एलपी ग्यास उद्योग गाभ्ने प्रक्रिया अघि बढाउँदै आयल निगम, ५८ ब्रान्ड घटाउने तयारी

काठमाडौँ – नेपाल आयल निगमले नेपालमा सञ्चालनमा रहेका एलपी ग्यास उद्योगहरूलाई एकआपसमा गाभ्ने प्रक्रिया अघि बढाएको छ। चालु आर्थिक वर्ष २०८३/०८४ को स्वीकृत नीति तथा कार्यक्रमअनुसार विभिन्न नाम र ब्रान्डमा सञ्चालन भइरहेका ग्यास उद्योगलाई गाभ्ने नीति कार्यान्वयन गर्न निगमले प्रक्रिया अघि बढाएको हो।

निगमले सबै ग्यास उद्योगलाई पत्राचार गर्दै गाभ्ने नीतिलाई प्रोत्साहन गर्न र आवश्यक कार्ययोजना बनाएर प्रक्रिया अघि बढाउन अनुरोध गरेको छ। खाना पकाउने ग्यासको बिक्री तथा वितरणलाई सहज बनाउनुका साथै उपभोक्ताको हित प्रवर्द्धन गर्न उद्योगहरू एकआपसमा गाभिन आवश्यक रहेको निगमले जनाएको छ।

एलपी ग्यास उद्योग सङ्घले पनि उद्योगहरू गाभ्ने विषयमा निगमको पत्र प्राप्त भएको र यसबारे छलफल भइरहेको जनाएको छ।

निगमका अनुसार हाल देशभर ५८ वटा ब्रान्डका एलपी ग्यास सञ्चालनमा छन्। धेरै ब्रान्ड हुँदा ग्यास अभावका बेला उपभोक्ताले सास्ती भोग्नुपर्ने अवस्था आउने भएकाले ब्रान्डको सङ्ख्या घटाउँदा बिक्री वितरण सहज हुने निगमको भनाइ छ।

उद्योगहरू गाभिएपछि ग्यासको आपूर्ति तथा वितरण प्रणाली व्यवस्थित हुने र अभावका समयमा उपभोक्तालाई सहज हुने अपेक्षासहित निगमले यो प्रक्रिया अघि बढाएको हो।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रिक्रिया दिनुहोस्