“छाउपडीमा अल्झिएको समाज”

शारीरिक विकास क्रममा जब नारी रजस्वला (छाउ) हुन्छन् त्यतिबेला हाम्रो समाजले तिनलाई हेर्ने दृष्टि र गर्ने व्यवहार भिन्न भैदिन्छ। कुनैकुनै ठाउँमा नारी पहिलो पटक छाउ (मासिक धर्म) हुँदा १२ दिनसम्म राम्रोसँग जिउ लुकाउन नहुने अत्यन्त साँघुरो, अँध्यारो र सुरक्षाको दृष्टिले अत्यन्त कमजोर गोठमा बस्न विवश हुन्छन्। हाल हाम्रो गाउँबस्तीमा भौतिक विकास नभएका कारण बिजुलीको त कुरै छाडौं त्यहाँ मट्टितेलबाट बाल्ने टुकी समेत हुँदैन। मासिक धर्म भएका बेला गोठमा सुत्नुपर्छ। उनीहरूलाई सन्तुलित आहार र विहार खाँचो भएका बेला गाईभैंसीको दूध, दही, मोही खान नहुने र गाईभैंसीलाई छुन समेत नहुने प्रचलन छ। गाईभैंसीलाई छोयो भने तिनले दूध नदिई थुनबाट रगत आउँछ भन्ने अन्धविश्वासी परम्परा छ।

एउटा सामान्य कुरा, हामीलाई थाहा हुनुपर्ने हो सबै प्रकारका जीवजन्तु, पशुपंक्षी यसै पृथ्वीमा बस्छन्। पृथ्वी सबैको साझा भएकाले त्यो पनि छोडनुपर्ने हो। त्यो किन हुन सकेन भन्न समेत सकेनौं। नारीले वर्षौसम्म चुपचाप मानिरहिन्, सहिरहिन् जसले जे भन्यो त्यही। जस्तै तिनै महिलाले नुहाउने साबुन बन्दा गाईभैंसीको बोसो प्रयोग भएको हुन्छ भने किन त्यसले प्रभाव पारेको छैन। अर्को कुरा, आज गाउँबाट आएको गाईभैंसीको दूधबाट चिया पकाइन्छ। बर्फी, खोया जस्ता मिठाईका परिकार समेत त्यही दूधबाट बन्छन्। त्यो चिया र मिठाई यात्रा गर्दा मासिक धर्म भएकी महिला खान्छन् भने किन गाईभैंसी मर्दैनन्? अर्को कुरा, हाम्रो गाउँघरमा स्वभावैले भिरालो जमीन भएकाले पानी माथिबाट तल नै बग्छ र बगेको पानी खोला हुँदै नदीमा जान्छ।

हामीले पटकपटक सुनेका छौं, सर्पले टोकेर छाउगोठमा महिलाको ज्यान गएका कुरा। बाघभालुको त्यत्तिकै डर। विच्छी लगायत कानमा बस्ने कीराको त्यतिकै डर। अर्को समस्या शारीरिक दृष्टिले पनि त्यतिबेला महिला कमजोर हुने गर्छन् र कामचाहिँ असाध्यै गरुङ्गो गर्नुपर्छ।

पक्कै पनि मासिक धर्म भएका समयमा ती नारीले पानीमै नुहाउँछन् र लुगा धुन्छन्। त्यो पानी बगेर तल जान्छ भने पक्कै पनि सबै ठाउँमा बस्ती भएकाले त्यो पानी तल गई गाईगोरु र मानिसले पिउँछन् भने किन तलको पानी पिउने गाईभैसीले थुनबाट रगत दिदैन? यी सब मिथ्या, भ्रम र रुढिवादी परम्परा हुन्।

अर्को कुरा, कुनै फलफूलका बोट छोयो भने फलमा कीरा पर्ने, बोट सुक्ने, फल नदिने आदि भ्रमात्मक कुरामा विशवास राख्छन्। एकचोटि फलफूलका बोट छोएर हेरौं ती मर्छन् कि मर्दैनन्? पुरुषप्रधान समाजले कति सजिलै भनिदियो त्यस्तो बेला कुनै मानिसलाई छुन नै नहुने भनेर।

