दार्चुला- अपिहिमाल गाउँपालिकाले गाउँपालिकाको समग्र विकासलाई पर्यटनसँग जोड्दै बहुआयामिक पर्यटन प्रवर्द्धनका कार्यक्रमलाई तीव्रता दिएको छ । विगत चार वर्षदेखि अपिहिमाललाई सुदूरपश्चिम प्रदेशकै प्रमुख पर्यटकीय गन्तव्य तथा नेपालको उत्कृष्ट पर्यटन केन्द्रका रूपमा स्थापित गर्ने लक्ष्यसहित गाउँपालिकाले विभिन्न योजना तथा कार्यक्रम सञ्चालन गर्दै आएको जनाएको छ ।
गाउँपालिकाले स्वास्थ्य पर्यटन, कृषि पर्यटन, शैक्षिक पर्यटन तथा खेल पर्यटनलाई प्राथमिकतामा राखेर स्थानीय आर्थिक विकास र रोजगारी सिर्जनाको अभियान अघि बढाएको छ । स्वास्थ्य पर्यटन अन्तर्गत विशेषज्ञ चिकित्सकसहितको स्वास्थ्य शिविर सञ्चालन गरी स्थानीय नागरिकलाई उपचार सेवा प्रदान गर्नुका साथै चिकित्सकहरूलाई अपि हिमाल बेस क्याम्पलगायतका पर्यटकीय गन्तव्यको भ्रमण गराउने व्यवस्था गरिएको छ । त्यसैगरी वेलनेस टुरिजमलाई प्रोत्साहन गर्न ध्यान तथा योग शिविर सञ्चालन गरिँदै आएको छ ।
कृषि पर्यटन अन्तर्गत रैथाने तथा अर्गानिक उत्पादनको संरक्षण र प्रवर्द्धनमा विशेष जोड दिइएको छ । गाउँपालिकाले स्थानीय बालीको उत्पादन वृद्धि गरी पर्यटकलाई स्थानीय स्वादका परिकार उपलब्ध गराउने तथा स्याउसहित विभिन्न फलफूल खेती र बगैंचा विकासका कार्यक्रम सञ्चालन गरिरहेको जनाएको छ ।
शैक्षिक पर्यटनलाई प्रवर्द्धन गर्न स्वयंसेवी शिक्षकहरूलाई गाउँपालिकाका विद्यालयमा अध्यापन गराउने तथा उनीहरूलाई स्थानीय पर्यटकीय क्षेत्रको भ्रमण गराउने कार्यक्रम सञ्चालन गरिएको छ । साथै विभिन्न विद्यालयमा आउने पर्यटकमार्फत विद्यार्थीहरूलाई शैक्षिक सामग्री वितरण गर्ने अभियानसमेत चलाइएको छ । खेल पर्यटनलाई नयाँ आयामका रूपमा विकास गर्न गाउँपालिकाले अपिहिमाल क्षेत्रमा उच्च हिमाली खेलकुद रंगशाला निर्माणको योजना अघि सारेको छ । देशभरका खेलाडीलाई उच्च भूभागमा अभ्यास खेल गराउने, अपि हिमाल बेस क्याम्पमा राष्ट्रियस्तरका मैत्रीपूर्ण क्रिकेट, भलिबल तथा फुटबल प्रतियोगिता आयोजना गर्ने तथा अल्ट्रा म्याराथन प्रतियोगिता सञ्चालन गर्ने योजना रहेको गाउँपालिकाले जनाएको छ ।
गाउँपालिका अध्यक्ष भगतसिंह ठेकरे बोहराले पर्यटनलाई विकासको मुख्य आधार बनाएर स्थानीय नागरिकको आर्थिक अवस्था सुधार गर्ने लक्ष्यसहित कार्यक्रम सञ्चालन भइरहेको बताउनुभयो । उहाँले पर्यटनमार्फत स्थानीय जनताको आयआर्जन वृद्धि, रोजगारी सिर्जना तथा जीवनस्तर उकास्ने उद्देश्य रहेको उल्लेख गर्दै सुन्दर, समृद्ध र विकसित अपिहिमाल निर्माण गर्ने सपना साकार पार्न गाउँपालिका प्रतिबद्ध रहेको बताउनुभयो ।
अध्यक्ष बोहराले अपिहिमालको प्राकृतिक सौन्दर्य, हिमशृंखला, जैविक विविधता, स्थानीय संस्कृति र आतिथ्यतालाई विश्वसामु चिनाउँदै यस क्षेत्रलाई अन्तर्राष्ट्रिय पर्यटन नक्सामा स्थापित गर्ने दीर्घकालीन योजना अनुरूप गाउँपालिका अगाडि बढिरहेको समेत स्पष्ट पार्नुभयो ।





