काठमाण्डौ गोर्खाजको पहिलो जित, कर्णाली याक्स चार विकेटले पराजित

काठमाडौँ – नेपाल प्रिमियर लिग (एनपीएल) मा काठमाण्डौ गोर्खाजले कर्णाली याक्सलाई चार विकेटले हराउँदै प्रतियोगितामा पहिलो जित निकालेको छ। कर्णालीले दिएको १८१ रनको लक्ष्य काठमाण्डौले १९ ओभर ४ बलमा ६ विकेट गुमाएर पूरा गर्‍यो। काठमाण्डौको जितमा राशिद खानले सर्वाधिक ५० रन बनाए भने कप्तान करण केसीले ४४ रनको योगदान दिए। अस्ट्रेलियाली क्रिकेटर डेभिड वार्नर भने १६ रन बनाएर आउट भए। उनलाई कर्णालीका कप्तान सोमपाल कामीले बोल्ड गरेका थिए। कर्णालीका सोमपाल कामी र हुसैन तलातले समान दुई विकेट लिए।

यसअघि कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको कर्णालीले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १८० रन बनाएको थियो। कर्णालीका आरिफुल इस्लामले ४४, हुसैन तलातले ४० तथा पवन सर्राफले अविजित ३० रन बनाए। काठमाण्डौका कप्तान करण केसीले दुई विकेट लिए। यो जितसँगै काठमाण्डौले प्रतियोगितामा पहिलो सफलता हात पारेको छ। यसअघि पहिलो खेलमा काठमाण्डौ जनकपुर बोल्ट्ससँग आठ विकेटले पराजित भएको थियो। यता, कर्णालीको भने जारी प्रतियोगितामा यो पहिलो हार हो। कर्णालीले यसअघि जनकपुर बोल्ट्सलाई १९ रन र विराटनगर किङ्सलाई चार विकेटले हराएको थियो।

एनपीएलअन्तर्गत आजको दोस्रो खेलमा चितवन राइनोज र सुदूरपश्चिम रोयल्सबीच प्रतिस्पर्धा हुँदैछ। खेल बेलुकी ५ बजे सुरु हुनेछ। चितवनका लागि यो तेस्रो खेल हो। उसले पहिलो खेलमा विराटनगरलाई आठ रनले हराएको थियो भने लुम्बिनी लायन्ससँगको दोस्रो खेल वर्षाका कारण नतिजाविहीन बनेको थियो। सुदूरपश्चिमका लागि भने यो चौथो खेल हुनेछ। सुदूरपश्चिमले पहिलो खेलमा लुम्बिनी लायन्ससँग सात विकेट र तेस्रो खेलमा विराटनगर किङ्ससँग ३५ रनको हार बेहोरेको थियो। दोस्रो खेलमा भने पोखरा एभेन्जर्सलाई छ विकेटले हराएको थियो। आठ टोली सहभागी तेस्रो संस्करणको नेपाल प्रिमियर लिग आगामी मङ्सिर ५ गतेसम्म सञ्चालन हुनेछ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रिक्रिया दिनुहोस्