समाजमा जब कुनै मानिस जन्मिन्छ त्यो न धनी भएर जन्मिन्छ न निकृष्ट, जब उसको शारीरिक विकास हुन्छ शारीरिक विकासक्रममा विधिको विधानअनुरूप बच्चा जन्माइसकेपछि आमाले बच्चालाई दूध चुसाउनुपर्छ। यसक्रममा आमा छाउपडी मासिक धर्म भएका समयमा त्यो बच्चालाई दूध चुसाउँछिन् जब बच्चाले आमाको दूध चुसेर आफ्नो पेट भर्छ। पछि तिनै बच्चा प्रधानमन्त्री, डाक्टर, वकिल, इञ्जिनियर, व्यापारी, शिक्षक, धामी, कलाकार जे जति हो सबै बन्छन्। अब एकछिन मनन् गरौं ती बच्चालाई छाउ किन लाग्दैन?

जब आमाले दूध चुसाइसकेपछि बच्चालाई भित्र लगी गाईभैंसीको दूध खुवाउने प्रचलन छ। ल ठीक छ भित्र बच्चा लिँदा नुहाइदिने प्रचलन छ। बाहिरको छाला त नुहाइयो बच्चाले चुसेको पेट भित्रको दूधलाई के गरिन्छ? मासिक धर्म भएकी महिलाले चुसाएको दूध खाएर डाक्टर नबन्नु पर्ने हैन र? अर्को समस्या असुरक्षाको कठघरामा, यो नारकीय जीवन बिताउनुपर्ने। हाम्रो समाजमा गलत सोच र संस्कार भएका मानिस पनि बस्छन्। ठाउँठाउँमा राज्यबाट शान्ति सुरक्षाको व्यवस्था गर्न नसकिरहेको अवस्थामा महिला छाउपडीको कारणले राती बलात्कार हुनुपर्ने अवस्था छँदैछ। यस्तो जघन्य अपराध हुँदा पनि कडा कानुनको अभावका कारण अपराधीले मुक्ति पाउने गरेकै छन्।

अर्को कुरा सांस्कृतिक बिल्ला भिराएर यस्तो हल्ला गर्नु हुँदैन। हाम्रो इज्जत जान्छ भनी अपराधीलाई नै जलमल पुग्ने सामान्तीले बनाएको संस्कृति, राजा रजौटाले बनाएको संस्कृतिलाई बचाएर राखिएको छ। यसको तुरुन्तै अन्त्य गरिनु पर्छ।

अर्को पीडा त्यो कमजोर मौका छोपी जब सामाजिक अपराध हुन्छन् तब उसले समाजमा यस्तो अपमान सहेर बाँच्नु पर्छ कि जुन कुरा शब्दमा व्याख्या गर्न सकिँदैन। यसका बारेमा महाभारत जत्रो ग्रन्थ लेखे पनि अधुरो र अपुरो नै हुन्छ। त्यो अपराधको पीडा खेपेपछि उसको विवाह कसैसँग हुँदैन। यदि विवाह भएकी महिला भए घरबाट निकालिन्छन््। एकातिर संस्कृतिको गोलचक्कर अर्कोतिर कानुनको अभावका कारण महिलाले यो कठिनाइ झेल्नुपरेको हो। जब त्यो महिलाको कसैसँग विवाह हुँदैन त्यसपछि उसलाई जबर्जस्ती वेश्या बनाइन्छ भने त्योभन्दा ठूलो सामाजिक अपमान अरू के हुन सक्छ। यसमा राज्यको ध्यान जान आवश्यक छ कि छैन? यदि विवाह भइहाले पनि अपांगसँग विवाह गराउने, छोरी मात्र भएको पुरुषसँग छोरा पाउन विवाह गराउने र कहीँ श्रीमती नपाई बसेको बूढो मानिससँग त्यो अविवाहित कन्याको विवाह हुने गर्छ। यो उसको रहर नभएर सामाजिक बाध्यता हो। अर्को शब्दमा भन्नुपर्दा कानुनी बाध्यता पनि।

छाउपडीप्रथा तोड्ने परिवारलाई राज्यले पुरस्कृत गर्ने प्रणाली विकास गरेमा यो प्रथालाई हटाउन सकिन्छ। यही कुरा मनन गरेर पूर्वीचौकी गाउँपालिकाले यसपालिको बजेटमा छाउपडी प्रथा तोड्ने एक सय परिवारलाई नगद पाँच हजार रुपैयाँसहित सम्मानपत्र प्रदान गर्ने योजना समावेश गरेको छ।

