ प्रशिक्षक मैदानभित्र प्रवेश गरी डाभीलाई धकेलेका थिए। त्यसलगत्तै दुवै टोलीका खेलाडी र प्रशिक्षकबीच हात हालाहाल सुरु भएको थियो। झडपका क्रममा कुर्सी र स्ट्रेचरसम्म प्रयोग गरेर हानाहान भएको समाचारमा उल्लेख छ।
स्थिति नियन्त्रणबाहिर गएपछि रङ्गशालामा थप क्षति हुन नदिन सैन्य प्रहरीलाई समेत मैदानमा बोलाउनुपरेको थियो। घटनापछि खेल रद्द गरिएको थियो।
यसअघि सन् २०११ मा अर्जेन्टिनाको पाँचौँ डिभिजनको फुटबल खेलमा रेफ्रीले ३६ वटा रातो कार्ड देखाएका थिए। ब्राजिलको पछिल्लो घटनाले उक्त कीर्तिमानलाई समेत उछिनेको छ।
फुटबलमा सामान्यतया खेलाडीले गम्भीर अनुशासनहीनता, हिंसात्मक व्यवहार वा खेलभावनाविपरीत गतिविधि गरेमा रातो कार्ड देखाउने गरिन्छ। तर एउटै खेलमा ५१ जनाले रातो कार्ड पाएको यो घटना असामान्य बनेको छ।




