काठमाडौं । संघीय संसद्को बजेट अधिवेशन भोलि सोमबारदेखि सुरु हुँदैछ । अधिवेशनको पहिलो दिन नै सरकारले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्ने भएको छ।
संसद् सचिवालयका प्रवक्ता एकराम गिरीका अनुसार राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसद्का दुवै सदनको संयुक्त बैठकलाई सम्बोधन गर्दै अपराह्न ४ बजे सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्नेछन्।
नेपालको संविधानको धारा ९५ अनुसार प्रतिनिधिसभाको निर्वाचनपछिको पहिलो अधिवेशन तथा प्रत्येक वर्षको पहिलो अधिवेशन प्रारम्भ भएपछि राष्ट्रपतिले दुवै सदनको संयुक्त बैठकलाई सम्बोधन गर्ने व्यवस्था छ।
राष्ट्रपति पौडेलबाट नीति तथा कार्यक्रम प्रस्तुत हुने संयुक्त बैठकमा अपराह्न ३:४५ बजे अगावै उपस्थित हुन प्रतिनिधिसभा र राष्ट्रियसभाका सदस्यहरूलाई संसद् सचिवालयले अनुरोध गरेको छ।
त्यसअघि अपराह्न २ बजे प्रतिनिधिसभा र राष्ट्रियसभाका छुट्टाछुट्टै बैठक बस्नेछन्। प्रतिनिधिसभा बैठकमा अधिवेशन आह्वानसम्बन्धी राष्ट्रपतिको पत्रबारे जानकारी गराइने, मन्त्रिपरिषद् हेरफेरसम्बन्धी सूचनाबारे सदनलाई अवगत गराइने कार्यसूची रहेको छ।
यसैगरी, सभामुखको अनुपस्थितिमा बैठकको अध्यक्षता गर्ने सदस्यहरूको मनोनयन, प्रतिनिधिसभा नियमावलीको मस्यौदा पेस गर्ने तथा बाधा अड्काउ फुकाउ अनुमोदनसम्बन्धी प्रस्ताव पेस गरिने सम्भावित कार्यसूची रहेको सचिवालयले जनाएको छ।
साथै सरकारले जारी गरेका ‘सार्वजनिक खरिद (दोस्रो संशोधन) अध्यादेश, २०८३’, ‘सार्वजनिक पदाधिकारीको पदमुक्तिसम्बन्धी विशेष व्यवस्था अध्यादेश, २०८३’, ‘संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि) पहिलो संशोधन अध्यादेश, २०८३’ सहित आठ वटा अध्यादेश दुवै सदनमा पेस गरिनेछन्।