ग्रामीण भेगमा धेरै ठूला जघन्य अपराध भएर पनि सामाजिक संस्कृतिका कारण ओझेल परेका छन्। गाउँका ठूलाबडा भनाउँदाहरूले अपराध ढाकछोप गरी भित्रभित्रै मिलाउने गरिदिन्छन्। यस्ता अपराधीलाई अपराध पत्ता लगाइसकेपछि कडा कारवाही हुनुपर्ने हो त्यसो भएको देखिँदैन। यी त भए मानवीय अपराध अर्को कुरा जीवजन्तुबाट पनि त्यतिकै समस्या र असुरक्षा छ। हामीले पटकपटक सुनेका छौं सर्पले टोकेर छाउगोठमा महिलाको ज्यान गएको कुरा। बाघभालुको त्यत्तिकै डर। विच्छी अन्य कानमा बस्ने कीराको त्यतिकै डर। यसबाट बच्न पनि यो संस्कृतिको अन्त्य हुनुपर्छ। अर्को समस्या शारीरिक दृष्टिले पनि त्यतिबेला महिला कमजोर हुने गर्छन् र काम चाहिँ असाध्यै गरुङ्गो गर्नुपर्छ।

दाउरा काट्ने, दाउरा बोक्ने, पर्सो (मल) बोक्ने, खेतबारी खन्ने जस्ता गहुँगो काम गर्नुपर्छ। अर्को समस्या त्यो चिसो भुईंमा सुत्नु पर्दा विभिन्न किसिमका रोगले संक्रमण गर्ने र तिनलाई निको पार्न धामीझाँक्रीमाथि विश्वास गरी धामीझाँक्री कहाँ जाने, धामीझाँक्रीले बोका काट्नुप(यो। कुखुरा काट्नुप(यो। भाकल लाग्यो भनेर भनिदिँदा आर्थिक हिसाबले यो असाध्यै खर्चिलो र झन्झटिलो हुने त छँदैछ। रोग सञ्चो नहुँदा अन्तिम अवस्थामा अस्पताल लग्नु पर्दा आर्थिक व्यभार निकै चुनौतीपूर्ण हुने गर्छ। कतिपयको त ज्यान समेत जाने गर्छ। त्यसैले यो भ्रमलाई पालेर बस्नु भन्दा यो संस्कृतिको अन्त्य सर्वपक्षीय बनाइनु आजको अवाश्यकता र अनिवार्य हो।

छाउपडी प्रथाका बारेमा अब के गर्ने ?

एक्काइसौं शताब्दीको नयाँ नेपाल निर्माण हुन गइरहेको अबस्थामा छाउपडी जस्तो कलंकलाई जीवित राखेर नयाँ नेपालको परिकल्पना गर्नु भनेको इन्धनबिनाको प्लेन उडाउन खोजे जस्तो हो। यसैले मैले माथि नै उल्लेख गरिसकेको छु कि छाउपडी प्रथाले निम्त्याएका विकराल समस्या छन्। छाउपडी प्रथाका सन्दर्भमा परिवर्तनका लागि हालसम्म कुनै क्रियाकलाप नभएको चाहिँ होइन। समाजमा काम गर्ने सरकारी तथा गैरसरकारी संस्थाबाट पनि केही पहल भएका छन् र यसले नगण्य रूपमा केही परिवर्तन गरको छ। तर च्याउ उम्रिएजस्तै उम्रिएका संघसंस्थाको कार्य प्रगति अपेक्षित रूपमा सन्तोषजनक रहेको पाइँदैन। त्यसैले जुन उद्देश्य प्राप्तिका लागि काम थालिएको हो त्यसको ठीक ढंगले अनुमगमन र मूल्यांकन नभएकाले पनि खासै प्रगति हुन सकेको छैन।

हाम्रो समाजमा गलत सोच र संस्कार भएका मानिस पनि बस्छन्। छाउपडीको कारण राती बलात्कार हुनुपर्ने अवस्था छँदैछ। यस्तो जघन्य अपराध हुँदा पनि कडा कानुनको अभावमा अपराधीले मुक्ति पाउने गरेकै छन्।

