भोटेकोशी बाढीमा बेपत्ता ३२ जिल्लाका २ हजार २९४ जनाको विवरण सार्वजनिक

तस्बिरः हरिराम भेटुवाल/रासस

 

 

काठमाडौं । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले भोटेकोशी बाढीमा परी बेपत्ता भएका ३२ जिल्लाका २ हजार २९४ जनाको यकिन विवरण सार्वजनिक गरेको छ।

प्राधिकरणले सम्बन्धित ३२ जिल्लाका विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन समितिबाट पुष्टि भएर आएका विवरणका आधारमा बेपत्ता व्यक्तिहरूको सूची सार्वजनिक गरेको जनाएको छ।

सार्वजनिक विवरणअनुसार सबैभन्दा बढी रसुवा जिल्लाका १ हजार ५८३ जना बेपत्ता रहेका छन्। त्यस्तै धनकुटा, डडेलधुरा, खोटाङ, भोजपुर, अछाम, कपिलवस्तु, जाजरकोट, सर्लाही, ललितपुर र कैलालीसहित ३२ जिल्लाका बेपत्ता व्यक्तिहरूको विवरण समेटिएको छ।

यसैगरी, प्राधिकरणले सात देशका १७१ जना विदेशी नागरिक बेपत्ता भएको विवरणसमेत सार्वजनिक गरेको छ।

प्राधिकरणले सार्वजनिक सूचीमा नाम समावेश भएका व्यक्ति जीवित रहेको वा फेला परेको भए सम्बन्धित व्यक्ति स्वयं वा निजको एकाघर परिवारका सदस्यले सात दिनभित्र दाबी पेस गर्न आग्रह गरेको छ।

स्वदेशी नागरिकको हकमा सम्बन्धित स्थानीय तहको सिफारिस र जिल्ला विपद् व्यवस्थापन समितिको निर्णयका आधारमा विवरण तयार पारिएको हो। विदेशी नागरिकको हकमा भने कन्सुलर सेवा विभागमार्फत प्राप्त विवरणका आधारमा सूची प्रकाशन गरिएको प्राधिकरणले जनाएको छ।

३२ जिल्लाबाहेक अन्य जिल्लाबाट पनि विवरण प्राप्त भएपछि थप सूचना सार्वजनिक गरिने प्राधिकरणले जनाएको छ।

गत भदौ १० गते भोटेकोशीमा आएको बाढीमा परी १ हजार ४५७ जनाको मृत्यु भएको पुष्टि भएको छ। प्राधिकरणको तथ्याङ्कअनुसार उक्त बाढीमा ५ हजार २८५ जना बेपत्ता भएका छन्।

बेपत्ता व्यक्तिहरूको पूर्ण विवरण राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको आधिकारिक वेबसाइटमार्फत हेर्न सकिनेछ।

 

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रिक्रिया दिनुहोस्