जागिर त मैले कहिले गरिन, पेशामा रमेको हुँ

डि एन जोशी अहिले को युवा पुस्तामा चिर परिचित नाम हो।  सोह्र वर्षको उमेर देखि नै अध्यापनमा संग्लग्न जोशीले कोरोना भाइरसले सिर्जना गरेको लकडाउन को समय मा मात्रै दुइ वटा अन्तर्राष्ट्रिय सम्मेलनलाई  सफलतापूर्वक सम्पन्न गर्न र हजारौ मनमा बस्न सफल भएका छन्। वि.सं. २०७० सालमा शिक्षा र विकासका लागि नागरिक आवाज संस्थाबाट उत्कृष्ट प्रिन्सिपल अवार्डबाट सम्मानित जोशी सुदूरपश्चिमको बैतडी जिल्ला मेलौली-१ खलिगाडबाट कंचनपुरहुँदै हाल काठमाडौँमा अध्यापनरत  छन् ।  पेशागत विकास र शिक्षासँग सम्बन्धित अनुसन्धानमा संलग्न, राष्ट्रिय र अन्तर्राष्ट्रिय शिक्षा जगतलाई नै एक ठाउँमा उभ्याउन सफल जोशी सुदूरपश्चिममा धेरैका आशाका केन्द्रबिन्दु हुन् ।  उपहार खबरले आज उनको जन्म दिन पारेर उनीसँग गरेको छोटो कुराकानी यहाँ प्रस्तुत गरिएको छ :

सुदूरपश्चिमको शिक्षाको स्तरलाई तपाईले कसरि लिनुभएको छ ?

सुदूरपश्चिममा  २०५६ साल देखि अहिले सम्मको शिक्षाको अवस्था हेर्दा प्रगति उन्मुख नै छ। तर शिक्षा क्षेत्रमा अझै पनि प्रोफेसनालिजमको खाँचो महसुस गरेको छुँ।  सुदूरपश्चिम मात्र हैन नेपालको धेरै जसो ठाउमा सूचना र संचार प्रविधि  देखि लिएर शिक्षा विधिमा डाईनामिजमको अभाव छ, तर अहिलेका व्यक्तिहरुले ‘घरबाट विद्यालय र विद्यालबाट घर’ (Home to school school to Home)  मानसिकता परिवर्तन ल्याउन सक्रिय भूमिका खेलेको पाएको छु।  मानसिकतामा परिवर्तन ल्याउनु अझै पनि सबैले सकस गर्नु पर्ने देखिए को छ।

अहिलेको युवा पुस्तालाई अध्ययन संग जोड्दा  यहाँले कसरि हेर्नु भएको छ ?

म अहिले युवा पुस्तालाई चार बर्ग मा बाड्छु : एउटा वास्तविक अध्ययनमा लागेको, अर्को अध्ययन गरे जस्तो  देखाउने, तेस्रो बजार नोट्समा भर परेर सर्टिफिकेट लिने, र अन्त्यमा  गर्दै नगर्ने। यसो भए ता पनि अध्यन गर्नेलाई मेरो सुझाव के छ भने, अध्यन गर्नुस तर परीक्षा पास गर्ने बुक मात्र हो सिमित नरहनुहोस्। जब सम्म हामि यो दुनियाबाट बाहिर आउँदैनौ, सायद हामीमा ज्ञान त आउला तर विवेक आउँदैन।  त्यसैले यस्तो अध्ययन गर्नुस कि किताब पढेर हैन सुँघेर बुज्न सकियोस्, यसको अर्थ यो हैन कि किताब सुघेर बुझिन्छ । अर्को कुरा पढे लेखेका युवाहरुमा पनि मैले कता-कता सामाजिक मुल्यमा आधारित शिक्षाको  टड्कारो आवश्यकता महसुस गरेको छु।  सर्टिफिकेट त लियौ, एम फिल पीएचडी त गर्यौ तर अझै पनि मेरो कमिमा मलाई दुख छैन, उसले राम्रो गरिराछ भनेर  नकारात्मक मानसिकताको पिडा आफै भित्र ल्याई रहेको छन् कि जस्तो लाग्छ मलाइ। Win and  Win भावना ल्याउनु जरुरि छ। हामि कहिले नाबिर्सिउ कि हाम्रा शैक्षिक जगतका हस्तीहरुले अध्ययन रस आकाशबाट खसेको तारा जस्तै लिएको हैन। मैले उहाँहरुलाई भेट्दा हजारौ किताबहरु आफ्नो लाइब्रेरीमा राखेर अध्ययन गरेको देखेको छुँ। प्रा. डा. जयराज अवस्थी, अभि सुबेदी, लक्ष्मण ज्ञवाली, अहिलेको युवा बलराम अधिकारी हरु संग भेट्न जाँदा महसुस गरेको छु, पढ्नु के हो भनेर।

