CORONA

भारतीय दादागिरीको अन्त्य कहिले ?

आयुष पन्त
पटक-पटक भारतले नेपालप्रति हेपाहा प्रवृत्ति देखाउँदै आएकाे छ । सीमा अतिक्रमण गर्ने र नेपाली नागरिकहरुलाई तर्साउने, अपहेलित गर्ने क्रम निरन्तर छ । भारतले समय-समयमा आफ्नो तागतकाे तुजुब लाउँदै आइरहेको छ । आफूसमान अर्काे सार्वभाैम मुलुकप्रति यस्ताे हेपाहा प्रवृत्ति देखाउने भारतकाे रवैया नेपालका लागि मात्र हैन, सिंगाे दक्षिण एसियाली देशहरूकै लागि घृणास्पद छ ।

विस्तारवादी भारतले नेपाल र नेपाली भुमिमाथि कब्जा गर्ने र आफ्नाे हैकम लाद्न खाेज्ने रणनीति निरन्तर कायम राखेको छ । नेपाली भूमि लिपुलेक, लिम्पियाधुरा र कलापानीमाथि गिद्धे नजर लगाइरहेको युगाैँ भयाे । झन मिच्दै आएकाे छ, पछि हटेकाे छैन । केही महिनाअघि कालापानी लगायत नेपाली भूभाग भारतले आफ्नाे नक्सामा समेटेकाे थियाे । उसकाे यस हर्कतकाे नेपालभित्र व्यापक विराेध भयाे, सरकार लगायत बिभिन्न पार्टीहरु निकै ताते । तर बिडम्बना बिस्तारै याे विवाद सेलाउदै गएर त्यत्तिकै थाती रहन गएकाे छ । सरकारी स्तरबाट कूटनीतिक पहल समेत असफल भएकाे छ ।

कालापानी विवाद सेलाउन नपाउँदै पुनः भारतकाे हेपाहा प्रवृत्ति उजागर भएकाे छ । हिजो मात्रै भारतले नेपालको भूमि लिपुलेक हुँदै मानसरोवर जोड्ने सडक निर्माण गरी उद्घाटन गरेको छ । कोरोना संकटको रोकथाम, नियन्त्रणमा विश्व नै जुटिरहेको बेला भारतीय विस्तारवादले नेपाली भूमिमाथि गिद्धेनजर गाडिरहेकाे छ । नेपालकाे पश्चिम-उत्तर सीमा क्षेत्रमा पर्ने नेपाली भूमि लिपुलेकमाथि गरिएको अतिक्रमणको सरकारले कटिबद्ध भएर विरोध जनाउने र कूटनीतिक पहल गर्नैपर्छ ।

नेपाली पक्षसँग कुनै परामर्श र सहमित नलिएरै नेपालकै नक्सामा रहेकाे भूमिमा भारतले एकलाैटी रूपमा सडक निर्माण गरेको छ । खुलेआम भारतले यस्ता अतिक्रमण गरिरहँदा पर्खेर बस्ने र कुरा कुटनैतिक रुपमा अगाडि बढ्छ भन्ने रेडिमेड उत्तर नआओस् सरकारबाट । अब तत्काल यो बिबादलाई दुई देशको सरकारबीचमै वार्तामार्फत समाधान खाेज्नुपर्छ ।

हामीकहाँ मुखले राष्ट्रवाद भज्ने नेता, शासक धेरै आए । तर व्यवहारमा गर्न सक्ने केही हैनन् । आफ्नो मातृभूमिमाथि परायाले कुल्चिँरहँदा माटाेकाे माया नभएका र सत्ता स्वार्थका लागि कुर्सी टिकाइरहनेहरुलाई लाज लाग्नुपर्ने हो । आफ्नो मातृभूमिमाथि कसैले आक्रमण गर्दा पनि टुलुटुलु हेरेर बस्ने सरकारप्रति के आश गर्ने देशले ? के आश गर्ने नागरिकले ? र कुन नाक लिएर भोट माग्छन् होला फेरि जनतासामु ?

यदि यहाँका नेता, दलहरूमा नेपाल र नेपाली माटोप्रति जिम्मेवारी बोध हुँदो हो त आफ्नो सिमानाका र भूमि मिचिँदा जनताकाे आँखामा छाराे हाल्ने काम गर्दैनथे । भारतले सीमा अतिक्रमण गरिसक्दा वा आफ्नाे मिसन पूरा गरिसक्दा मात्र खुब तात्ने, दुई-चार दिन काम पाउने र आफ्नो शरीरिक कसरत गर्ने नेताहरु बिस्तारै सेलाउँदै जान्छन् ! फेरि आन्तरिक लुछाचुँडीमै रुमल्लिन्छन् । वैरीले आफ्नाे खेल जारी राख्छ ।

आजको पुस्ताले तत्काल देखिएका यस्ता मुद्दालाई भोलिको लागि थाती राख्नुहुँदैन । भोलिको पुस्ताले ए यो थाहा भएन भन्ने नरहोस् । भारतले नेपालको भुमि आफ्नो नक्सामा पारेको कुरा वर्तमान साकारलाई क्लियर था छ, भोलिका दिनमा यो पुरानो विषय हो भनेर छुट पाउँदैन । भविष्यमा पनि यस्तै-यस्तै पुनरावृत्ति हुन नदिनलाई आजै यो मुद्दाको निर्मुलीकरण गर्नुपर्छ । विभिन्न कालखण्डमा भारतीय हस्तक्षेपबाट नेपाल खुम्चिएको यथार्थ छ । राज्यको सीमा सुरक्षा र स्वाधीनताको रक्षा गर्नु सरकार लगायत अन्य दल र जनाताको प्रमुख दायित्व हो ।