छाउपडी भएका समयमा पुस्तक समेत छुन नहुने चलन छ। यो झन् डर लाग्दो र विकराल रूपमा छ। यसै कारणले परीक्षा दिन र पढ्न पाएनन् भने विकराल समस्याको चाङ लाग्ने देखिन्छ।

समाजको प्रगतिका लागि राज्यबाट पनि कडाइका साथ कानुन बनाएर अगाडि पढ्नुपर्ने र कानुनलाई कार्यान्वयन पक्षमा लैजान जरुरी छ। यसमा २ वटा कुराको सन्तुलन मिलाएर बढ्नुपर्ने देखिन्छ। पहिलो यसका लागि जनचेतना अभियान व्यापक रूपले सञ्चालन गर्ने सडक नाटक, गीत, कथा, कविता, सफल उदाहरणहरू भएको ठाउँमा भ्रमण यसभन्दा पनि कक्षा ४ देखि ७ सम्मको पाठ्यक्रममा यसलाई राखी अध्ययन अध्यापन गराउनुपर्ने आवश्यक देखिन्छ। यो पाठ्यक्रमलाई लामो समय सञ्चालन नगरे पनि छाउपडी प्रथाको उन्मुलन नहुञ्जेलसम्मको (१५ वर्षदेखि २० वर्षसम्मको) आवश्यकता महसुस गरिएको छ। यसमा कानुनलाई पनि कार्यान्वयनमा ल्याउनुपर्छ भने जनचेतनाको पनि त्यतिकै आवश्यक छ।

छाउपडी प्रथालाइ सामाजिक विकृतिका रुपमा खडा गर्नेलाइ सरकारले ३ हजार जरिवाना र ३ महिना कैद समेत ताेकेकाे छ ।

पुरस्कार र सजायँ दुइटै सँगसँगै लग्नुपर्ने देखिन्छ। छाउपडीप्रथा तोड्ने परिवारलाई राज्यले पुरस्कृत गर्ने प्रणालीको विकास गरेमा यो प्रथालाई हटाउन सकिन्छ। यही कुरा मनन् गरेर हाम्रो पूर्वीचौकी गाउँपालिकाले आर्थिक वर्ष ०७७÷०७८को बजेटमा पहिलो चरणमा छाउपडी प्रथा तोड्ने एक सय परिवारलाई नगद पाँच हजार रुपैयाँसहित सम्मानपत्र प्रदान गर्ने योजना समावेश गरेको छ।

सुन्दा केही हैन भन्ने लागे पनि यो महिला विकासको बाधकका रूपमा रहेकाले राज्यले यसमा गम्भीर चासो लिनुपर्ने आवश्यकता देखिन्छ। गाउँमा दुईचार परिवारले मात्र यो प्रथा तोडे भने अरु महिलालाई पनि उनको उदाहरण लिएर यो तोड्दा केही हुँदैन भनेर विश्वास दिलाउने वातावरण विकास हुन्छ। यसलाई टेलिभिजन, रेडियो, एफएम आदि समेतले प्राथमिकतामा राखी प्रस्तुत गर्नुपर्छ। पहिला भौतिक चिजको विकास नभएका समयमा सबैको आवश्यकता रहेको समयमा जताततै फोहर हुन जाने समस्या पनि थियो होला। त्यसकारण महिलालाई अलग्गै राखिएको हुनसक्छ। पछि गएर यो संस्कृतिका रूपमा मौलाउँदै गएको हुनुपर्छ।

हाल बजारमा सरसफाइदेखि छाउपडी भएको समयमा व्यवस्थित ढंगका सबै सामाग्री उपलब्ध छन्। यिनको प्रयोगका बारेमा पनि जनचेतना अभियान सञ्चालन गर्नुपर्छ।

छाउपडी भएका बेला छाउपडी महिलाले पनि सरसफाइदेखि सामग्री प्रयोगमा ध्यान दिनु जरुरी छ। यसरी सबै क्षेत्रबाट सबैले आआफ्नो भूमिका निर्वाह गरी भेदभावरहित समुन्नत प्रगति विकसित समाजको निर्माण गरी सामाजिक विकृतिका रूपमा रहेको छाउपडी प्रथाको अन्त्य गर्न प्रतिबद्धता व्यक्त गर्नु पर्ने आवश्यकता देखिन्छ।

लेखक : दिर्घराज बाेगटी, पूर्वीचाैकी गाउँपालिकाका अध्यक्ष हुन् ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्