रास्वपाको बागमती प्रदेश सभापतिमा उत्सव अर्याल निर्वाचित

काठमाडौँ, जेठ ३१ गते । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को बागमती प्रदेश सभापतिमा उत्सव अर्याल निर्वाचित हुनुभएको छ । शनिबार सम्पन्न निर्वाचनमा अर्यालले निवर्तमान प्रदेश सभापति डा. अच्युतम लामिछानेलाई अत्यन्तै झिनो मतान्तरले पराजित गर्दै नेतृत्व आफ्नो पक्षमा पार्नुभएको हो ।

रास्वपा केन्द्रीय निर्वाचन विभागका संयोजक भुवन केसीका अनुसार अर्यालले ४१६ मत प्राप्त गर्नुभएको छ भने लामिछानेले ४१४ मत प्राप्त गर्नुभएको थियो । दुई मतको अन्तरले भएको यो प्रतिस्पर्धाले पार्टीभित्रको आन्तरिक लोकतान्त्रिक अभ्यासलाई थप रोचक बनाएको छ ।

बागमती प्रदेश अधिवेशन जेठ २६ गते हेटौँडामा उद्घाटन भए पनि नेतृत्व चयनसम्बन्धी विवादका कारण निर्वाचन प्रक्रिया प्रभावित भएको थियो । त्यसपछि स्थगित गरिएको मतदान शनिबार काठमाडौँको धुम्बाराहीस्थित स्मार्ट पार्टी प्यालेसमा सम्पन्न गरिएको हो ।

प्रदेश सभापति पदका लागि निवर्तमान सभापति डा. लामिछाने र उत्सव अर्यालबीच प्रतिस्पर्धा भएको थियो । निर्वाचनअघि प्यानल बनाएर प्रतिस्पर्धा गर्न नपाइने व्यवस्था रहे पनि उम्मेदवारहरूबीच अघोषित रूपमा समूहगत प्रतिस्पर्धा भएको चर्चा चलिरहेको थियो । मतदान निर्धारित समयभन्दा ढिलो सुरु भएपछि केही प्रतिनिधिहरूले असन्तुष्टि समेत जनाएका थिए ।

निर्वाचन परिणामसँगै बागमती प्रदेशमा रास्वपाले नयाँ नेतृत्व पाएको छ । नवनिर्वाचित सभापति अर्यालले पार्टी संगठनलाई थप सुदृढ बनाउँदै प्रदेशस्तरमा रास्वपाको प्रभाव विस्तार गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । पार्टीभित्रको प्रतिस्पर्धापछि अब सबै पक्षलाई समेटेर एकताबद्ध रूपमा अगाडि बढ्नु नयाँ नेतृत्वको मुख्य चुनौती रहने देखिएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रिक्रिया दिनुहोस्