‘भ्रष्टाचारी जतिलाई पुर्‍याइदेउ छेउ’ घन्किँदा नविनसँगै नाचे ज्येष्ठ नागरिक

मोहम्मद हबिब
भैरहवा, १३ मंसिर ।

‘लेउ खुकुरी लेउ जनता लेउ खुकुरी लेउ,
भ्रष्टाचारी जतिलाई पुर्‍याइदिउँ छेउ’  भन्दै गायक नविन पौडेलले गीत के गाएका थिए रुपन्देहीको सैनामैना बस्ने ८६ वर्षीया ज्ञानधरी अर्याल नाच्न स्टेज निरै पुगिन् । गायक पौडेलेले हालको परिस्थिति र अवस्थालाई संगीतको माध्यमबाट प्रस्तुत गर्दा गीतको लयसँगै उनी निकैबेरसम्म नाचिन् ।

उमेरले ज्येष्ठ नागरिक भए पनि नृत्यमा भने ‘भ्रष्टाचारी जतिलाई पुर्‍याइदिउँ छेउ’ भन्दै दोहोराउँदै तन्नेरीकै शैलीमा  अर्याल भुरुक्क भुरुक्क नाचेर साथ दिइन् । देशको समसामयिक अवस्थालाई शब्द सिर्जना साथै स्वरमार्फत्  जनतालाई जागरुक गराउने पौडेलको त्यो गीतबाट अर्यालले भरपुर मनोरञ्जन गरिन् ।

गायक नविनकै गीत सुनेर अर्की ७५ वर्षीया राधा गौतमले पनि जोशका साथ नाचेर साथ दिइन् । भैरहवा निवासी गौतमले ‘भ्रष्टाचारी जतिलाई पुर्‍याइदिउँ छेउ’ दोहोराउँदै उपस्थित अन्य कलाकारलाई अक्कमक्क पारिन् । युवाहरुले पनि गायकलाई नाचेर साथ दिइरहँदा यी दुई ज्येष्ठ नागरिक आमाहरु त प्रतिनिधिमुलक पात्र हुन् ।

भैरहवामा जारी छैटाैँ प्रादेशिक महोत्सवमा आएका गायक पौडेलले समय अभावले महोत्सवमा केही गीत मात्र प्रस्तुत गर्न पाए पनि सबै दर्शकलाई छमछम नचाए । स्टेज छोडेर पौडेलले दर्शक दीर्घामै गएर पनि केही गीत पस्के ।

 

गायक पौडेललाई नेपालको लोक, कला, संस्कृति र साहित्य क्षेत्रमा योगदान  पुर्‍याएबापत जनसेवा श्री पदकले समेत सम्मानीत भएका छन् ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्