यो बेला बलियो शक्ति भनिएकाे नेकपाको सरकार छ, अग्रता सरकारले देखाउनुपर्छ । विध्यार्थी संगठन लगायत तमाम युवा वर्गको विवेकले देशको अस्मिता लुट्ने लुटेराहरुलाई ठीक समयमा घोडेलगाम लगाउन पछाडि हट्नुहुँदैन । यस्ताे वेला सरकारकाे पार्टी वा प्रतिपक्ष भनेर पनि हुँदैन, सबै एकैजुट भएर दुस्मनमाथि धावा बाेल्नुपर्छ ।

आफ्नो मुलुकमाथि यसरी हस्तक्षप हुँदा समेत वर्तमान सरकारको मौनताले देशको स्वाधिनता र नेपालीको ईतिहासलाई चसक्क घोचिरहेको छ । नेपालको स्वाभिमान र पृथ्वीनारायण, भीमसेन थापा र अमर-भक्ति थापाहरुको शिर झुकाइरहेको छ । मुलुकमाथिको यो हस्तक्षेपमा पनि केही कदम चाल्न नसक्नु नेपाल आमाको अस्मितामाथिको रजाइ टुलुटुलु हेर्नु हाे । के हामी हाम्रो राष्ट्रिय अस्मिता लिलाम भएको हेरेरै बस्छौँ ? नेपाली नागरिकलाई यो स्वीकार्य छैन र हुनु हुँदैन । सरकारले छिटोभन्दा छिटो भारतका ती कदमविरुद्ध कदम चाल्नुपर्छ ।

यस्ता राष्ट्रिय स्वाधीनता र सार्वभाैमिकताका विषयलाई लिएर पटक-पटक सरकारमा बहस नभएका पनि छैनन् । बहस हुन्छन्, तर पार नलागीकनै अधुरै रहेर सेलाउछन् । यस्तो प्रवृत्ति नेपाली राजनीतिमा कहिले सम्म ? राष्ट्रवाद भाेट माग्ने भाँडाे मात्र बन्नुहुँदैन । जबसम्म देशको अभिभावक सरकार जिम्मेवार बन्दैन, तबसम्म देश लुटिन्छ, स्वाधिनता गुम्छ । नागरिक हेपिन्छन् र देशभक्ति हराउछ ।

नेपालको राष्ट्रिय स्वाधीनता, सार्वभौमिकता, भौगोलिक अखण्डता तथा स्वतन्त्र राज्यमाथि भारतीय नाङ्गो हस्तक्षेपको अन्त्य तबसम्म हुँदैन, जब सम्म हाम्रो सरकार भरतको गुलामी बन्न छोड्दैन । भूकम्पले आहत भएका जनतामाथि नाकाबन्दी थाेपरेर घाँटी अँठ्याउने त्यही छिमेकी हाे । आज उसैले काेराेना महामारीको समयमा हाम्राे भूमिमाथि अधिकार जमाइरहेकाे छ । मौका छोपेर अनेक सङ्कटकै बेलामा अर्काको भुमिप्रति गिद्धेनजर लगाउनुपर्ने र कज्याउन खाेज्ने कस्ताे मानवता हाे उसकाे ? पटक-पटक निहु खोज्ने र मौका छोपेर अतिक्रमण गर्ने यो भारतीय विस्तारवादको अन्त्य गर्नैपर्छ । सरकार सक्रिय र जिम्मेवार भएर आफ्नो भुमि फिर्ता गर्न र एकलौटी ढंगले बनाएकाे सडक बन्द गराउनतिर अग्रसरता लिनुपर्छ ।

फेरि पनि दलका केही कार्यकर्ताहरूले विरोधका लागि विराेध गरेजस्ताे गर्ने र विज्ञप्ती मात्र निकालेर बस्ने हाे भने भाेलि दुस्मन छिमेकी झन बलियाे हुनेछ । कुनै दिन हाम्रै छातीमा उसले कुल्चिन सक्छ । तसर्थ आवाजहरु ठाेस उद्देश्यका लागि निरन्तर बुलन्ध गर्नुपर्छ । ताकि दुवै देशको सरकारको कानमा पुगाेस् र सार्वभाैमिकताकाे रक्षार्थ ठाेस पहल हाेस् ।

हामी नेपाली जनता चाहन्छाैँ- छिटोभन्दा छिटो यो सीमा विवाद समाधान होस्, अतिक्रमित नेपाली भुमि फिर्ता लिइयाेस् । भारतले आफ्ना पञ्जाहरू थप अगाडि बढाउन बन्द गराेस् र एक असल छिमेकीकाे मर्यादा कायम राखाेस्, न कि दादागिरी ।

लेखक सङ्करदेव क्याम्पस पुतलिसडक काठमाण्डौ, एम बि एस म्यानेजमेन्टमा अध्ययनरत हुन् 

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्