काठमाडौं – सुदूरपश्चिमेली मौलिकता, आमा-छोराको भावनात्मक सम्बन्ध र जन्मभूमिप्रतिको माया समेटिएको नयाँ देउडा गीत ‘नबास कोइली’ सार्वजनिक गरिएको छ । गायक तथा सर्जक चेतन भट्टको स्वर, शब्द तथा संगीत रहेको गीतले परदेशिएको सन्तानको पीडा, आमाको माया र गाउँघरको सम्झनालाई मार्मिक रूपमा प्रस्तुत गरेको छ ।
गीतको सङ्गीत संयोजन विनोद बाजुरालीले गरेका हुन् भने रेकर्डिङ सागर बाजुरालीले गरेका छन् । त्यसैगरी मिक्सिङ तथा मास्टरिङ खडक बाजुरालीले गरेका हुन् । गीत मालाश्री स्टुडियो मा रेकर्ड गरिएको हो । गीतको भिडियो पनि सार्वजनिक गरिएको छ । भिडियोका निर्माता रेणुका अवस्थी हुन् भने कथा तथा निर्देशन केशव राज भट्टले गरेका छन् । भिडियोमा चेतन भट्ट, ऋषभ भट्ट र शुमिना कार्कीको अभिनय रहेको छ ।
भिडियोको छायाङ्कन करण चैसिरले गरेका छन् भने सम्पादन तथा रङ संयोजन दिपक बिष्टले गरेका हुन् । मेकअपमा अनिमेष जोर्डन तथा पोशाक व्यवस्थापन भ्यालेन्टिनो द बुटिकले गरेको जनाएको छ ।
‘नबास कोइली रुड्भाडी मैइना, मुई सोराइ लागन्छी जनम्या देशकी, झल पडना घाम ओछाना इजु का हुनि है, मुइलाई सम्झी मेरि इजु धुरधुर रुनि है’ जस्ता भावुक शब्दहरूले भरिएको गीतले सुदूरपश्चिमेली लोकसंस्कृति र देउडा भाकाको मिठासलाई उजागर गरेको दर्शक–श्रोताको प्रतिक्रिया छ ।
‘चैतका मैइना काफल पाकन्ना, इजुकी सोराइले आँसु ढलन्ना, उतिलामी कालिगङा कै झाजर छिरी गया हैकि बालाजोवन आउन्या हैकि, आरु फुल्या बेडु फुल्या बसन्त बनैमा, बालकाल खेल्याको इजु रै गयो मनैमा…’ लगायतका ह्दयस्पर्शी शब्दले गीतलाई अझ दर्शक श्रोताको मन चोर्न खोजेको छ । गीत तथा भिडियो चेतन म्युजिक नेपाली मार्फत सार्वजनिक गरिएको हो ।





