दार्चुला । नेपाली कांग्रेस शैल्यशिखर नगरकार्यसमिति, दार्चुलाले करार सेवामा कार्यरत कर्मचारीहरूको रोकिएको तलब भत्ता तत्काल भुक्तानी गर्न र नगरपालिकाभित्रका सम्पूर्ण स्थानीय सडक शीघ्र सञ्चालनमा ल्याउन माग गरेको छ।
नगरकार्यसमितिको पहिलो बैठकबाट पारित निर्णयअनुसार जारी प्रेस विज्ञप्तिमार्फत नगरपालिकाको ध्यानाकर्षण गराउँदै कांग्रेसले कर्मचारीको पारिश्रमिक र सडकको दुरवस्थाप्रति असन्तुष्टि जनाएको हो।
नगरपालिकाका विभिन्न शाखा, कार्यालय तथा निकायमा करार सेवामा कार्यरत कर्मचारीहरूले लामो समयदेखि तलब तथा भत्ता प्राप्त गर्न नसकेको भन्दै कांग्रेसले उनीहरू र परिवारले आर्थिक तथा सामाजिक समस्या भोग्नुपरेको उल्लेख गरेको छ।
कर्मचारीहरूले इमानदारीपूर्वक आफ्नो जिम्मेवारी निर्वाह गर्दै आए पनि लामो समयसम्म पारिश्रमिक नपाउनु दुःखद र चिन्ताजनक विषय भएको नगरकार्यसमितिको भनाइ छ। यसअघि पटक–पटक नगरकार्यपालिकाको कार्यालयको ध्यानाकर्षण गराउँदा समेत तलब भुक्तानी हुन नसकेको भन्दै कांग्रेसले बाँकी रहेको सम्पूर्ण पारिश्रमिक तत्काल उपलब्ध गराउन माग गरेको छ।
त्यसैगरी, शैल्यशिखर नगरपालिका क्षेत्रभित्रका विभिन्न स्थानीय सडक नियमित सञ्चालन तथा मर्मतसम्भार हुन नसक्दा नगरवासीले आवतजावतमा समस्या भोग्नुपरेको विज्ञप्तिमा उल्लेख छ।
विशेषगरी चाडपर्व तथा हिउँदको समयमा समेत सडक अवरुद्ध र अव्यवस्थित रहनु स्थानीय सरकारको गैरजिम्मेवारीपनको संकेत भएको कांग्रेसको आरोप छ। नगरपालिकाभित्रका सम्पूर्ण वडा तथा बस्ती जोड्ने सडकको तत्काल सरसफाइ, मर्मतसम्भार र आवश्यक व्यवस्थापन गरी सञ्चालनमा ल्याउन माग गरिएको छ।
कांग्रेस शैल्यशिखर नगरकार्यसमितिले करार कर्मचारीको बाँकी तलब भत्ता तत्काल भुक्तानी गर्न, स्थानीय सडकहरूको मर्मतसम्भार गरी सञ्चालनमा ल्याउन तथा नागरिकको दैनिक आवागमन, सेवा प्रवाह र जनजीवन सहज बनाउन स्थानीय सरकारसँग माग गरेको छ।
उल्लेखित मागहरू यथाशीघ्र सम्बोधन नगरिए नेपाली कांग्रेस शैल्यशिखर नगरकार्यसमितिसहित पार्टीले नागरिकको हकहित र अधिकारका पक्षमा आवाज उठाउँदै चरणबद्ध विरोधका कार्यक्रम सञ्चालन गर्न बाध्य हुने चेतावनीसमेत दिएको छ।
जनताका समस्याप्रति स्थानीय सरकार गम्भीर बन्नुपर्ने र जिम्मेवारीबाट पन्छिने प्रवृत्तिको अन्त्य हुनुपर्ने कांग्रेस शैल्यशिखर नगरकार्यसमितिको माग छ।
करार कर्मचारीको तलब भुक्तानी र सडक सञ्चालन गर्न कांग्रेस शैल्यशिखरको माग




