त्रिभुवन विमानस्थल अध्यागमन घुस प्रकरण : रमेश लेखक र गोकर्णमणि दुवाडीमाथि मुद्दा नचल्ने

 

 

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन घुस प्रकरणमा नाम मुछिएका तत्कालीन गृहमन्त्री रमेश लेखक, तत्कालीन गृहसचिव गोकर्णमणि दुवाडी लगायत उच्च अधिकारीमाथि मुद्दा नचल्ने भएको छ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उनीहरूमाथि अनुसन्धान गर्दा कुनै प्रमाण नभेटिएको निष्कर्षसहित फाइल बन्द गरेको हो।

अख्तियार स्रोतका अनुसार, तत्कालीन प्रमुख अध्यागमन अधिकृत तिर्थराज भट्टराईमाथि चलाइएको मुद्दा नै उक्त प्रकरणको मुख्य अभियोगका रूपमा रहेको छ। भट्टराईभन्दा माथिल्लो तहसम्म अनुसन्धान विस्तार गरिए पनि घुस लेनदेन वा लाभ लिएको पुष्टि हुने प्रमाण फेला नपरेपछि मुद्दा नचलाउने निर्णय गरिएको बताइएको छ।

७ जेठ २०८२ मा सहसचिव भट्टराई पक्राउ परेपछि भिजिट भिसा प्रकरण सार्वजनिक भएको थियो। नेपाली कामदारलाई विभिन्न मुलुकमा भिजिट भिसामार्फत पठाउँदा घुस लिने संयन्त्र खडा गरिएको आरोपमा अख्तियारले २१ मंसिर २०८२ मा भट्टराईसहित सात जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको थियो।

त्यसक्रममा तत्कालीन गृहमन्त्री लेखक, गृहसचिव दुवाडी, सहसचिव छविराज रिजाल लगायतमाथि थप अनुसन्धान भइरहेको जानकारी विशेष अदालतलाई गराइएको थियो।

अख्तियारले भट्टराईको साथबाट बरामद डायरी, कल डिटेल रेकर्ड (सीडीआर) लगायत आधारमा अनुसन्धान अघि बढाएको थियो। तर पछिल्लो अनुसन्धानबाट उच्चपदस्थ अधिकारीहरूसँग गैरकानुनी रकम लेनदेन भएको पुष्टि हुन नसकेपछि उनीहरूमाथि मुद्दा नचल्ने निष्कर्षमा आयोग पुगेको स्रोतले जनाएको छ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रिक्रिया दिनुहोस्