भर्खरै दुइवटा अन्तर्राष्ट्रिय सम्मेलनहरु संयोजन गर्नु भयो कसरी सम्भव भयो ?

यो सहज थियो, नेल्टाका केन्द्रिय अध्यक्ष मोतिकला सुब्बा देवान, जो सबैको लागि एउटा प्रेरणाको स्रोत हुनुहुन्छ उहाँको निरन्तर सपोर्ट र सुदूरपश्चिम प्रदेशका अध्यक्ष रामजी हमालको सकारात्मक सोचको उपज हो यो । त्यो संगै मेरा  आदरणीय गुरुहरुको बारम्बारको सपोर्ट र उत्साहले नि यो सब छोटो समयमा सम्भव भएको हो । त्यसै गरि स्कलर्स एशोसिएसन मेरो  जिल्लाबाट खोलिएको संस्था हो, जसमा मैले यो संस्थालाई अगाडी बढाउनु आफ्नो योगदान दिने मौका पाएँ । संस्थाका अध्यक्ष बंशीधर जोशी, महासचिव अर्जुन नेगी लगायतको टिमले फ्लर मलाइ दिनुभयो, बिस्वास गर्नुभयो । १२ दिने सम्मेलन सबै जनाको सहयोगबाट सफल भयो ।

सुदूरपश्चिमको महिला शिक्षाबारे के भन्नुहुन्छ ?

उहिले-उहिले फरक थियो होला, जब म कंचनपुर छोडेर राजधानी तिर लागे सबै कुरा अध्ययन गर्दा महसुस भयो कि धेरै अगाडी छ । हामीले  बुझ्न मात्र नचाहेको ! यसलाई हेर्न बर्ड आइज भ्यू टू वोर्म आ भ्यू  हेर्न सिक्नु पर्यो।  नेल्टा अध्यक्ष कसरि हाँक्दै हुनुहुन्छ, मेरै गुरुआमाहरुले कस्तो स्थान बनाउनु भएको छ, सबैको प्रेरणा को स्रोत हुनुहुन्छ।

अबको योजना के छ ?

अब यो समयमा भन्ने हो भने युवाहरुको लागि अरु एकेडेमिक प्याकेज ल्याउने तयारिमा छु।  व्यक्तिगत सोध्नु भएको हो भने आगामी केहि  बर्ष सायद अगाडिको अध्ययन तिर लाग्छु।

जागिरको सोच छैन ?

जागिर त मैले कहिले गरिन, पेसामा रमेको हुँ । सायद पेसालाई ठुलो मानेर होला म आफ्नो दुनियामा खुसी छुँ, भिड भन्दा बाहिर। परिवार पाल्न र आफ्नो अध्ययन गर्न पूर्ण रुपमा सफल भएको छु जस्तो लाग्छ र यसले नै आगामी यात्रा लाइ तय गरि रहेको छ।

अन्त्यमा केहि भन्न चाहनुहुन्छ ?

वास्तविक दुनियामा जिउन सिकौँ, दुइ-चार जनालाई आफ्नो बनाएर अगाडी बढ्ने बाटो बिर्सौँ सायद ओहोदामा पुगेका हरुले पनि यहि सिक्नुपर्छ।

 

 

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्